डबल टप बनाएर  झर्यो नेप्से, १४६९ मा टेवा पाउने सम्भावना

पछिल्लो दुई साताको व्यापारमा ‘डबल टप’ (अङ्ग्रेजी अक्षर ‘एम’को आकृति) बनाएर ओरालो लागेको नेप्से त्यसयता ओरालो लाग्ने क्रममा नै छ । निर्वाचनपछि खुलेको बजार लगातार घट्ने अवस्थामा देखिएको छ । सोमवारबाट व्यापारमा केही ब्रोकर र लगानीकर्ताले बजारलाई थेग्ने कोसिस गरे पनि त्यो कायम रहन सकेन ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ओरालो लाग्ने क्रम झन् बढेको छ । यसअघिका दुई दिनमा ९ अङ्क घटेको नेप्से मङ्गलबार एकै दिन साढे १७ अङ्क घटेको छ ।

पछिल्लो दुई साताको व्यापारमा ‘डबल टप’ (अङ्ग्रेजी अक्षर ‘एम’को आकृति) बनाएर ओरालो लागेको नेप्से त्यसयता ओरालो लाग्ने क्रममा नै छ । निर्वाचनपछि खुलेको बजार लगातार घट्ने अवस्थामा देखिएको छ । सोमवारबाट व्यापारमा केही ब्रोकर र लगानीकर्ताले बजारलाई थेग्ने कोसिस गरे पनि त्यो कायम रहन सकेन ।

मङ्गलबार नेप्से लगातार ओरालो लागेको देखिन्छ । यसले आगामी दिनमा पनि बजार थप घट्न सक्ने सम्भावना देखिएको छ । वाम गठबन्धनको जितलाई सेयर लगानीकर्ताले स्वागत गर्न नसकेको ब्रोकरहरुले बताएका छन् ।

नेप्सेको रेखाचित्र विश्लेषण गर्दा १४ सय ६९ अङ्कमा पहिलो र १४ सय ६० अङ्कमा दोस्रो टेवा पाउन सक्ने देखिन्छ । १५ सय अङ्ककै स्तरमा पनि बलियो टेवा देखिएकाले नेप्से अब १० अङ्कको कमीपछि नै फर्किन पनि सक्छ ।

मङ्गलबार १७ दशमलव ५४ अङ्क (१ दशमलव १५ प्रतिशत)को कमीपछि नेप्से १५ सय १० दशमलव २१ अङ्कमा झरेको छ । यस दिन उत्पादन तथा प्रशोधनबाहेक सबै समूहको परिसूचक ओरालो लागेका छन् । मङ्गलबार ६६ करोड ९२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ४ हजार ९ सय ५२ व्यापारबाट १ सय ५७ कम्पनीका ११ लाख ८० हजार कित्ता सेयर व्यापार भएको नेप्सेले जनाएको छ ।

मङ्गलवार नेप्सेमा ग्लोबल आइएमई बैङ्कको सर्वाधिक ५ करोड ९८ लाख रुपैयाँको सेयर व्यापार भएको छ । यस दिन काबेली विकास बैङ्कको सेयर मूल्य सर्वाधिक ८ दशमलव ६४ प्रतिशत महँगिएको छ भने राष्ट्रिय बिमा कम्पनीको संस्थापक सेयरको मूल्य ५ दशमलव ८४ प्रतिशत सस्तिएको छ ।