जिम्मेवारी लिएपछि ‘आउटपुट’ दिन सक्नुपर्छ

बिमाप्रतिको सचेतना अभाव हाम्रा लागि सबैभन्दा ठूलो समस्या हो । यसमा एउटा कम्पनी लागेर मात्र सबै मानिसलाई सचेत तुल्याउन सकिँदैन । यो एकैपटक हुने कुरा पनि होइन । हामी बजारमा आउँदा धेरै नै परिवर्तन भएको भने छ ।

२०६८ मङ्सिरमा सहायक महाप्रबन्धकका रुपमा गुराँस लाइफ इन्स्योरेन्स कम्पनीमा छिरेका नारायणकुमार भट्टराई उपमहाप्रबन्धक हुँदै ६ वर्षमै (गत मङ्सिर ११ बाट) कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भए । २०५९ माघबाट लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)बाट बिमाक्षेत्रमा भित्रिएका भट्टराई नेपालमा बिमाको अधिक सम्भावना रहेकाले विकसित परिवेशमा नयाँ सोचका साथ बिमा कम्पनीहरु बजारमा जानुपर्ने मान्यता राख्छन् । भारतबाट विज्ञानमा स्नातक गरी एमआईएमएस मनिपुर विश्वविद्यालय भारतबाट एमबीए (मार्केटिङ एन्ड इन्फर्मेसन सिस्टम) गरेका उनले विभिन्न कलेजहरुमा अध्यापनको कामसमेत गरेका छन् । विगतमा आक्रामक रुपमा व्यवसायमा नलाग्दा हराएको आरोप लागेको भन्दै उनी आगामी आर्थिक वर्षको सुरुदेखि गुराँस आक्रामक रुपमा बजार विस्तारमा लाग्ने दाबी गर्छन् । नेपाली बिमा बजारको अवस्था र आगामी दिनमा गुराँस लाइफले लिने रणनीतिबारे क्यापिटलले भट्टराईसँग गरेको कुराकानीको सम्पादित अंश :

एकाएक नयाँ बिमा कम्पनी थपिएपछि प्रतिस्पर्धा निकै बढेको होला । यसलाई कसरी लिनुभएको छ ?

प्रतिस्पर्धा बढ्नु सबैका लागि राम्रो हो । प्रतिस्पर्धा बढेपछि व्यापार बढ्छ र सेवा पनि सबै ठाउँमा पुग्छ । यो निश्चित नियममा बसेर गर्नुपर्ने व्यवसाय हो । यसका आआफ्नै नीतिनियम छन् । नियामक निकाय बिमा समिति छ । प्रतिस्पर्धा बढेपछि सबै क्षेत्रका जनतामा कम्पनीहरु पुग्छन् र सबै जनताले बिमा सुविधा पाउन ढोका खुल्छ । प्रतिस्पर्धाले नयाँनयाँ सेवा पनि थपिन्छन् । बिमामा नयाँनयाँ प्रविधि पनि थपिँदै गएका छन् ।

बिमा व्यवसायलाई ऐन एवम् अन्य नीतिनियमले बाँधिएको त छ, तर बजारमा नयाँ कम्पनी आउँदा पुराना कम्पनीहरु पनि जुर्मुराएको देखिन्छ । यसले अस्वस्थ प्रतिस्पर्धा बढाएको त छैन ?

