ठमेलमा होटल ‘नेपाली घर’

होटलको बाहिरी बनावट परम्परागत नेपाली शैली र भित्री बनावट प्यागोडा शैलीमा तयार गरिएको छ । स्थानीय शिल्पीहरुले विशुद्ध नेपाली शैलीमा आकर्षक सजावट गरिएको छ । होटलका आवश्यक सरसामानमा नेपाली बजार प्रर्वद्धन गर्ने उदेश्यले ग्रामीण भेगका महिलाहरुले तयार गरेका कलासीपहरुलाई प्राथमिकताका साथ प्रयोग गरिएको छ ।

काठमाडौंको प्रमुख पर्यटकीय केन्द्र ठमेलमा विशिष्ट विशेषतासहितको होटल खुलेको छ । ‘नेपाली घर’ होटल जेठ १६ गते बुधबारबाट औपचारिक सञ्चालनमा आएको हो । होटलको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले गरेका हुन् ।

होटलमा नेपाली कला र पहिचानसहित नेपाली संस्कृति अघि बढाउने उद्देश्य रहेको होटलका प्रबन्ध निर्देशक राजु श्रेष्ठले बताए । होटलको बाहिरी बनावट परम्परागत नेपाली शैली र भित्री बनावट प्यागोडा शैलीमा तयार गरिएको छ । स्थानीय शिल्पीहरुले विशुद्ध नेपाली शैलीमा आकर्षक सजावट गरिएको छ । होटलका आवश्यक सरसामानमा नेपाली बजार प्रर्वद्धन गर्ने उदेश्यले ग्रामीण भेगका महिलाहरुले तयार गरेका कलासीपहरुलाई प्राथमिकताका साथ प्रयोग गरिएको छ ।

पाहुनालाई अत्याधुनिक सुविधा, नेपाली जीवनशैली र परम्परासँग साक्षात्कार गराउने लक्ष्य होटलले लिएको छ । अत्याधुनिक प्रविधिले सुसज्जित होटलमा पाँचतारे होटलसरह सुविधा उपलब्ध छन् । होटलले दिने बिशेष सेवा सुबिधामा एक्सक्ल्युसिभ बेडसहितको आरामदायी कोठा, द्रुतगतिको वाइफाई, २४सै घन्टा स्वास्थ्यकर पानी, सरसफाई, फिटनेस सेन्टर, मिटिङ हल, दिनभरि नै सेवा दिने रेस्टुरेन्ट तथा रुम सर्भिस छन् ।

अतिथिहरुको आवश्यकता सम्बोधन गर्ने क्रममा उत्कृष्टताको नयाँ मानक प्रस्तुत गर्न यो होटल प्रतिबद्ध छ,’ होटल उद्घाटन गर्दै सञ्चालक राजु श्रेष्ठले भने, ‘हामी हाम्रा पाहुनाले नेपाली घर होटलमा बिताएका हरेक क्षणलाई अविस्मरणीय बनाउन चाहन्छौं ।’

होटलमा ३४ ओटा रुम र दुई ओटा सुइट रुम छन् । जसमा हेरिटेज डिलक्स रुम २३, हेरिटेज डिलक्स कर्नर ६, हेरिटेज ग्रान्ड डिलक्स ३ र मानगृह र कैलाशकुट सुइट १–१ ओटा छन् । यी सबै कोठामा ४० इन्चको एलईडी टीभी, विद्युतीय सेफ, मिनी बार, पिउने पानीका बोटल, कफी–टी मेकर, कुकिज, इन्डिभिजुअल क्लाइमेट कन्ट्रोल जस्ता सुविधा छन् ।

सहयोगीका लागि निःशुल्क पार्किङ, एयरपोर्ट ट्रान्सफर, विदेशी विनिमय, कोठाभित्रै खाना सर्भ, लन्ड्री जस्ता सुविधा पनि उपलब्ध छन् ।