विदेशी पर्यटकलाई उद्धारका नाममा ठगी गर्ने कम्पनीमाथि छानबिन सुरु

मन्त्रालयले हिमालयन सोसल जर्नी, एस द हिमालय, नेपाल हाइकिङ टिम, युनिक एडभेन्चर, नेपाल इन्भारोमेन्टल ट्रेकिङ, नेपाल भिजन ट्रेकिङ, हिमालय सिनरी, सेभेन समिट, फ्लाइट कनेक्सन, अल्पाइन रेस्क्यु, हिमालयन रेक्स्यु, ग्रेट हिमालय, इजीहेली चार्टर सर्भिसलगायतका कम्पनीमाथि छानबिन थालेकाे छ ।

सरकारले नेपाल आउने विदेशी पर्यटकलाई पदयात्राका क्रममा बिरामीको अवस्थामा उद्धार गरी चर्काे रकम असुल गरी ठगी गर्ने ट्राभल/ट्रेकिङ एजेन्सी, अस्पताल, उद्धार संस्था तथा हेलिकप्टर कम्पनीलाई छानबिनको दायरामा ल्याएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले बिरामी बनाएर तथा ‘फेक’ उद्धारको नाममा विदेशी पर्यटकसँग चर्काे रकम लिने ट्राभल एजेन्सी, अस्पताललाई कारबाही गर्न अनुसन्धान सुरु गरेको हो । मन्त्रालयले मङ्गलबार केही ट्राभल÷ट्रेकिङ एजेन्सी, हेलिकप्टर कम्पनी तथा स्वास्थ्य मन्त्रालयमार्फत केही अस्पताललाई पत्र पठाउँदै विदेशी पर्यटकको उद्धार गरेको स्थान, मिति, समय, बिरामीको नाम, ठेगाना, हेलिकप्टरको भाडा, बिरामी लगिएको अस्पतालको नाम र ठेगानाको सम्पूर्ण जानकारी मागेको छ । नागरिक उडड्यन प्राधिकरणमार्फत हेलिकप्टर कम्पनीलाई पनि पत्र पठाउँदै २०१५ जनवरी १ देखि २०१८ मे ३० सम्मको उद्धार उडानको विवरण पनि मागेको छ ।

मन्त्रालयमा एक वर्षअघि नै विभिन्न कम्पनीका नाममा उजुरी गएपनि छानबिन भएको थिएन । रवीन्द्र अधिकारी पर्यटनमन्त्री भएपछि गत साता पर्यटकलाई बिरामी बनाउने र फेक उद्धार गर्ने ट्राभल कम्पनी, अस्पताल तथा हेलिकप्टर कम्पनीलाई कारबाही गर्ने बताउँदै त्यसका लागि मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेका थिए । समितिलाई असार १५ गतेभित्र प्रतिवेदन बुझाउन समयसीमा दिइएको छ ।

मन्त्रालयमा पर्यटकलाई बिरामी बनाएर तथा फेक उद्धार गर्ने गरेको भन्दै दर्जनभन्दा बढी कम्पनीमाथि उजुरी परेको छ । हिमालयन सोसल जर्नी, एस द हिमालय, नेपाल हाइकिङ टिम, युनिक एडभेन्चर, नेपाल इन्भारोमेन्टल ट्रेकिङ, नेपाल भिजन ट्रेकिङ, हिमालय सिनरी, सेभेन समिट, फ्लाइट कनेक्सन, अल्पाइन रेस्क्यु, हिमालयन रेक्स्यु, ग्रेट हिमालय, इजीहेली चार्टर सर्भिसलगायतका कम्पनीमाथि मन्त्रालयमा उजुरी परेको हो । मन्त्रालयले उजुरीमा आएका नामका आधारमा छानबिन थालेको हो ।

त्यस्तै मन्त्रालयमा एयर डाइनेष्टिक, मनाङ एयर, सिम्रिक एयर, माउन्टेन हेलिकप्टर्स, हेली एभरेष्टलगायत हेलिकप्टर कम्पनीले उद्धार गर्दा कमिसनका आधारमा उद्धार गर्ने गरेको उजुरी परेको छ ।

नेपाल नागरिक उडड्यन प्राधिकरणले मङ्गलबार १० हेलिकप्टर कम्पनीलाई पनि उद्धार गरेको मिति, समय र स्थान, हेलिकप्टर बुक गर्ने कम्पनी, बिरामीको नाम र देश, हेलिकप्टरको भाडा रकम, बिरामी लगिएको अस्पतालको नाम र ठेगाना २ दिनभित्र उपलब्ध गराउन पत्राचार गरेको छ ।
त्यस्तै मन्त्रालयमा बिमा कम्पनीसँगको मिलेमतोमा चर्काे शुल्क लिने र ठगी गर्ने गरेको भन्दै इरा हेल्थ (अस्पताल), स्वाकन अस्पताल, बयोधा अस्पताल, सिविक, ग्रान्डी, नर्भिक, नेपाल मेडासिटी अस्पतालका विषयमा पनि उजुरी परेको र पर्यटन मन्त्रालयले स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा छानबिन गरिरहेको मन्त्रालयले जनाएको छ ।

इरा हेल्थका सञ्चालक तथा मेडिकल निर्देशक डा गीर्वाणराज तिमिल्सिनाले इरा अस्पतालमा विशेषगरी विदेशी पर्यटक बिरामी अवस्थामा आउने र उनीहरुको उपचार हुने बताए । ‘हामीले उपचारको आधारमा मात्र शुल्क लिएका छौं, त्यस्तो कुनै ठगी छैन,’ उनले भने । विदेशी बिमा कम्पनीलाई दाबी गर्दा केही सयम लाग्ने र केही दाबी गर्दा पनि भुक्तान नहुने भएकाले केही महँगो रहेको उनले बताए ।

मन्त्रालयका सहसचिव तथा छानबिन समितिका संयोजक घनश्याम उपाध्यायले विदेशी पर्यटकलाई बिरामी बनाउने र बिरामीको बहानामा फेक उद्धार गर्ने विभिन्न कम्पनीमाथि अहिले अनुसन्धान र छानबिन चलिरहेको बताए । ‘अहिले छानबिन चलिरहेको छ, कुन कुन कम्पनी भनेर नाम खोल्न मिल्दैन,’ उनले भने, ‘हामीले विवरण सङ्कलन गरिरहेका छौं, त्यसका लागि विभिन्न कम्पनीलाई विवरण उपलब्ध गराउन पत्र पनि गैसकेको छ ।’
पर्यटकको बिरामी अवस्थाको बिमा रकमबाट कमिसन लिने र अस्पताल, ट्राभल र हेलिकप्टरहरुसँग मिलेमतो गर्नेमा केही पाइलट पनि रहेको मन्त्रालयले जनाएको छ । पाइलटहरुले नै उद्धार कम्पनी खोलेर अवाञ्छित काम गरिरहेकाले अनुसन्धान थालिएको मन्त्रालयको दाबी छ ।

ट्रेकिङ संस्थाहरुको छाता सङ्गठन टे«किङ एजेन्सीज् एसोसिएसन अफ नेपालका अध्यक्ष नवराज दाहालले उद्धारका नाममा विगतमा गलत कार्य भएको बताए । ‘विगतमा कमीकमजोरी भएकै हो, त्यो कमीकमजोरी हुँदा राज्य पनि चुप बस्यो,’ उनले भने । अब राज्यले आतङ्कित बनाएर कारबाही गर्नुभन्दा एउटा प्रणाली बसाएर अगाडि बढ्नुपर्ने उनले बताए ।