रामपुरको तालपोखरामा पर्यटकको ओइरो

तालमा भरिभराउ पानी, डुंगा यात्रा, दैनिक शिवको पूजा हुन थालेपछि पर्यटक लोभिएका हुन् ।

पाल्पाको रामपुरमा रहेकाे तालपोखरामा डुंगा सञ्चालन भएपछि आन्तरिक पर्यटक आकर्षित भएका छन् । सामान्य पानी रहेको पोखरीमा आकर्षक भौतिक संरचना निर्माण भएपछि तालपोखरा पाल्पाकै नयाँ पर्यटकीय गन्तव्य बन्दै गएको हो।

तालमा भरिभराउ पानी, डुंगा यात्रा, दैनिक शिवको पूजा हुन थालेपछि पर्यटक लोभिएका हुन् ।

करिब दस वर्षअघिसम्म हिउँदमा पानी निकै कम हुने तथा वर्षामा पानी प्रशस्त भए पनि माटोले भरिने गर्थ्याे। अहिले कालीगण्डकीको पानी लिफ्ट प्रविधिमार्फत तालमा झार्ने गरिएको छ ।

पानीले भरिभराउ तालले आन्तरिक पर्यटकलाई लोभ्याउने गरेको छ । शिव मन्दिर दर्शन र तालमा डुंगा सयर गर्न आउने पर्यटकको सङ्ख्या बढ्दै गएको ताल संरक्षण समितिका सचिव भरत देवकोटाले जानकारी दिए ।

नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएको यस क्षेत्रमा नमुना ताल, मन्दिर, जलयात्रा भएकाले दैनिक दुई/तीन सय आन्तरिक पर्यटक आउने गर्छन् । यहाँ विशेषगरी चाडपर्वमा मानिसको ओइरो लाग्ने गरेको छ । यो ताल पाल्पा, स्याङ्जा, नवलपरासी र तनहुँका पर्यटकको रोजाइस्थल बन्दै गएको देवकोटा बताउँछन् ।

पर्यटकहरू तालमा कालीगण्डकी नदीको पानी हालेको खबर सुनेर निकै उत्सुक बन्दै तालमा आउने गर्छन् । कालीगण्डकी नदीमा स्नान गर्दा हुने पुण्य प्राप्त हुने विश्वासले पनि यो ताल लोकप्रिय बन्दै गएको स्थानसीय बासिन्दा बताउँछन् ।

डुंगा यात्राको आनन्द पनि लिन पाइने भएकाले रामपुरको तालपोखरा लोकप्रिय बन्दै गएको हो । पाल्पामा अन्यत्र कतै पनि डुंगाको सुविधा छैन । गर्मीका बेला मानिस तालमा डुंगा यात्रा गर्न निकै रुचाउँछन् ।

ताल संरक्षणका लागि आठ वर्षअघि गरिएको महायज्ञबाट सङ्कलित रकमले रामपुरको तालपोखरामा सुविधाजनक भौतिक संरचना निर्माण गरिएको हो । रामपुर नगरपालिकाका प्रमुख रमण थापाका अनुसार पोखराको फेवातालजस्तो ताल बनाउने योजनासहित स्थानीय बासिन्दा ताल संरक्षणमा एकजुट भएका हुन् ।

रामपुर नगरपालिकालाई नमुना नगरपालिका बनाउने उद्देश्यसहित पूर्वाधार निर्माण गरिएको र लिफ्टमार्फत तालमा कालीगण्डकी नदीको पानी ल्याइएको नगर प्रमुख थापाले बताए । आगामी दिनमा पनि ताल क्षेत्रको विकासमा सहयोग गरिरहने उनको भनाइ छ ।

मिनी फेवातालका रूपमा परिचित यो ताल धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएपछि यहाँका बासिन्दालाई रोजगारका अवसरसमेत बढेको छ । तालमा अहिले दुईटा डुंगा चलिरहेका छन् । रासस