नेप्सेमा डेढ अर्बको सेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मङ्गलबार मात्रै १ अर्ब ५१ करोड रुपैयाँभन्दा बढीको सेयर सूचीकृत भएको छ । प्रतिकित्ता १ सय रुपैयाँ अङ्कित दरका १ करोड ५१ लाख ७ हजार ८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । तीनवटा कम्पनीको हकप्रद सेयर र एउटा कम्पनीको बोनस सेयर सूचीकृत भएको नेप्सेले जानकारी दिएको छ ।

मुक्तिनाथ विकास बैङ्कको ६१ लाख ७० हजार ८ सय ६५ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ । सूचीकरणपछि नेप्सेमा कारोबार खुला भएको स्टक एक्सचेञ्जले बताएको छ । त्यस्तै अल्पाइन डेभलपमेन्ट बैङ्कको पनि १८ लाख ३ हजार २ सय ४७ कित्ता हकप्रद सेयर नेप्सेमा कारोबारका लागि सूचीकृत भएको नेप्सेको भनाइ छ ।

हिमालयन जनरल इन्स्योरेन्सको पनि ६४ लाख २० हजार कित्ता हकप्रद सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । नेको इन्स्योरेन्सको ७ लाख १२ हजार ८ सय ९६ कित्ता बोनस सेयर पनि नेप्सेमा सूचीकृत भएको छ ।