बिमामा नियम छाडेर काम गर्न मिल्दैन । जसले नियम मिचेर बिमाको काम गर्छ, त्यसको जोखिम सम्वन्धित व्यक्तिमा निहित हुन्छ । कसैले पनि व्यक्तिगत जोखिम लिएर बिमा गराउँदैन । हो, बिमा बजारमा दक्ष जनशक्ति एकदमै कम छन् । तर त्यसलाई नकारात्मक रुपमा मात्र लिनुहुँदैन । अहिले विशेषगरी बिमा बजारमा ‘कलेज पास आउट’ भएका जनशक्ति कार्यरत छन् । उनीहरु एकदुई वर्षमा दक्ष हुने गरेका छन् । हुन सक्छ कुनै एउटा शाखा प्रबन्धकले बद्नियतपूर्ण किसिमले नकाम ग¥यो भने त्यसले कम्पनीलाई तत्कालीन समयमा केही असर पु¥याउँछ । तर एउटालाई हेरेर विकृति निम्तियो भन्नु उपयुक्त हुँदैन । नयाँ कम्पनी आएपछि कर्मचारी हेरफेर हुनु अन्यथा पनि होइन ।

नयाँ कम्पनी आएपछि कम्पनीले दिने बोनसमा ह्विम चलाउने, पहिलो चरणको बिमा गर्ने, पहिलो किस्ता लिने तर पछि त्यसलाई निरन्तरता नदिनेजस्ता प्रवृत्ति पनि त छन् ? यो समस्या होइन ?

हो, यस्तो समस्या छ । कतिपय अवस्थामा सुरुमा बिमा गर्ने अभिकर्ताले मैले कसरी व्यावसाय बढी लिन सकूँ भनेर गलत सूचना दिएर ग्राहक आकर्षित गरेको पाइन्छ । तर यो गलत हो । सुरुमा बिमा गर्ने तर पछि नतिर्ने विषयमा अभिकर्ताको त दोष छ नै, यहाँनिर कम्पनी पनि दोषी देखिन्छ । ग्राहकमा पनि सुरुमा राम्रो मानेर बिमा गरिहाल्ने, तर पछि अन्य आवश्यकतालाई प्राथमिकता दिने गरेका उदाहरण छन् । तर जब स्वास्थ्य बिग्रिन्छ अनि ‘ओहो ! मैले बिमा पो गरेको छु’ भनेर सम्झिने गरेका उदाहरण छन् । यस्ता विषयलाई ‘ट्र्याक’मा ल्याउन बिमा कम्पनीहरुले प्रणाली÷प्रविधि विकास गरेका छन् । आशा गरौं, बिस्तारै समस्या समाधान हुँदै जालान् । गुरासँको कुरा गर्ने हो भने बिमितलाई उसले तिर्नुपर्ने मासिक किस्ताको १५ दिनअघि नै सूचना दिने गरेका छौं – तपाईंको किस्ता तिर्ने समय आउँदै छ भनेर । बिमालेखको किस्ता ढिला हुनेबित्तिकै उसलाई पुनः एसएमएस, फोन आदि गरेर जानकारी दिने पनि गरेका छौं । तर यति गर्दागर्दै पनि बिमाशुलक नतिर्नेहरु उत्तिकै छन् ।

बिमा गर्नु ठूलो कुरा होइन । गरिसकेपछि त्यसलाई निरन्तरता दिनु महत्त्वपूर्ण कुरा हो । बोनस कम्पनीले प्राप्त गरेको नाफाका आधारमा दिइने विषय हो । बैङ्कहरुमा ब्याजदर पहिल्यै निर्धारण भएजस्तो बिमा कम्पनीमा पहिल्यै बोनस तोकिँदैन । आर्थिक वर्षको समाप्तिपछि कम्पनीले कमाएको नाफाको ९० प्रतिशत बिमितलाई बोनसका रुपमा दिने व्यवस्था छ । त्यसैले कम्पनीले कति नाफा कमाउँछन् भन्ने कुरामा बोनस दर निर्धारण हुन्छ ।

१० वर्षअघि तपाईंहरुसँगै आएका कम्पनीहरुमा गुराँस कताकता हराएको जस्तो देखिन्छ । के कारणले गुराँस पछाडि प¥यो ?

