लगानीकर्ताको बन्दपछि खुलेको सेयर बजारमा २४ करोडको कारोबार, १४ अङ्कको वृद्धि

सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट बैङ्कको संस्थापक सेयर ३ करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ । त्यसैगरी नागबेली लघुवित्तको सेयर कारोबारमा सर्किट नै लाग्ने गरी बढेको छ भने कालिका माइक्रो क्रेडिटको सेयर मूल्य ३.३४ प्रतिशतले घटेको छ ।

सरकारले बोनस र हकप्रद सेयरको अङ्कित मूल्यमै पुँजीगत लाभ कर लगाउने निर्णयपछि रोकिएको सेयर कारोबार बुधबार मध्याह्नबाट सुरु भएको छ । ढिला गरी सुरु भएको सेयर कारोबार सुरु भएदेखि नै बढ्न थालेको बजार कारोबार भएको एक घण्टामै २६ अङ्कको वृद्धि भएको थियो । तर, २ बजेटपछि विस्तारै तल ओलिएको बजार कारोबार रोकिँदा बजार सूचक नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) १३.९१ अङ्कको सुधार कायम राख्दै १२८२.७५ अङ्कमा रोकिएको छ ।

मङ्गलबार आन्तरिक राजस्व विभागले तत्कालका लागि पूर्ववत् कर लिने आशयको पत्राचार गरेपछि लगानीकर्ताहरुले कारोबार खुलाएका हुन् । मङ्गलबार लगानीकर्ताकै पहलमा सेयर कारोबार ठप्प पारिएको थियो । बुधबार स्टक ब्रोकर एसोसिएसनले लगानीकर्ताको आन्दोलनमा आफूहरुको साथ नरहेको र कार्यालय पूर्ववत् खुलेको बताएका थिए । अर्थ मन्त्रालयमा सरकारका प्रतिनिधिसँग लगानीकर्ताका प्रतिनिधिले सहमति नगरेसम्म कारोबार भएको थिएन । बुधबार पनि लगानीकर्ताले नियामक नेपाल धितोपत्र बोर्ड र ब्रोकरहरुको कार्यालय केही समय घेराउ गरेका थिए ।
सूचकमा सुधार भएको नेप्सेमा कारोबार समय कम हुँदा कारोबार रकम भने २३ करोड ८९ लाख रुपैयाँमा खुम्चिएको छ । बुधबार अन्य उपसूचक बाहेकका सबै उपसूचकहरु उकालो लाग्दा नेप्सेमा सकारात्मक प्रभाव परेको हो ।

आइबारबाट आन्दोलनमा उत्रिएका लगानीकर्ता आइतबार र सोमबार कारोबारमा सक्रिय भए पनि मङ्गलबार र बुधबार मध्याह्नसम्म कारोबार रोकेका थिए । सरकारले चालू आर्थिक वर्षभर यस्तो कर नलगाउने र अर्थ मन्त्रालयद्वारा गठित समितिको प्रतिवेदनका आधारमा आगामी आर्थिक वर्षका लागि कर लगाउने निर्णयसँगै लगानीकर्ताले तत्काल आन्दोलनका कार्यक्रम फिर्ता लिएर कारोबारमा सक्रिए भएका हुन् ।

मङ्गलबार अर्थ मन्त्रालयले सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा पुँजीगत लाभकरका विषयमा अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन दिन समिति गठन गरेको थियो । यता लगानीकर्ताहरुले घाटामा पुँजीगत लाभकर नतिर्ने भन्दै पूर्ववत् व्यवस्था नभए आन्दोलन जारी राख्ने बताउँदै आएका छन् । नेपाल इन्भेस्टर्स फोरम, सेयर लगानीकर्ता सङ्घ र पुँजीबजार लगानीकर्ता सङ्घले आन्दोलनको अगुवाइ गरेका थिए ।

आज सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट बैङ्कको संस्थापक सेयर ३ करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ । त्यसैगरी नागबेली लघुवित्तको सेयर कारोबारमा सर्किट नै लाग्ने गरी बढेको छ भने कालिका माइक्रो क्रेडिटको सेयर मूल्य ३.३४ प्रतिशतले घटेको छ ।