श्रीपेच सार्वजनिक छिट्टै, संस्कृतिमन्त्री अधिकारी

स्थलगत निरीक्षणपछि मन्त्री अधिकारीले संक्षिप्त कुरा गर्दै वर्षौंदेखि सार्वजनिक नगरिएको श्रीपेच सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पूर्वराजाको श्रीपेच छिट्टै सार्वजनिक गर्ने बताएका छन् । ‘दुई दिनभित्र समिति गठन गरी तीन महिनाभित्र श्रीपेच सार्वजनिक गर्ने गरी काम अगाडि बढाउँछु,’ मन्त्री अधिकारीले भने, ‘यो सबैले हेर्न पाउनु पर्छ ।’

संस्कृतिमन्त्री अधिकारीले बुधवार नारायणहिटी दरबार सङ्ग्राहलयको स्थलगत निरीक्षण गरेका छन् । स्थलगत निरीक्षणपछि मन्त्री अधिकारीले संक्षिप्त कुरा गर्दै वर्षौंदेखि सार्वजनिक नगरिएको श्रीपेच सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका हुन् ।

इतिहासको रुपमा रहेको श्रीपेचलाई एउटा बन्द कोठामा राखेर मात्र नहुने भन्दै सबैको पहुँचमा सबैले हेर्न सक्ने गरी व्यवस्थापन मिलाउन कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन् । नारायणहिटी दरबार सङ्ग्राहलय सेनाको कब्जामा छ नि, भन्ने सञ्चारकर्मीको प्रश्नमा मन्त्री अधिकारीले भने, ‘सिंहदरबारमा भएको पोष्ट यहाँ राखिएको हो, यसबारे म छलफल गर्छु ।’

नारायणहिटी दरबार सङ्ग्राहलयको निरीक्षणपछि व्यवस्थापन राम्रो छ तर प्रशंसनीय नभएको बताएका छन् । सङ्ग्राहलयभित्र रहेको अथितिपुस्तिकामा आफ्नो धारणा लेख्दै व्यवस्थापन पक्षलाई प्रशंसनीय काम गर्न अनुरोध गरेका छन् । दरबारको निरीक्षणका लागि राज्यमन्त्री धनबहादुर बुढा पनि गएका थिए ।

यसअघि पूर्व संस्कृति, पर्यटन तथा नागरिक उडुडनमन्त्री जीवनबहादुर शाहीले पनि नारायणहिटी दरबार सङ्ग्राहलयको निरीक्षण गरी श्रीपेच सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका थिए । पूर्वराजा ज्ञानेन्द्र शाहले २०६५ जेठ २९ गते दरबार छोडेपछि कडा सुरक्षा घेराभित्र श्रीपेच राखिएको छ ।