मौद्रिक नीतिको पर्खाइमा सेयर बजार

बजेटले खासै सम्बोधन नगरेर झन् समस्या सिर्जना गरेपछि नेप्से सूचक निरन्तर ओरालो लागेको छ र एक महिनाको अवधिमा नेप्से ९६.१ अङ्कले ओर्लिएको छ ।

पुँजी बजारमा खेलो फड्को गर्नेहरुलाई जेठ महिनाको अन्तिम दिन केही राहत मिलेको छ । साताको अन्तिम दिन विहीबार (आज) सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५.२३ अङ्कले बढेर १२४७.३० अङ्कमा रोकिएको छ । तर, यो सातामा भने ३ दिन बढेर २ दिन घटेको बजारमा घटाइको दबाब बढी दिएको छ ।

जेठ महिना सुरु हुनेबित्तिकै मध्य जेठमा सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउने र त्यसले बजार प्रभावित हुने धेरैको अनुमान हुन्छ । बजेटमा खासगरी करका दर र पुँजीबजार विस्तारका लागि चालिने कदमहरुबारे उल्लेख हुने भएकाले बजेटसम्म धेरै लगानीकर्ता पर्ख र हेरको अवस्थामा हुन्छन् । वैशाख ३१ गते १३३८.१७ अङ्कमा रहेको नेप्से सूचक जेठ ३१ गते आइपुग्दा १२४२.०७ अङ्कमा रोकिएको छ । तर, जेठ २७ मा भने नेप्से महिनाकै सबैभन्दा न्यून विन्दु १२३१.६४ अङ्कसम्म झरेको थियो ।

बजेटले खासै सम्बोधन नगरेर झन समस्या सिर्जना गरेपछि नेप्से सूचक निरन्तर ओरालो लागेको छ र एक महिनाको अवधिमा नेप्से ९६.१ अङ्कले ओर्लिएको छ । नेप्सेले नयाँ ल्याउन लागेको अनलाइन प्रणाली ब्रोकरमार्फत परीक्षण सुरु गरेको छ । सुरुमा ४ ओटा ब्रोकरलाई आन्तरिक रुपमा अनलाइन परीक्षण गर्न दिइएको छ । यो प्रणाली सफल भएमा छिट्टै सबै ब्रोकरलाई बाटो खोलिनेछ ।

बजेटले व्यक्तिगत पुँजीगत लाभकर ५ प्रतिशतबाट बढाएर ७.५ प्रतिशत पु¥यायो । यसप्रति लगानीकर्ताले खासै चासो राखेनन् । नाफा कमाएपछि कर तिर्नुपर्छ भन्ने मुडमै लगानीकर्ता देखिए । तर, आन्तरिक राजस्व विभागले जेठ २० गते हकप्रद र बोनस सेयरको अंकित (आधार) मूल्यमै लाभकर उठाउने परिपत्र गरेपछि भने लगानीकर्ता झस्किए । अङ्कित मूल्यमै लाभकर उठाउने सरकारी निर्णयको विरोधको उनीहरु जेठ २२ गते कुनै पनि कारोबार नगरेर भद्र विद्रोहमा सरिक भए । नेप्सेको स्थापनापछि लगानीकर्ताका कारण कारोबार रोकिएको भने यो पहिलो पटक थियो । यसअघि पनि एकपटक सेयर दलाल व्यवसायीले कारोबार रोकेका थिए । त्यसपछि भने सरकारको कान ठाडो भयो र जेठ २३ गते अर्थ मन्त्रालयको सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा लाभकरबारे अध्ययन गर्न समिति गठन भयो । १५ दिनको समय दिइएको सो समितिको निर्णय कस्तो आउला भनेर लगानीकर्ता पर्खिरहेका छन र सेयर कारोबार पनि त्यसैअनुरुप सुस्तसुस्त चलाईरहेका छन् । बजेटपछि सेयर सूचक मात्र घटेको छैन बिस्तारै बिस्तारै कारोबार रकम पनि खुम्चिँदै गएको छ ।

बजेटलगत्तै मौद्रिक नीतिका लागि पूर्वछलफल सुरु भएपछि गभर्नरको भनाइलाई उचालेर बजार प्रभावित बनाउने प्रयास पनि भइरहेको छ । तर त्यो त्यति सफल भएको स्थिति छैन । असार पहिलो साता आउने मौद्रिक नीति र लाभकरको स्पस्ट नीति पछि अबको बजारले गति समाउने देखिन्छ ।
बिहीबार वर्गीकृत १० उपसमूहमध्ये ९ ओटा समूहको कारोबार भएको बिमा उपसूचक ५.४७ अङ्कले घटेको बाहेक सबै सूचक उकालो लागेपछि त्यसको असर नेप्सेमा परेको हो । यस दिन बैङ्किङ २.८८, होटल १९.४५, विकास बैङ्क ४.६८, जलविद्युत् २८.७१, वित्त २.३५, उत्पादनमूलक र प्रशोधन ४८.८७, अन्य ३.७८ र लघुवित्त समूह १३.३७ अङ्कले बढेको छ । व्यापार समूहको भने कुनै कारोबार भएन ।

बिहीबार ४ हजार ७ सय ५६ कारोबारबाट ९ लाख १२ हजार ७ सय ५० कित्ता सेयर खरिदबिक्री भई ३१ करोड ८२ लाख ९ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । यो कारोबार रकम बुधबारको २१ करोड ४८ लाख २ हजार रुपैयाँको तुलनामा भने ४८.१४ प्रतिशतले बढी हो । बिहीबार सबैभन्दा बढी प्रभु बैङ्कको संस्थापक सेयर १ करोड ९५ लाख २० हजार रुपैयाँबराबरको कारोबार भएको छ । विहीबार उन्नति माइक्रोफाइनान्सको १० प्रतिशतले नै सेयर मूल्य बढेर ‘सर्किट ब्रेक’ लागेको छ भने जेविल्स फाइनान्सको सबैभन्दा बढी ३.७ प्रतिशतले सेयर मूल्य घटेको छ ।