नेपाल बैङ्कले असार १५ गतेदेखि ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँको एफपीओ बिक्रीको मिति तय गरेको हो । बैङ्कले अङ्कित मूल्य एक सय रुपैयाँमा १ सय ८० रुपैयाँ ‘प्रिमियम’ जोडेर प्रतिकित्ता २ सय ८० रुपैयाँमा एक करोड ७६ लाख ८४ हजार ८ सय ५८ कित्ता सेयर बिक्रीको आह्वान गरेको हो ।
एनएमबी बैङ्कले जारी गरेको थप प्राथमिक निष्कासन बिक्री नभइरहेका बेला नेपाल बैङ्कले पनि आफ्नो एफपीओ बिक्रीको मिति तय गरेको छ । यही बीचमा नाडेप लघुवित्त वित्तीय संस्था र बहुप्रतीक्षित माथिल्लो तामाकोसीको पनि प्राथमिक निष्कासन (आईपीओ) आउँदैछ ।
नेपाल बैङ्कले असार १५ गतेदेखि ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँको एफपीओ बिक्रीको मिति तय गरेको हो । बैङ्कले अङ्कित मूल्य एक सय रुपैयाँमा १ सय ८० रुपैयाँ ‘प्रिमियम’ जोडेर प्रतिकित्ता २ सय ८० रुपैयाँमा एक करोड ७६ लाख ८४ हजार ८ सय ५८ कित्ता सेयर बिक्रीको आह्वान गरेको हो ।
त्यसैगरी असार १० बाटै नाडेपको ४ करोड ८० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासनको मिति तय भएको छ । नाडेपमा न्यूनतम २० कित्ता र अधिकतम २ हजार ४ सय कित्तासम्म आवेदन गर्न पाइने सेयर निष्कासन तथा बिक्री प्रवन्धक नबिल इन्भेष्टमेन्ट बैङ्किङले जनाएको छ । नाडेपको सेयर आवेदन छिटोमा असार १३ र ढिलोमा साउन ७ गते बन्द हुनेछ ।
त्यस्तै, माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले पनि स्थानीय र सर्वसाधारणलाई गरी २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ बराबरको २ करोड ६४ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्दैछ । नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासन गर्न अनुमति दिएकाले कम्पनी पहिलो चरणमा आयोजना प्रभावित स्थानीयलाई १० प्रतिशत अर्थात् १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ५ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा छ । त्यसलगत्तै सर्वसाधारणलाई १५ प्रतिशत अर्थात् १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । यसले पनि लगानीकर्ता एफपीओमा कम आकर्षित भएको पाइन्छ ।
नेपाल बैङ्कको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल छ भने बैङ्कको सबै सेयर किन्न ८ ओटा मर्चेन्ट बैङ्कले खरिदको प्रत्याभूति गरेका छन् । नेपाल बैङ्कमा लगानीकर्ताले न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्नेछ ।
नेपाल बैङ्कको एफपीओमा सुरुकै दिनदेखि संस्थागत लगानीकर्ताले पनि आवेदन गर्न पाउने छन् । यसअघि एनएमबिको एफपीओ बिक्री नभएपछि नेपाल धितोपत्र बोर्डले निष्कासन तथा बाँडफाँट निर्देशिका संशोधन गर्दै संस्थागत लगानीकर्ताले पनि सुरुबाटै लगानी गर्न सक्ने व्यवस्था गरेको थियो । नेपाल बैङ्कको एफपीओमा छिटोमा असार १९ गते र त्यस मितिसम्म सबै बिक्री नभएमा साउन १३ गतेससम्म आवेदन गर्न पाइनेछ ।
नेपाल बैङ्कको चुक्ता पुँजी ८ अर्ब ४ करोड रुपैयाँ भएपनि बैङ्कबाट सरकारको स्वामित्व घटाउन थप निष्कासन गरेको हो । एफपीओपछि बैङ्कमा सरकारी स्वामित्व ६२ प्रतिशतबाट घटेर ५१ प्रतिशत हुनेछ भने सर्वसाधारणको हिस्सा ३८ प्रतिशतबाट बढेर ४९ प्रतिशत पुग्नेछ । एफपीओपछि बैङ्कको चुक्ता पुँजी ९ अर्ब ८१ करोड ११ लाख रुपैयाँ पुग्नेछ भने एफपीओबाट बैङ्कलाई ३ अर्ब १८ करोड रुपैयाँ प्रिमियम प्राप्त हुनेछ । यसले बैङ्कको वित्तीय अवस्था थप मजबुत हुनेछ ।
यसअघि एनएमबिले २ सय ३३ रुपैयाँ प्रिमियमसहित प्रतिकित्ता ३ सय ३३ रुपैयाँमा ल्याएको १ करोड १४ लाख १५ हजार १ सय ६३ कित्ता सेयरमध्ये आधा मात्रै बिक्री भएको छ । जेठ ३० गतेदेखि खुलेको एनएमबिको एफपीओ आगामी असार २८ गतेसम्म खुला रहनेछ । यसअवधिसम्म एनएमबीको एफपीओमा ६६ लाख ३६ हजार कित्ता सेयर बिक्री भएको छ ।
एफपीओको मूल्यकै हाराहारीमा दोस्रो बजारमा सेयर पाइने भएपछि लगानीकर्ता एफपीओको चक्करमा नपरेको बुझ्न सकिन्छ । दोस्रो बजारमा बिहीबार नेपाल बैङ्कको प्रतिकित्ता २ सय ९६ रुपैयाँ र एनएमबिको ३ सय ५१ रुपैयाँमा कारोबार भइरहेको छ ।