सरकारसँगकाे वार्ता विफल भएपछि सेयर बजार फेरि ओरालो

सोमबार राजस्व सचिव शिशिरकुमार ढुङ्गानासँग लगानीकर्ताहरु छलफलमा बसेसँगै उकालो लागेको बजार अन्ततः वार्ता विफल भएसँगै पुनः ओरालो लागेको छ । राजस्व सचिव ढुङ्गाना र लगानीकर्ता सङ्घसगठनबीचको वार्ता बिना निष्कर्ष टुङ्गिएको छ ।

सरकारसँग वार्ताको हल्लासँगै बढ्ने जमर्को गरेको सेयर बजार पुनः ओरालो लागेको छ । सोमबार राजस्व सचिव शिशिरकुमार ढुङ्गानासँग लगानीकर्ताहरु छलफलमा बसेसँगै उकालो लागेको बजार अन्ततः वार्ता विफल भएसँगै पुनः ओरालो लागेको छ । राजस्व सचिव ढुङ्गाना र लगानीकर्ता सङ्घसगठनबीचको वार्ता बिना निष्कर्ष टुङ्गिएको छ ।

सरकारले आइतबारदेखि लागू हुने गरी हकप्रद तथा बोनस सेयरमा पनि अङ्कित मूल्यमै पुँजीगत लाभकर लगाउने निर्णय गरेको थियो । आगामी आर्थिक वर्ष २०७५÷७६ को बजेटमा पुँजीगत लाभर व्यक्तिगत साढे ७ प्रतिशत र संस्थागत १५ प्रतिशत पु¥याएसँगै लगानीकर्ता हतोत्साही भएका थिए । झन् आइतबार आन्तरिक राजस्व विभागले बोनस र हकप्रद सेयरको अङ्कित मूल्यमै पुँजीगत लाभकर लगाउने निर्णयले लगानीकर्ताका सङ्घसङ्गठनहरु आक्रोशित हुँदै आन्दोलनमा उत्रिएका थिए ।

सोमबार कारोबार नगर्न लगानीकर्तालाई आग्रह गरेपनि नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा भने नियमित कारोबार भइरहेको छ र साढे १ बजेसम्म २५ करोड १२ लाख ४५ हजार रुपैयाँबराबरको कारोबार भएको छ । कारोबार सुरु हुँदा १२५९ अङ्कसम्म घटेको नेप्से अर्थ मन्त्रालयमा वार्ता सुरु भएको चर्चासँगै बढेर १२८१.९३ अङ्कसम्म पुगेपनि वार्ता विफल भएसँगै फेरि ओरालो लागेर १२६२.५६ बिन्दुसम्म झरेर कारोबार भइरहेको छ । आइतबार पनि बजार ३४ अङ्कले घटेको थियो । बजारको प्रवृत्ति र लगानीकर्ताको मनोबल हेर्दा बजार अझै घटेर कारोबार हुने दिशामा अग्रसर भएको पाइन्छ ।

लगानीकर्ताहरु अङ्कित मूल्यमा लाभकर लगाउने विषय खारेजी नभएसम्म आन्दोलन गर्ने बताउँदै आएका छन् । उनीहरुले नेप्से कार्यालय घेराउ गरेका छन् भने नियामक नेपाल धितोपत्र बोर्डको कार्यालय पनि घेराउ गर्ने बताउँदै आएका छन् । सरकारले पहिलो चरणमा लगानीकर्ताको कुरा मात्रै सुनेको र फेरि अर्को वार्ता हुने वार्ताका सहभागीहरुले बताएका छन् ।

लगानीकर्ताहरुसँगको भेटमा राजस्वसचिव ढुङ्गानाले लगानीकर्ताको कुरा अर्थमन्त्री समक्ष राखिदिने प्रतिबद्धता जनाएको बाहेक कुनै कुरा अघि बढेन । लगानीकर्ताका प्रतिनिधिले पनि बोनस र हकप्रदको अङ्कित मूल्यमा लाभकर लगाउन नहुनेमा जोड दिएका छन् । बोनस र हकप्रदको अङ्कित मूल्यमै लाभकर लगाउने हो भने मूल्य समायोजनको कुनै अर्थ नरहेको उनीहरुको भनाइ छ । मूल्य समायोजन हुँदा घाटा हुने र घाटामा लाभकर सह्य नहुने लगानीककर्ताको भनाइ छ । राजस्वसचिव ढुङ्गानासँगको भेटमा नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेल, लगानीकर्ता सङ्घका उपाध्यक्ष प्रियराज रेग्मी, सीडीएससीका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्तालगायत थिए ।