तेल किन्दै हुनुहुन्छ ? डिपोबाट १५ किलोमिटर वरपर जानुहोस्

थानकोट डिपोबाट १५ किलोमिटरवरपरका पम्पले पेट्रोल एक सय रुपैयाँ, डिजेल/मट्टीतेल ७७ रुपैयाँँमा बिक्री गर्नुपर्नेछ ।

नेपाल आयल निगमले डिपोदेखि १५ किलोमिटरसम्मका पेट्रोल पम्पले एउटै मूल्यमा पेट्रोलियम पदार्थ बेच्नुपर्ने व्यवस्था गरेको छ । मङ्गलबारदेखि लागू हुने गरी डिपोदेखि १५ किलोमिटर वरपरका पम्पले एउटै मूल्यमा तेल बेच्नुपर्ने नियम लगाइएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।
निगमका डिपोबाट १५ किलोमिटरभन्दा परका पम्पले भने निगमले तोकेको एउटै मूल्यदरमा तेल बेच्नुपर्नेछैन । ‘काठमाडौंको थानकोट डिपोदेखि १५ किलोमिटर वरपरका पम्पमा एउटै मूल्य हुन्छ,’ निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले भने, ‘१६ किलोमिटरदेखि भने अर्को मूल्यमा बेच्दा हुन्छ ।’
त्यसैगरी, निगमसँग भएका अन्य डिपोबाट तेल बेच्दा पनि एउटै मूल्य लागू हुनेछ । निगमसँग झापाको चारआली, विराटनगर, महेन्द्रनगर (धनुषा), वीरगन्ज, अमलेखगञ्ज, भलबारी, नेपालगन्ज र धनगढीका डिपोदेखि १५ किलोमिटरसम्मका पम्पले निगमले ल्याएको नियम कार्यान्वयन गर्नुपर्नेछ ।
निगमका अनुसार थानकोट डिपोबाट १५ किलोमिटरवरपरका पम्पले पेट्रोल एक सय रुपैयाँ, डिजेल/मट्टीतेल ७७ रुपैयाँँमा बिक्री गर्नुपर्नेछ । झापाको चारआली, विराटनगर, महेन्द्रनगर (धनुषा), वीरगन्ज, अमलेखगन्ज, भलबारी, नेपालगन्ज र धनगढीका डिपोका लागि निगमले प्रतिलिटर पेट्रोल ९८ रुपैयाँ ५० पैसा र डिजेल÷मट्टीतेल ७५ रुपैयाँ ५० पैसा मूल्य निर्धारण गरेको छ । यो मूल्य १५ किलोमिटर वरपरका पम्पलाई लागू गरिएको हो । त्यसैगरी पोखरा र दाङका पम्पले ९९ रुपैयाँ ५० पैसामा पेट्रोल र ७६ रुपैयाँ ५० पैसामा मट्टीतेल र डिजेल बिक्री गर्नुपर्नेछ ।