सस्कृती मन्त्री अधिकारीले जेठ १५ बाट पुनःनिर्माण सुरु गर्ने घोषणा गरेपनि हालसम्म रानीपोखरी पुनःनिर्माणको डिजाइन नै बनिसकेको छैन । काठमाडौं महानगरपालिकाका इन्जिनियर रामबहादुर थापाले पोखरी निर्माणको डिजाइन अन्तिम चरणमा पुगेको बताए ।
भूकम्पले क्षतिग्रस्त रानीपोखरीको पुनःनिर्माण अझै हुन सकेको छैन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले जेठ १५ गतेदेखि नै पुनःनिर्माण सुरु गर्ने घोषणा गरेका थिए ।
सस्कृती मन्त्री अधिकारीले जेठ १५ बाट पुनःनिर्माण सुरु गर्ने घोषणा गरेपनि हालसम्म रानीपोखरी पुनःनिर्माणको डिजाइन नै बनिसकेको छैन । काठमाडौं महानगरपालिकाका इन्जिनियर रामबहादुर थापाले पोखरी निर्माणको डिजाइन अन्तिम चरणमा पुगेको बताए ।
‘हामी विज्ञ र मन्त्रीज्यूले दिनुभएको सुझावअनुसार डिजाइन बनाइरहेका छौं,’ इन्जिनियर थापाले भने, ‘डिजाइन पूरा नभइै लागत थाहा हुँदैन ।’ उनले हाल केहि महिनाअघि निर्माण गरिएका कङ्क्रिटका पिल्लर भत्काउने काम सुरु भएको जानकारी दिँदै भत्काउने काम यो साताभित्र सकिने बताए । डिजाइन सकिने बित्तिकै पुनःनिर्माणको काम सुरु गर्ने इन्जीनियर थापाको भनाइ छ ।
रानीपोखरी निर्माणको विषयमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी श्रेष्ठबीच विवाद भएको थियो । मेयरले नयाँ स्वरुपमा पोखरीको पुनःनिर्माण थालेको भन्दै उपमेयरले तालाबन्दी गरेकी थिइन् । लामो विवादपछि मन्त्री अधिकारीकै सक्रियतामा विवाद सुल्झाएर पुरानै संरचनामा पोखरी पुनःनिर्माण गर्ने सहमति भएको थियो । सहमति भएको लामो समय बितिसक्दा पनि पोखरीको पुनःनिर्माण हुन नसकेको हो ।
हात्तीले कुल्चिएर प्रताप मल्लका कान्छा छोराको मृत्युपछि शोककुल रानीको मन भुलाउन चार सय वर्षअघि विसं १७२७ (सन् १६७०) मा रानीपोखरी निर्माण भएको इतिहास छ ।