सङ्घीय सरकारका अर्थमन्त्री डा युवराज खतिवडाले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्न भन्दै पाँच अर्ब २० करोड ३४ लाख विनियोजित बजेटमाथि उनीहरुले आशङ्का गरेका हुन् ।
सङ्घीय सरकारले आज गरेको बजेट भाषणले कर्णालीको पर्यटन विकासमा टेवा नपुग्ने आशङ्का यहाँका सरोकारवालाले गरेका छन् ।
सङ्घीय सरकारका अर्थमन्त्री डा युवराज खतिवडाले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्न भन्दै पाँच अर्ब २० करोड ३४ लाख विनियोजित बजेटमाथि उनीहरुले आशङ्का गरेका हुन् ।
सरकारले कर्णाली पर्यटन विकासका लागि तोकेर बजेट विनियोजन नगरेसम्म हिजोकै अवस्था सामना गर्नुपर्ने कर्णाली विकास आयोगका पूर्वअध्यक्ष डा कलबहादुर रोकायाले बताए ।
पाँच अर्ब बजेट पर्यटन विकासका लागि निकै कम भएको टिप्पणी गर्दै डा रोकायाले भने, “यो गोलमोटल बजेटले कर्णालीको पर्यटन विकासको अपेक्षित प्रतिफल निस्किँदैन, यस क्षेत्रका लागि बजेटको हिस्सा प्रष्टसँग किटान गरिनुपर्छ ।”
त्यसैगरी, हुम्ला जिल्ला निवासी, लेखक तथा पत्रकार डा दीपेन्द्र रोकायाले विश्वको गन्तव्य नेपाल र नेपालको गन्तव्य कर्णाली हो भने । सरकारले कर्णाली विकासका लागि निश्चित प्रतिशतमा बजेट तोकेर निर्धारित समयमा कार्यान्वयन गर्दा यहाँको पर्यटन क्षेत्रको आशातीत विकास हुने डा रोकायाको सुझाव छ ।
सङ्घीय सरकारद्वारा विनियोजित बजेट मुलुककै समग्र बजेट भएकाले कर्णाली पुग्दासम्म निकै कम भएर आउने र पर्यटन पूर्वाधारको अपेक्षित विकास नहुने उद्योग वाणिज्य महासङ्घ नेपालका कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाहीले बताए ।
“सरकारको यो बजेट प्रथमतः काठमाडौँ, पोखरा, लुम्बिनी, चितवन, सगरमाथा क्षेत्रमा खर्च गर्ने संस्कार छ, यसले कर्णालीको पर्यटन विकासमा अन्याय हुन्छ,” अध्यक्ष शाहीले भने ।
सरकारले पर्यटन क्षेत्रको सन्तुलित विकासका लागि सबै प्रदेशमा समानुपातिक ढङ्गले बजेट वितरण गर्नुपर्ने उनको भनाइ थियो । कालीकोट निवासी कर्णालीबाट राष्ट्रिय योजना आयोगको पहिलो सदस्य मीनबहादुर शाही भन्छन्, “कर्णालीको विकासका लागि आधारभूत पूर्वाधार तयार गर्नुपर्ने छ । पर्यटन, जडीबुटी र ऊर्जा विकास प्रमुख कुरा हो । यसलाई मध्यनजर गरेर कर्णाली प्रदेश विकास सङ्घीय सरकारको प्राथमिकतामा छ ।”
कर्णालीको पर्यटन विकास तथा प्रवद्र्धनका लागि हवाई क्षेत्रको पहुँच र नयाँ विमानस्थल निर्माण पनि त्यत्तिकै आवश्यकता रहेको सदस्य शाहीले बताए । सरकारले यिनै क्षेत्रको निर्माणमा शीघ्रताशीघ्र ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
यसअघि २०७५ बैशाख १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेश सरकारद्वारा आयोजित ‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ को शुभाराम्भ गर्दै आर्थिक समृद्धिको प्रमुख आधार पर्यटनको गन्तव्य कर्णाली बनाइने प्रतिबद्धता गरेका थिए । आव २०७५/७६ सङ्घीय सरकारले २० लाख पर्यटक भित्र्याउने घोषणा गरेसँगै कर्णाली प्रदेश सरकारले पनि पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य सार्वजनिक गरिसकेको छ । रासस