होइन, गुराँस हराएको छैन । गुराँसको भन्दा धेरै शाखा अरुका नभएका होइनन् । तर गुराँस पनि एकदमै कम शाखा लिएर बसेको छैन । गुराँसका ‘प्रडक्ट’ पनि अरु कम्पनीका जत्तिकै छन् । हुन सक्छ, गराँसले धेरै विज्ञापन नगरेका कारण पछि परेको अनुभव भएको हो कि ? कम्पनीको व्यावसाय, नाफा, बोनस, शाखा, आदिमा गुराँस कुनै पनि हिसाबले अन्य कम्पनीभन्दा पछि छैन । बिमा कम्पनीहरुबीच कोही अघि, कोही पछि हुनु स्वाभाविकै हो ।

दुई अर्ब पुँजी पुर्याउने योजनाचाहिँ कस्तो बनेको छ ?

हकप्रद सेयरमार्फत २ अर्ब पुर्याउन कम्पनीले कदम चालिसकेको छ । हाल कायम चुक्ता पुँजीमा २ः१ को अनुपातमा हकप्रद सेयर दिने प्रक्रिया अघि बढिसकेको छ र केही दिनमा त्यसको मिति घोषणा हुन्छ । त्यसपछि फेरी एक बराबर एकका अनुपातमा हकप्रद सेयर जारी गर्ने तयारी छ । साथै कम्पनीले ककमाएको नाफाबाट पनि सेयरधनीलाई बोनस सेयर पनि दिइन्छ नै । तर, बोनस सेयर कति दिने भन्ने विषय अहिले नै भन्न सकिँदैन ।

बजारमा १८ ओटा जीवन बिमा कम्पनी आइसकेका छन् । के कारणले गुराँस लाइफ नै रोज्ने ?

धेरै कारणहरुमध्ये पहिलो बिमा गर्नुअघि प्रडक्ट र त्यसको फाइदा हेर्नुपर्छ । कस्तो बिमालेख खरिद गर्दा आफ्नो कति सुरक्षा हुन्छ भन्ने कुरा बिमितले जहिले पनि ख्याल गर्नुपर्छ । गुराँसमा केही प्रडक्ट छन्, जुन अरु कम्पनीमा छैननन् । तीन महिनाअघि मात्र सार्वजनिक गरेको योजना ‘सुरक्षित भविष्य’ हो । यसमा एउटै बिमालेख बिमितको जिवित अवधिदेखि मृत्युसम्म लाभ पाउँछ । जव बिमितले बिमा अवधिसम्म रकम तिर्छ त्यसबापतको रकम बिमा अवधि सकिएपछि फिर्ता पाउँछ । तर बिमितको बिमा सिद्धिँदैन । यो सावधिक जीवन बिमाको सुविधा भयो । त्यसपछि उसले वार्षिक रुपमा जीवन रहुन्जेल सुविधा पाउँछ । अनि बिमितको मृत्युपछि पनि हकवालाले सुरुमा कतिको बिमा गरेको हो, त्यति रकम पाउँछ । एउटै बिमा गर्ने व्यक्तिले तीन पटक रकम भुक्तानी पाउनु वास्तवमै राम्रो हो । गुराँसले आजीवन, पेन्सन र सावधिक जीवन बिमाको ‘प्याकेज’ एउटै योजनामा दिएको छ । त्यसैले पनि गुराँस अरुभन्दा पृथक् छ ।

गुराँससँग अर्काे योजना छ, बिमा गरेको एक वर्षमै केही रकम फिर्ता हुन्छ । यो विशेषगरी व्यापारी साथीहरुलाई हेरेर बिमालेखा तयार पारिएको हो । साथै घर बनाउन बैङ्कबाट ऋण लिएकाहरुलाई पनि यसले सघाउँछ । किनभने एक वर्षपछि बिमा गरेबापतको प्रतिफल पनि आउँछ र बिमाको जोखिम वहन त भइ नै हाल्छ । साथै बैङ्कबाट ऋण लिएर घर बनाइरहेकाहरुलाई पनि यो योजनाले सघाएको छ । त्यसैगरी गुराँसले अरु नयाँनयाँ योजना पनि ल्याउने तयारी गरिरहेको छ । आगामी आर्थिक वर्षको सुरुदेखि गुराँस आक्रामक रुपमा बजार विस्तारमा लाग्छ । त्यसले पक्कै पनि गुराँसको बजारहिस्सा बढाउनेछ ।

