बैङ्करहरुले निक्षेपको ब्याजदर नियन्त्रण गर्ने सहमति गरेसँगै पुँजीबजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा चमक देखिएको छ । मङ्गलबार र बुधबार घटेको बजारमा बिहीबार दिउँसो एकाएक वृद्धि सुरु भएको छ । कारोबार सुरु हुँदा बढ्ने सङ्केत गरेको बजार त्यसपछि घटेर नेप्से १२११.३४ अङ्कसम्म झरेको थियो । बजारमा नेपाल बैङ्कर्स सङ्घले ब्याजदर नियन्त्रण गर्ने गरी भएको निर्णय सार्वजनिक भएसँगै बजार माथि चढेको छ ।
सङ्घले केही दिनअघि मात्रै ब्याजदरमा भएको भद्र सहमति हटेको जनाएसँगै ब्याजदर बढाउने होड चलेको थियो । तर, निक्षेपमा ब्याजदर बढेसँगै कर्जाको पनि ब्याजदर बढ्ने भएपछि केन्द्रीय बैङ्क र अर्थ मन्त्रालयले चासो राखेका थिए । अर्थ मन्त्रालय र राष्ट्र बैङ्ककै निर्देशनमा बैङ्कर्स सङ्घ अघि सरेर फेरि ब्याजदरको सीमा कायम गर्ने सहमति गरेको हो । सङ्घको पछिल्लो निर्णयअनुसार यसअघिको बचतमा ८ प्रतिशतको थ्रेसहोल्डलाई घटाएर ७ प्रतिशतमा सिमित गरिएको छ भने मुद्दतीमा भने ११ प्रतिशतकै सीमा कायम गरिएको छ । पछिल्लो निर्णयले संस्थागत निक्षेपकर्तालाई साढे १० प्रतिशतभन्दा बढी ब्याज नदिने र र व्यक्तिगत निक्षेपकर्तालाई मात्रै बढिमा ११ प्रतिशत ब्याज दिने बताइएको छ ।
बैङ्कर्स सङ्घको भद्र सहमतिअनुसार ब्याजदर नियन्त्रण गर्ने खबरसँगै लगानीकर्ता उत्साहित हुँदा बजारमा सकारात्मक प्रभाव परेको छ । आगामी दिनमा ब्याजदर नबढ्ने विश्वासमा लगानीकर्ता सेयर खरिदबिक्रीमा आकर्षित भएको देखिन्छ, जसले गर्दा नेप्से सूचक माथि चढेको छ । मौद्रिक नीतिको पूर्वसन्ध्यामा अर्थ मन्त्रालय र राष्ट्र बैङ्कले नै ब्याजदर घटाउन निर्देशन दिएकाले मौद्रिक नीतिमा ब्याजदर नियन्त्रणमा कुनै विधि अपनाउन सकिने अनुमान गर्न सकिन्छ । खुलाबजार सिद्धान्तअनुसार ब्याजदर निर्धारण भइरहेको र त्यसमा आफूहरुको कुनै भुमिका नरहेको देखाउन यतिबेला केन्द्रीय बैङ्क र अर्थ मन्त्रालयले सङ्घलाई प्रयोग गरेका छन् । बजारमा एकाएक ७ अङ्कको वृद्धि देखिएर १२२५ अङ्कसम्म चढेर कारोबार भइरहेको छ ।