केही दिनदेखि गभर्नर नेपालको भनाइलाई अघि सारेर सेयर बजार बढाउने भरमग्दुर प्रयास भएको छ । तर, बजारले भने गति लिन सकेको छैन । सोमबार परिसूचक ९.५५ अङ्कले बढेर बजार बन्द भएको थियो ।
कारोबार सुरु भएदेखि नै घट्न थालेको मङ्गलबारको बजार तीव्र उचार चढावसहित अन्त्यमा सामान्य रुपमा घटेको छ । कारोबार सुरु भएदेखि करिब दुई घन्टासम्म ११ अङ्कले घटेको बजार त्यसपछि केही सुधार भएर ३.४७ अङ्कसम्मको सुधार देखिएको थियो । तर, अन्तिम समयमा फेरि १.९३ अङ्कले घटेर नेप्से १२३९.२६ मा रोकिएको छ ।
केही दिनदेखि गभर्नर नेपालको भनाइलाई अघि सारेर सेयर बजार बढाउने भरमग्दुर प्रयास भएको छ । तर, बजारले भने गति लिन सकेको छैन । सोमबार परिसूचक ९.५५ अङ्कले बढेर बजार बन्द भएको थियो । यसदिन पनि तीव्र उतार चढावका बीच बढेर सामान्य हिसाबले बढेको थियो । त्यसअघिका दुई दिनमा गरी नेप्सेमा ५१ अङकको गिरावट देखिएको थियो ।
मङ्गलबार पनि नेपाल राष्ट्र बैङ्कले आयोजना गरेको आगामी आर्थिक वर्ष २०७५÷७६ का लागि मौद्रिक नीतिमाथि सुझाव माग्ने कार्यक्रममा गभर्नर डा चिरञ्जीवी नेपालले पूँजीबजारको सुधारका लागि काम गर्ने बताए । ‘काम गर्ने समय आयो, मुखदेखि हो कि मनैदेखि हो, त्यो देखाउने बेला आएको छ,’ उनले कार्यक्रममा भने ।
बजारमा अहिले पनि लगानीकर्ता पुँजीगत लाभकर के हुन्छ भनेर डराइरहेका छन् । असार महिना वर्षको अन्तिम महिना भएको र बैङ्क तथा वित्तीय संस्थामा ब्याज तिर्नुपर्ने भएको हुँदा आपूर्ति बढ्ने र बजार घट्ने हुन्छ । बजार तीव्र रुपमा चलायमान हुँदा लगानीकर्ता खरिद गर्ने वा बिक्री गर्ने भन्ने अन्योलमा रहेको कारोबार भएको रकमबाट बुझ्न सकिन्छ ।
सेयर लगाननीकर्ता सङ्घ नेपालका अध्यक्ष उत्तम अर्यालले मार्जिन ल्यान्डिङ् कर्जाको सीमा ८० प्रतिशत र औसत भार शतप्रतिशत कायम गराउनुपर्नेमा जोड दिए । उनले हकप्रद र बोनस सेयर समायोजन भएको मूल्यकै आधारमा सेयर कर्जा दिने व्यवस्था मिलाउन माग गरेका छन् ।
सेयर बजारसम्बन्धी सुझावमा सेयर बजारको खपत बढाउन बैङ्कहरुलाई ब्रोकर लाइसेन्स दिनुपर्ने, अनलाइन कारोबार प्रणालीलाई सहयोग पुर्याउने नीति अख्तियार गर्नुपर्ने र राष्ट्र बैङ्कले गर्नुपर्ने काम छिटो गरेर पुँजी बजारको विकासमा सघाउनु पर्नेमा जोड दिइएको छ । कार्यक्रममा लगानीकर्तासहित नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधिले सेयर बजारको विकास र विस्तारका लागि मनैदेखि काम गर्न सुझाव दिएका छन् ।
मङ्गलबार नेप्सेमा वर्गीकृत ९ उपसमूहमध्ये ५ ओटा समूहसूचक ओरालो लागेपछि त्यसको असर नेप्सेमा परेको हो । तीन समूहसूचकमा सामान्य वृद्धि आएको छ भने एउटा समूहसूचकमा कुनै परिवर्तन भएन ।
मङ्गलबार बजारसँगै कारोबार रकममा पनि उल्लेख्य गिरावट आएको छ । मङ्गलबार ४ हजार ७५ कारोबारबाट ९ लाख ५७ हजार १ सय २७ कित्ता सेयर खरिद बिक्री भई ३० करोड २८ लाख ४७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार भने ४४ करोड रुपैयाँबराबरको कारोबार भएको थियो ।
मङ्गलबार सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड ३५ लाख रुपैयाँबारबको सेयर किनबेच भएको छ । बजार घट्दा पनि उन्नति माइक्रोफाइनान्सको कारोबारमा सर्किट लागेको छ भने काबेली विकास बैङ्कको सेयर मूल्य सबैभन्दा धेरै ६.१२ प्रतिशतले घटेको छ ।