आइतबार एक मौद्रिक नीति छलफल कार्यक्रममा गभर्नर डा चिरञ्जीवी नेपालले आफूले मौद्रिक नीतिलाई सेयर बजारमैत्री बनाउने भनेको भनेर व्यापक प्रचारप्रसार भएपछि त्यसको असर नेप्सेमा देखिएको छ र बजारमा तीव्र उतारचढाव देखिएको छ ।
गत बिहीबार र हिजो आइतबार दुई दिन गरी ५० अङ्कले घटेको नेपालको पुँजी बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार भने तीव्र उतारचढावका बीच अन्तिममा करिब १० अङ्कको सुधार भएको छ । आइतबार एक मौद्रिक नीति छलफल कार्यक्रममा गभर्नर डा चिरञ्जीवी नेपालले आफूले मौद्रिक नीतिलाई सेयर बजारमैत्री बनाउने भनेको भनेर व्यापक प्रचारप्रसार भएपछि त्यसको असर नेप्सेमा देखिएको छ र बजारमा तीव्र उतारचढाव देखिएको छ । केही समूहले बजारलाई प्रभावित गरी मौकामा फाइदा उठाउन उद्यत् रहेको गभर्नर नेपालको अफवाहलाई लिन सकिन्छ ।
आइतबार १२३१.६४ अङ्कमा रोकिएको नेप्से सोमबार कारोबारको सुरुको आधा घण्टाभित्रै करिब १० अङ्कले घटेर १२२३.८६ बिन्दुसम्म झरेको थियो । त्यसपछि भने सूचकमा तीव्र उछाल आएर कारोबार सुरु भएको सवा घण्टामै २९ अङ्कको ‘बाउन्स ब्याक’ हुँदै १२५२.६० अङ्कसम्म चढ्यो । तर, त्यसपछि भने बजार तल भर्ने क्रम सुरु भयो र १२३३.३० अङ्कसम्म झर्दै फेरि बढ्न थाल्यो । बढेर १२४६.६८ अङ्कसम्म चढेको नेप्से फेरि १२३५.४७ बिन्दुसम्म ओर्लियो र कारोबाको अन्तिम समयमा नेप्से सूचक माथि लाग्दै १२४१.१९ अङ्कमा रोकियो । यसरी दिनभरिको कारोबारमा पटक पटक ठूलो फरकमा बजार बढ्ने प्रयास भएपनि अन्तिम समयमा भने ९.५५ अङ्कको मात्रै वृद्धि टिक्यो ।
खासगरी जेठ १५ को बजेट वक्तव्यपछि नेप्सेमा लगानीकर्ताको गिरेको मनोबल उठ्न सकेको छैन । सरकारले एकाएक हकप्रद तथा बोनस सेयरको अङ्कित मूल्यमै पुँजीगत लाभकर लिने निर्णय गरेकोमा लगानीकर्ताले त्यसमा असहमति जनाउँदै एक दिन कारोबारै ठप्प पारेका थिए । तर, पछि सरकारले सो निर्णय तत्काल फिर्ता लिएर अर्थ मन्त्रालयद्वारा गठित समितिले दिने सुझावका आधारमा आगामी दिनमा कर निर्धारण गर्ने उल्लेख गरेको छ । सो समितिले कस्तो निर्देशन दिने हो भन्ने आशङ्कामा लगानीकर्ता परेका छन् । त्यसैले पनि लगानीकर्तामा मनोबल उच्च देखिएको छैन ।
लगानीकर्ताले जहिले कसले के भन्छ भन्दा पनि आफूले सेयर खरिद गर्ने कम्पनीको आधारभूत अवस्था कस्तो छ भनेर हेर्नुपर्ने हुन्छ । अर्को कुरा मौद्रिक नीतिले पुँजीबजार मैत्री नीति अँगाल्नुको अर्थ मार्जिन लेन्डिङमा केही खुकुलो गर्ने मात्र हो । त्यो भन्दा बाहेक केन्द्रीय बैङ्कसँग बजार बढाउन अरु हतियार यतिबेला छैन । त्यस्तै, केन्द्रीय बैङ्कले आधार दरमा ५ प्रतिशत स्प्रेड दरभन्दा बढी ब्याज कर्जामा राख्न नहुनेमा जोड दिएको छ । यो सम्भवतः सबै बैङ्कमा लागू भएकै कुरा हो । यसैलाई आधार बनाएर कतिपय ब्याजदर घट्छ भन्ने आँकलन प्रस्तुत गर्दा त्यसैको जालमा पनि लगानीकर्ता फस्ने सम्भावना रहन्छ । त्यसैपनि चौथो त्रैमासिकमा सरकारले बढी नै खर्च गर्छ र यो विगतको वास्तविकता पनि हो । यस्तो बेला तरलता सहज भई ब्याजदरमा धेरै दबाब पर्दैन । त्यसैले यस्तो बेला लगानीकर्ता हल्लाको भरमा भन्दा पनि कम्पनीको यथार्थ विवरण र यथार्थ सूचनामा केन्द्रित रहेर सेयर खरिद बिक्री प्रक्रियामा सहभागी हुनु उनीहरुकै हितमा हुन्छ ।
सोमबार नेप्से सूचक वृद्धिलाई कायम राख्न वर्गीकृत १० उपसमूहमध्ये ७ ओटा समूह सूचकले साथ दिएका छन् भने यसदिन ३ ओटा समूह सूचक ओरालो लागेका छन् । यसदिन सबैभन्दा बढी बिमा समूह १०२.०८ अङ्कले बढेर नेप्से बढाउन सपोर्ट गरेको छ । त्यसैगरी होटल समूह ६०.६७, जलविद्युत् ५.६४, उत्पादनमूलक तथा प्रशोधन ७.३१, अन्य समूह ३.४८ र लघुवित्त २२.८९ अङ्कले बढेको छ । आइतबार विकास बैङ्क २.८३, वित्त कम्पनी समूह ३.७१ र व्यापार समूह २.९६ अङ्कले झरेका छन् ।
बजार बढ्ने तीव्र कोसिस देखिए पनि सोमबार कारोबार रकममा भने सामान्य कमी आएको छ । सोमबार ५ हजार ३ सय १२ कारोबारबाट ११ लाख ७६ हजार ४ सय ९१ कित्ता सेयर खरिद बिक्री भई ४३ करोड ६८ लाख ८६ हजार ८ सय रुपैयाँबराबरको कारोबार भएको छ । आइतबार १ सय ६२ कम्पनीका ५ हजार ७ सय ११ कारोबारबाट ११ लाख ७६ हजार ३४ कित्ता सेयर किनबेच भई ४४ करोड ३३ लाख ९२ हजार ८ सय रुपैयाँ बराबरको सेयर खरिद बिक्री भयो । सोमबार सबैभन्दा धेरै नबिल बैङ्कको संस्थापक सेयर ३ करोड ८५ लाख ७१ हजार रुपैयाँको कारोबार भएको छ ।