मृत्युपछि धनी हुने चाहना बिमा भएकाले धेरै मानिसहरु यसतर्फ आकर्षित भएको पाइँदैन । यसलाई कसरी लिनुभएको छ ?

बिमा गर्नु भनेको घरजग्गा किनेजस्तो होइन । जुन २० लाख रुपैयाँको सम्पत्ति किन्दै हुनुहुन्छ भने त्यो रकम आजै जुटाउनुपर्छ । तर बिमामा त २० लाख रुपैयाँको सम्पत्ति बनाउन आज १ लाख रुपैयाँ लगानी गरे पुग्छ । दुर्घटना आदि जोखिमलाई दृष्टिगत गर्ने हो भने त्यो ४० लाख रुपैयाँको हुन सक्छ । त्यसैले मरेपछि धनी हुने चाहना बिमा होइन । यदि कसैले यस्तो बुझेको छ भने त्यो एकदमै गलत हो र उसलाई बिमाका बारेमा कुनै ज्ञान नै दिइएको छेन । बिमा त यही जीवनमै धनी हुने र भविष्य सुरक्षित गर्ने भरपर्दाे योजना हो ।

झन्डै डेढ दशकदेखि तपाईंले बिमा क्षेत्रलाई नजिकबाट नियालिरहनुभएको छ । यसबीचमा बिमाक्षेत्रमा भोग्नुपरेका सजिला÷अप्ठ्यारा पाटा केके हुन् ?

बिमाप्रतिको सचेतना अभाव हाम्रा लागि सबैभन्दा ठूलो समस्या हो । यसमा एउटा कम्पनी लागेर मात्र सबै मानिसलाई सचेत तुल्याउन सकिँदैन । यो एकैपटक हुने कुरा पनि होइन । हामी बजारमा आउँदा धेरै नै परिवर्तन भएको भने छ । बिस्तारै बिमा सचेतना बढ्दै गएको छ । सरकारले पनि आफ्नो क्षेत्रबाट काम गर्दै आएको छ । पहिलेजस्तो विज्ञापनले अब चल्दैन । बिमा गर्ने इच्छा भएका मानिसहरको आवश्यकता र वस्तुतथ्य बुझेर अधिकांश कम्पनीले नयाँनयाँ ‘इन्नोभेटिभ प्रडक्ट’ ल्याउने प्रयास भइरहेका छन् । पछिल्लो १० वर्षमा बिमा बजारमा जेजस्तो परिवर्तन आयो, आगामी ५ वर्षभित्र अझ त्यसभन्दा बढी राम्रा प्रडक्ट र योजना सार्वजनिक हुनेछन् । आगामी ५ वर्षभित्र नेपालको बिमा बजारमा पछिल्लो १० वर्षको भन्दा धेरै प्रगति हासिल हुनेछ ।

६ महिनाकै अवधिमा यति धेरै बिमा कम्पनी आए, यसले कर्मचारी र अभिकर्ता व्यवस्थापनमा कत्तिको समस्या भईरहेको छ ?

