पहिलो पटक सेयर कारोबार रोकियो, सरकारलाई गम्भीर धक्का

नेप्से स्थापनापछि सम्भवतः लगानीकर्ताको सक्रियतामा पहिलो पटक कारोबारविहीन भएको हो । नेप्से कारोबार स्थल भए पनि लगानीकर्ता र दलाल व्यवसायीहरु कारोबारमा नजोडिएपछि कारोबार शून्यको स्थितिमा पुगेको हो ।

सरकारले हकप्रद र बोनस सेयरको अङ्कित मूल्यमै पुँजीगत लाभकर लगाउने निर्णयको विरोधमा उत्रिएका लगानीकर्ताहरुले मङ्गलबार कुनै पनि कारोबार गरेनन् । बिहानैदेखि सेयर लगानीकर्ताले सेयर दलाल (ब्रोकर)कोमा किन्ने तथा बेच्ने अर्डर नदिएपछि कारोबार रोकिएको हो ।
लगानीकर्ताहरुकै सक्रियतामा नेपालको पुँजीबजार पहिलो पटक कारोबारै नगरी प्रभावित भएको हो । पुँजीबजार मापक नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) दिनभर कारोबार खुला रहे पनि कारोबार नभएपछि ३ बजे नियमित रूपमै बन्द भएको छ ।

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले पछिल्लो नेप्से स्थापनापछि सम्भवतः लगानीकर्ताको सक्रियतामा पहिलो पटक कारोबारविहीन भएको बताए । नेप्से कारोबार स्थल भए पनि लगानीकर्ता र दलाल व्यवसायीहरु कारोबारमा नजोडिएपछि कारोबार शून्यको स्थितिमा पुगेको हो । बिहान नेप्से प्राङ्गणमै उपस्थित भएका लगानीकर्ताको समूह केही समयपछि तितरबितर भएको प्रवक्ता पुराजुलीले जानकारी दिए ।
सोमबार नै लगानीकर्ताका सङ्घसङ्गठनका प्रतिनिधिहरुले कुनै कारोबार नगर्न लगानीकर्तालाई आग्रह गरे पनि ४३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । सोमबार अर्थमन्त्रीसँग वार्ता गर्न भनेर पुगेका लगानीकर्ता अर्थमन्त्री डा. युवराज खतिवडाले समय नदिएपछि कर्मचारीसँग गरेको वार्ताबिना सहमति टुङ्गिएको थियो । सोमबार सुरुमा बजार घटेर कारोबार भए पनि मध्य समयमा बढेको र अन्तिम समयमा झिनो अङ्कले घटेर कारोबार बन्द भएको थियो ।

आयकर ऐन २०५८ अनुसार हकप्रद तथा बोनस सेयरको पुँजीगत लाभकर समायोजित मूल्यमा तिर्दै आएका लगानीकर्ताले एकाएक अङ्कित मूल्य (१०० रुपैयाँभन्दा बढी)मै तिर्नुपर्ने भएपछि चरणबद्ध आन्दोलनमा छन् । सोमबार नेप्से र नियामक नेपाल धितोपत्र बोर्ड घेराउ गरेका उनीहरु मङ्गलबार नेप्सेबाट धितोपत्र बोर्ड र प्रत्येक सेयर दलाल (ब्रोकर अफिस) घेराउ गर्न निस्किएका थिए । जसले गर्दा लगानीकर्ताको आन्दोलन सफल भएको छ । सेयर दलालहरुले पनि लगानीकर्ता सङ्घसङ्गठनको आन्दोलनमा अप्रत्यक्ष सहयोग गरेसँगै मङ्गलबार कुनै पनि कारोबार हुन सकेन ।

नेपाल इन्भेस्टर्स फोरम, सेयर लगानीकर्ता सङ्घ र पुँजीबजार लगानीकर्ता सङ्घले संयुक्त विज्ञप्तिमार्फत मङ्गलबार सेयर कारोबार नगरी आन्दोलनमा सहयोग गर्न सबै लगानीकर्ता र सेयर दलाल कम्पनीहरुलाई आग्रह गरेका थिए । पुँजीगत लाभकर बढाउँदा चुप बसेका लगानीकर्ताहरु हकप्रद र बोनस सेयरको अङ्कित मूल्यमै लाभकर लगाउँदा घाटामा कर लगाएको भन्दै आक्रोशित छन् ।

यसैबीच नेपाल चेम्बर अफ कमर्सले आन्तरिक राजस्व विभागले लाभकर गणना र असुलबारे पछिल्लो पटक गरेको व्यवस्था अविलम्ब खारेज गर्न माग गरेको छ । चेम्बरले मङ्गलबार प्रेस विज्ञप्तिमार्फत सरकारको पछिल्लो कदम करसम्बन्धी स्थापित सर्वमान्य सिद्धान्तविपरीत रहेको उल्लेख गरेको छ ।