पर्यटनमन्त्री अधिकारीले बुझे आईकाओको प्रमाणपत्र

आईकाओले नेपाललाई झन्डै ४ वर्षपछि गम्भीर सुरक्षा चासोको सूचीबाट गत जुलाईमा हटाएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ)ले प्रदान गरेको प्रमाणपत्र बुझेका छन् ।

नेपालले सन् २०१७ मा सुरक्षा चासोको मापदण्ड पूरा गरेकाले आईकाओले प्रमाणपत्र प्रदान गरेको हो । नेपाललाई गम्भीर सुरक्षा चासोबाट हटाइएको प्रोत्साहन प्रमाणपत्र ग्रहणका लागि मन्त्री अधिकारी क्यानाडा पुगेका हुन् । आईकाओले नेपाललाई झन्डै ४ वर्षपछि गम्भीर सुरक्षा चासोको सूचीबाट गत जुलाईमा हटाएको थियो ।

आईकाओले नेपालसहित बङ्गलादेश, बुर्किना फासो, कोस्टारिका, तान्जिनिया, रुवान्डा, इक्वेटरियल घिनी, रोमानिया, पानामा, कुवेत, जोर्डन, इन्डोनेसिया, पोर्चुगल र फिनल्यान्डलाई क्याउन्सिल प्रेसिडेन्ट सर्टिफिकेट प्रदान गरेको छ ।

सो प्रमाणपत्र बुझ्न अन्य देशबाट निर्देशक तहका कर्मचारी उपस्थित हुने गरेको भएपनि नेपालबाट भने पर्यटनमन्त्री अधिकारी र क्यानका महादिर्नेशक सञ्जिव गौतम क्यानाडा गएका हुन् । आईकाओले १ वर्ष सम्म ३ जना विज्ञलाई नेपाल पठाएर गम्भीर सुरक्षा चासोबाट हटाउन सहयोग पु¥याएको भन्दै उनीहरुको सम्मानका लागि मन्त्री अधिकारी आफै प्रमाणपत्र बुझ्न क्यानाडा गएको क्यानका उपमहानिर्देशक राजन पोखरेलले बताए ।

तस्बिर : पर्यटनमन्त्री रवीन्द्र अधिकारीको टुइटरबाट