सरकारले बोनस र हकप्रदमा समेत आधार मूल्यमै पूँजीगत लाभकर लिने निर्णय गरेपछि आज सेयर बजार सूचक ३३.७१ अङ्कले घटेर १२७३.९५ अङ्कमा झरेको हो । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि करिब तीन प्रतिशतले घटेको छ ।
आज व्यापार सुरु भएको पहिलो घण्टादेखि नै दवाबमा परेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) १२ बजेपछि सम्हालिएको थियो । तर, यो धेरै बेर टिक्न सकेन र पुनः घट्न थाल्यो । १३०७ अङ्कमा खुलेको आजको बजार अन्त्यमा ३३.७१ अङ्क घटेर १२७३.९५ अङ्कमा थामियो ।
सरकारले बोनस र हकप्रदमा समेत आधार मूल्यमै पूँजीगत लाभकर लिने निर्णय गरेपछि आज सेयर बजार सूचक ३३.७१ अङ्कले घटेर १२७३.९५ अङ्कमा झरेको हो । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि करिब तीन प्रतिशतले घटेको छ ।
लगानीकर्ता सरकारको यस निर्णयबाट क्रुद्ध देखिएका छन् । यसले बजारमा नराम्रो प्रभाव पार्ने उनीहरुको भनाइ छ ।
आइतबार १५५ कम्पनीका नौ लाख ९७ हजार ३३८ कित्ता सेयर ५४ करोड ६६लाख ६१ हजार ३६७ रुपैयाँमा किनबेच भयो । सबैभन्दा बढी राष्ट्रिय बिमा कम्पनीको संस्थापक सेयर तीन करोड ७६ लाख रुपैयाँमा कारोबार भएकाे छ ।
आज भएको नौ ओटा समूहको कारोबारमा उत्पादनमूलक समूहबाहेक सबै उपसूचक घटेका छन् । उत्पादनमूलक समूह ३५.८८ अङ्कले बढेको छ । बैङ्क २६.०४, होटल ६१.४४, विकास बैङ्क ३०.८३, जलविद्युत् ३३.०९, फाइनान्स ८.३९, बिमा २९०.८३, अन्य १७.७७ र लघुवित्त ५५.०७ अङ्कले घटेका छन् ।
यसअघि अाज आन्तरिक राजस्व विभागले परिपत्र गरी जुन मूल्यमा खरिद बिक्री भएपनि अङ्कित मूल्यमै पुँजीगत लाभकर लाग्ने जनाएको थियाे ।
आन्तरिक राजस्व विभागको परिपत्रमा भनिएको छ,– ‘आयकर ऐन, २०५८ को परिच्छेद ८ मा उल्लिखित व्यवस्थाअनुसार बोनस तथा हकप्रद सेयरको लागत मूल्य गणना गर्दा सेयरको अङ्कित चुक्ता मूल्यलाई लागत लिई सो आधारमा लाभको गणना गरी मिति २०७५/०२२० गते आइतबारदेखिको कारोबारमा आयकर ऐन २०५८ बमोजिम अग्रिम कर असुल गर्नु गराउनु हुन मिति २०७५/०२/१८ को निर्णय अनसार अनुरोध छ ।’
यसभन्दा अघि पुँजीगत लाभकर बोनस वा हकप्रद सेयर समायोजनपछि आधार मूल्यमा पुँजीगत लाभकर लाग्ने गर्थ्यो । सरकारले दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ताकालागि पुँजीगत लाभ कर साबिक ५ प्रतिशतबाट ७.५ प्रतिशत पुर्याएको छ ।