कुनै पनि कम्पनीमा पुराना कर्मचारीले छाडेर अन्य कम्पनीमा जाँदा व्यवस्थापनमा केही न केही समस्या हुन्छ नै । अहिले ठूलो सङ्ख्यामा पुराना बिमा कम्पनीका कर्मचारी नयाँमा गएका छन् । नयाँ कम्पनी भन्नलाई मात्र नयाँ छन् । तिनको सञ्चालन पनि पुरानै कर्मचारीले गरिरहेका छन् । नयाँ कम्पनीले ल्याएका योजना पनि पुराना कम्पनीका जस्तै छन् । उनीहरुले पनि फरक योजना ल्याउन सकेका छैनन् । गुराँसमा लामो समयदेखि बिमा क्षेत्रमा दशकांैको अनुभव हासिल गरेका कर्मचारी छन् । हामीलाई एकपटक लागेको थियो, नयाँ कम्पनी आउँदा कर्मचारीको समस्याले बिमा क्षेत्रमा उथलपुथल ल्याउने हो कि भन्ने । तर त्यसो भएन । डेढदुई सय कर्मचारी भएको ठाउँमा १०÷१५ जनाले छाडेर जाँदा त्यति समस्या पर्दाे रहेनछ । अभिकर्ता त सधंै जागरुक भई नै हाल्छन् । कर्मचारी उत्पादनभन्दा अभिकर्ता छिटो तयार हुने भएकाले त्यस्तो समस्या खासै पर्दैन ।

बिमा कम्पनीहरुलाई एउटा आरोप लाग्ने गरेको छ, वैदेशिक रोजगारीमा जानेहरुलाई अनिवार्य बिमाको व्यवस्था गरिएकाले बिमा कम्पनीहरु टिकेका छन् ? के यो वास्तविकता हो ?

होइन, त्यसो हुँदै होइन । व्यापारिक दृष्टिबाट हेर्ने हो भने वैदेशिक रोजगारीमा जानेहरुलाई दिइएको सेवा घाटाको सौदा हो । ठूलो सङ्ख्यामा भएकाले केही सहयोग भएको हो । तर कुनै पनि कम्पनी वैदेशिक रोजगारीमा जानेहरुको बिमामा मात्र आश्रित छैनन् । केही कम्पनीले यो सेवा छाडि पनि सकेका छन् ।

गुराँस सञ्चालनमा आएको एक दशकमा व्यवसायका हिसावले कहिल्यै चर्चा नआए पनि सीईओका बारेमा त सबैभन्दा बढी चर्चामा रह्यो नि, यस्तो हुनुको रहस्य के रहेछ ?

सीईओको विषयलाई लिएर गुराँसमा कुनै विवाद नभए पनि एक दशकमा धेरै सीईओ परिवर्तन भने भएकै हो । यसबीचमा आएका सीईओहरुले आफूले गरेका प्रतिबद्धता पूरा गर्न नसकेका कारण अथवा अरु कुनै कारणले उहाँहरुले अवकाश पनि लिइसक्नुभएको छ । जिम्मेवारी लिएर आएपछि त्यसको प्रतिफल (आउटपुट) पनि त दिनुप¥यो नि । कम्पनीले बिनाप्रतिफल कुनै सीईओ वा अन्य कर्मचारीलाई पालेर राख्ने भन्ने त हुँदैन होला ।

तपाईं हालै नयाँ सीईओका रुपमा आउनुभएको छ । गुराँस लाइफलाई विस्तार गर्न आगामी योजना कस्ता छन् ?

प्रविधिको प्रयोगलाई हामीले व्यापक बनाउनेछौँ । त्यसबाट कम्पनीले प्रवाह गर्ने सेवा सहज हुनेछ । त्यसले थोरै कर्मचारीबाट पनि धेरै काम गर्न सकिने अवस्था आउँछ । यसले ग्राहकलाई कम्पनी खोजीखोजी जानुपर्ने अवस्थाबाट मुक्ति दिन्छ । अनलाइनका माध्यमबाटै बिमा गर्न सक्ने अवस्था रहनेछ । प्रविधिको प्रयोगले सुरक्षामा पनि प्रभावकारी काम हुन्छ । नयाँनयाँ प्रडक्ट ल्याउन पनि कम्पनीले उचित कदम चाल्छ ।