नयाँ हवाई रुटका लागि वार्ता सुरु

वार्तामा भारतीय विमानस्थल प्राधिकरणका एयर नेभिगेसन प्रमुख एके दत्ताको टोली र नेपाली पक्षका तर्फबाट क्यानका उपमहानिर्देशक एवम् एयर नेभिगेसन प्रमुख नरेन्द्रबहादुर थापाको टोली बसेका छन् ।

नयाँ हवाई रुटका लागि वार्ता सुरु भएको छ । भारतीय विमानस्थल प्राधिकरणका एयर नेभिगेसनका प्रतिनिधि र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रतिनिधिबीच बिहीबार बिहानबाट वार्ता सुरु भएको हो ।

वार्तामा भारतीय विमानस्थल प्राधिकरणका एयर नेभिगेसन प्रमुख एके दत्ताको टोली र नेपाली पक्षका तर्फबाट क्यानका उपमहानिर्देशक एवम् एयर नेभिगेसन प्रमुख नरेन्द्रबहादुर थापाको टोली बसेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले वार्ता सुरु भएको जानकारी दिए । दुई दिनसम्म चल्ने वार्तामा नेपालले पहिलेदेखि माग गर्दै आएको दुई ओटा हवाई रुटको विषयमा छलफल केन्द्रित हुने बताइएको छ ।

नेपालले पहिलोमा महेन्द्रनगर र दोस्रोमा विराटनगर वा जनकपुरमध्ये एक रुट माग गर्दै आएको छ । यसअघि भारतीय पक्षसँग क्यानले ईमेल र टेलिफोनमार्फत् धेरै पटक वार्ता गरिसकेको छ । पटक पटक भएको वार्ता निष्कर्षमा पुग्न नसकेपछि क्यानले भारतीय पक्षलाई नेपाल आउन एक महिना अघि पत्र पठाएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमण आउँदा नयाँ हवाई रुटका लागि दुवै देशका प्राविधिकहरुलाई छलफलमा बस्न निर्देशन दिएका थिए ।