बजेटले आफ्ना माग कुनै पनि नसमेटेपछि लगानीकर्ताको ध्यान मौद्रिक नीतिका लागि केन्द्रीय बैङ्कतिर तेर्सिएको छ । तर, अहिलेको परिवेशले त्यति सहजै मौद्रिक नीतिमा लगानीकर्ताको मुडअनुसारको नीति आउँछ भन्ने लाग्दैन । त्यसैले पनि बजार निरन्तर ओरालो लाग्ने देखिन्छ ।
असारको पहिलो दिनको सेयर कारोबारमा लगानीकर्तालाई ठूलै झट्का लागेको छ । आइतबार पुँजी बजार मापक नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) १४.०७ अङ्कले घटेर १२३३.२३ अङ्कमा रोकिएको छ । सङ्घीय बजेट तथा प्रदेशको बजेटसमेत आइसकेका बेला बजारमा भने गिरावट देखिएको हो । जेठ १५ मा सङ्घीय बजेट र असार १ गते सात ओटै प्रदेशका प्रदेश बजेट सार्वजनिक भइसकेको छ । गत साता ३ दिन सामान्य सुधार र २ दिन घटेको बजार आइतबार भने दोहोरो अङ्कले घटेको हो ।
आइतबार नेप्सेमा वर्गीकृत १० समूहमध्ये ८ समूहको सूचक ओरालो लागेपछि नेप्से पनि प्रभावित देखिएको हो । होटल समूह सूचक २८.९५ अङ्कले वृद्धि देखिएको छ भने व्यापार समूहको कुनै कारोबार भएको छैन । आइतबार बैङ्किङ १२.५१, विकास बैङ्क १२.९९, जलविद्युत् २७.०५, वित्त ६.५२, बिमा ७२.४, उत्पादनमूलक तथा प्रशोधन ७.२३, अन्य ९.१३ र लघुवित्त २०.७६ अङ्कले ओरालो लागेका छन् ।
आइतबार कारोबार पनि गत बिहीबारको तुलनामा ह्वात्तै घटेको छ । यसदिन १ सय ५४ कम्पनीको ४ हजार ३ सय ६१ कारोबारबाट ६ लाख ६४ हजार ५ सय २१ कित्ता सेयर खरिद बिक्री भई २४ करोड ५० लाख ५३ हजार (म्यानुअल) २९ लाख ७८ हजारसमेत) रुपैयाँबराबरको सेयर किनबेच भएको छ । गत बिहीबार ३१ करोड ८२ लाख ९ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको थियो । यसअघि बुधबार यसअवधिकै सबैभन्दा कम सेयर कारोबार २१ करोड ४८ लाख २ हजार रुपैयाँबराबरको भएको थियो ।
सेयर परिसूचकसँगै कारोबार रकम घट्नु वा बजार सामान्य बढेर पनि सेयर कारोबार रकम घटेको स्थितिमा बजार अझै तल झर्ने सङ्केतका रुपमा लिने गरिन्छ । असार महिना चालू आर्थिक वर्षको अन्तिम महिना पनि हो । वित्तीय बजारमा ब्याज दर सहज भयो भन्ने आकलन गर्ने बेला बैङ्क तथा वित्तीय संस्थाले एकाएक निक्षेपमा ब्याजदरको प्रतिस्पर्धा गर्न थालेपछि सेयर लगानीकर्ता खुम्चिनुपर्ने अवस्था आएको छ । ब्याजदर बढ्दा त्यसको लागत बढ्न गई लगानीकर्ता सेयर खरिद बिक्रीका लागि खासै आकर्षित हुँदैनन् । त्यसैगरी बैङ्कबाट ऋण लिएकाहरुलाई असारमा आफ्नो ऋण तिर्न ताकेता हुने भएकाले कतिपय लगानीकर्तालाई पोर्टफोलियो व्यवस्थापन गर्न घाटा खाएरै भएपनि सेयर बिक्री गनुपर्ने स्थिति आउँछ । त्यस्तै बजार घट्दै जाँदा मार्जिन कल लगानीकर्ताको अर्को ठूलो समस्या हो ।
त्यसैगरी सरकारले पुँजीगत लाभकरको विधि तय गर्न गठित समितिले यसै साता प्रतिवेदन दिने भनिएको छ । जेठ २३ गते अर्थ मन्त्रालयले पुँजीगत लाभकर गणना विधि तय गर्न सहसचिवको संयोजकत्वमा समिति गठन गरेको थियो । हकप्रद र बोनस सेयरको अङ्कित मूल्यमै पुँजीगत लाभकर लगाउने विषयलाई लिएर लगानीकर्ताले जेठ २२ मा सेयर कारोबार नै ठप्प पारेका थिए । समितिको प्रतिवेदनले कस्तो निर्णय सुझाउला भन्ने अनुमानमा लगानीकर्ताको मनोबल उकासिन सकेको छैन । यसले पनि बजार थप तल झर्न मद्दत गरिरहेको छ ।
बजेटले आफ्ना माग कुनै पनि नसमेटेपछि लगानीकर्ताको ध्यान मौद्रिक नीतिका लागि केन्द्रीय बैङ्कतिर तेर्सिएको छ । तर, अहिलेको परिवेशले त्यति सहजै मौद्रिक नीतिमा लगानीकर्ताको मुडअनुसारको नीति आउँछ भन्ने लाग्दैन । त्यसैले पनि बजार निरन्तर ओरालो लाग्ने देखिन्छ ।
आइतबार सबैभन्दा बढी ग्रामीण लघुवित्त वित्तीय संस्थाको २ करोड २७ लाख ५४ हजार रुपैयाँबराबरको सेयर खरिद बिक्री भएको छ । यसदिन ६ कम्पनीको सेयर १ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । घटिरहेको बजारमा सबैभन्दा बढी प्राइम लाइफ इन्स्योरेन्सको सेयर मूल्य करिब ७ प्रतिशतले घटेको छ । तर, घटिरहेको बजारमा पनि राधी जलविद्युत् कम्पनीको सेयर मूल्य भने १० प्रतिशतले बढेको छ ।