साताभर साढे तीन अर्बभन्दा बढीको सेयर सूचीकृत, बजेटपछि पनि नेप्से निरन्तर ओरालो

यो साताभर नेप्सेमा १ सय ८३ कम्पनीको सेयर कारोबार भएको छ । सातामा २३ हजार ५ सय ४८ कारोबारबाट ४७ लाख ४४ हजार ८ सय १० कित्ता सेयर खरिदबिक्री भई २ अर्ब ८ करोड ७३ लाख ५१ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।

सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से)मा साताभर बोनस र हकप्रद ३ अर्ब ६४ करोड ५ लाख ८५ हजार ५ सय रुपैयाँबराबरको ३ करोड ६४ लाख ५ हजार ८ सय ५५ कित्ता सेयर सूचीकृत भएको छ । सूचीकृत सेयरमध्ये २ अर्ब बढी हकप्रद सेयर छ भने डेढ अर्ब रुपैयाँभन्दा बढीको बोनस सेयर छ ।

नेप्सेका अनुसार यो साता सिभिल बैङ्कको २ अर्ब ७ करोड ४० लाख ८८ हजार ७ सय रुपैयाँबराबरको २ करोड ७ लाख ४० हजार ८ सय ८७ कित्ता सेयर सूचीकृत भएको छ । त्यसैगरी बोनस सेयरतर्फ एभरेस्ट इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स र साना किसान विकास लघुवित्त वित्तीय संस्थाको गरी १ अर्ब ५६ करोड ६४ लाख ९६ हजार ८ सय रुपैयाँबराबरको १ करोड ५६ लाख ६४ हजार ९ सय ६८ कित्ता सेयर सूचीकृत भएको हो ।

बोनस सेयरतर्फ सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १ अर्ब ३० करोड ५ लाख रुपैयाँबराबरको १ करोड ३० लाख ५ हजार कित्ता सूचीकृत भएको छ । त्यसैगरी एभरेस्ट इन्स्योरेन्सको १ लाख २१ हजार ५ सय कित्ता, एनएलजी इन्स्योरेन्सको १२ लाख ८० हजार ८ सय १२ कित्ता र साना किसान विकास लघुवित्तको १२ लाख ५७ हजार ६ सय ५६ कित्ता सेयर सूचीकृत भएको छ ।

यो साताभर नेप्सेमा १ सय ८३ कम्पनीको सेयर कारोबार भएको छ । सातामा २३ हजार ५ सय ४८ कारोबारबाट ४७ लाख ४४ हजार ८ सय १० कित्ता सेयर खरिदबिक्री भई २ अर्ब ८ करोड ७३ लाख ५१ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । कारोबार रकम गत साताको तुलनामा ८.५६ प्रतिशतले बढी हो । गत साता पनि १ सय ८३ कम्पनीकै सेयर कारोबार भएकोमा १९ हजार ७ सय १३ कारोबारबाट ४१ लाख ३७ हजार ४ सय ३० कित्ता सेयर खरिद बिक्री भई १ अर्ब ९२ करोड २७ लाख ३१ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

सातामा एक दिन बजार बढेर चार दिन घट्यो

साताको पाँचै दिन सेयर कारोबार भएको नेप्सेमा आइतबार बजार घटेको थियो भने सोमबार बजेट घोषणाको अघिल्लो दिन ठूलो अङ्क (३५.९६)को बृद्धि देखिएको थियो भने बजेट आएकै दिन र त्यसपछि दुई दिन पनि निरन्तर नेप्से ओरालो लागेको छ । खासगरी मङ्गलबार सरकारले ल्याएको बजेटलाई सेयर लगानीसँग सम्बन्धितहरुले राम्रो र बजारको विस्तारमा सहयोगी भनिरहे पनि पनि बजार भने निरन्तर घटिरहेको छ ।

गत साता बिहीबार १३१८.२२ अङ्कमा रहेको नेप्से साताभरको करोबारमा घट्ने, बढ्ने र घट्ने गरी १०.५६ अङ्कले ओर्लंदै १३०७.६६ अङ्कमा कारोबार थामिएको छ । सातामा थप प्राथमिक निस्कासन (एफपीओ)ले बजार तानेको नेपाल बैङ्कको सबैभन्दा बढी रकमको कारोबार भएको छ । साताभर नेपाल बैङ्कको ७ करोड ५४ लाख ९० हजार रुपैयाँको कारोबार भएको छ । त्यसपछि ग्लोबल आईएमई बैङ्कको ७ करोड २७ लाख ४० हजार, साना किसान विकास बैङ्कको ६ करोड ७१ लाख ६० हजार रुपैयाँबराबरको कारोबार भएको छ । त्यसैगरी सिटिजन्स बैङ्क इन्टरनेसनलको ३ लाख ३७ हजार कित्ता संस्थापक सेयर खरिदबिक्री भई सेयर सङ्ख्याका आधारमा अगाडि आएको छ । त्यस्तै १ हजार ६ सय ७३ ओटा कारोबार भएको आधारमा प्रिमियर इन्स्योरेन्स कम्पनी कारोबार सङ्ख्यामा अगाडि देखिन्छ । यो साता ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।