मानसरोवरका लागि अाठ हेलिकप्टर कम्पनीका ११ उडान (फोटोफिचरसहित)

बढी मात्रामा भारतीय पर्यटक आउने सो क्षेत्रमा गत वर्षभन्दा यस पटक यात्रु कम आउँदा उडानको चाप कम भएपनि चहलपहल भने उस्तै रहेको हेलिकप्टर कम्पनीहरुले जनाएका छन् ।

तिब्बतको मानसरोवर पुग्न अघिल्लो वर्षभन्दा कम यात्रु भएपनि यस वर्ष आठ हेलिकप्टर कम्पनीका १० ओटा हेलिकप्टर एक महिनाका लागि हुम्लाको सिमीकोटमा नै आधार क्षेत्र बनाउने भएका छन् ।

बढी मात्रामा भारतीय पर्यटक आउने सो क्षेत्रमा गत वर्षभन्दा यस पटक यात्रु कम आउँदा उडानको चाप कम भएपनि चहलपहल भने उस्तै रहेको हेलिकप्टर कम्पनीहरुले जनाएका छन् ।

कैलाश दर्शन गरे स्वर्ग गइन्छ भन्ने जनविश्वासका साथ मानसरोवरमा हिन्दू धार्मिक पर्यटकहरु बढी आउने गर्छन् । हिन्दू र बौद्ध धर्मावलम्बीहरुको पवित्रस्थलका रुपमा रहेको मानसरोवर, पर्यटकीय गन्तव्य पनि रहेकाले अन्य मुलुकबाट पनि पुग्ने क्रम बढ्दो छ ।

‘अहिलेसम्म अघिल्लो वर्षभन्दा कम बुकिङ भएको छ,’ माउन्टेन हेलिकप्टर प्रालिका महाप्रबन्धक दिल ओलीले भने । तर, सिमीकोटदेखि नेपाल चीन सिमाना हिल्सासम्म यात्रुहरु हेलिकप्टरमार्फत नै जाने भएकाले ८ हेलिकप्टर कम्पनीले सेवा दिइरहेको उनले बताए ।

मानसरोवर जाने मुख्य सिजन जेठ र असार हो । सो क्षेत्रमा जान अहिले दिनहुँ हेलिकप्टर चार्टर हुने गरेका छन् । छिटो पुग्न लाखौं रुपैयाँ खर्च गरेर हेलिकप्टरमार्फत जाने तीर्थ यात्रीको सङ्ख्यामा वृद्धि भएको छ ।

सिमीकोटबाट नेपाल र चीनको हिल्सा नाकासम्म हेलिकोप्टरमा जान सकिन्छ । मानसरोवर जाने तीर्थयात्रीलाई नै लक्ष्य गरी धेरै हेलिकप्टर कम्पनीहरु अहिले सिमीकोट एयरपोर्टमा पुगेका छन् । राजधानीको व्यापार छोडेर आठ ओटा हेलिकप्टर कम्पनी यति बेला मानसरोवरको यात्रामा छन् ।

अहिले दैनिक ११ पटकसम्म उडान भर्ने गरेको ओलीले बताए । ‘यो सिजनमा राम्रो बिजनेस हुन्छ, महाप्रबन्धक ओलीले भने,’ हामीले दुई ओटा हेलिकप्टरबाट सेवा दिइरहेका छौं ।’ सिमीकोटबाट हिल्सा पुग्न १ लाख ४० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म लिने गरेको उनले बताए । हेलिकप्टरको तीव्र प्रतिस्पर्धा भएकाले निश्चित भाडादर भने नभएको उनको भनाइ छ ।

मनाङ एयरका मार्केटिङ प्रमुख रोहन श्रेष्ठले मानसरोवर यात्राका लागि एउटा हेलिकप्टर सिमीकोटमा रहेको बताए । उनले अघिल्लो वर्ष जस्तो यस वर्ष राम्रो व्यापार नभएको जानकारी दिए । व्यापार राम्रो नभएपनि एक दुई महिना आफ्नो हेलिकप्टर उतै रहने बताए ।

तिब्बती भूभागमा पर्ने मानसरोवर चीनबाट सहजै पुग्न सकिन्छ । नेपाल भएर जान भने अहिले हुम्लाको सिमीकोट एकमात्र प्रवेशद्वार हो । २०७२ को भूकम्पअघि नेपालका अन्य नाकाबाट पनि मानसरोवर जाने गरिन्थ्यो ।

सिमीकोटदेखि हिल्सासम्म सेवा दिनेमा माउन्टेन हेलिकप्टर्स, समिट हेलिकप्टर्स, सिम्रिक एयरलाइन्स, हेलि एभरेस्ट, कैलाश हेलिकप्टर, मनाङ एयर, एयर डाइनेष्टिक हेलि सर्भिस तथा अल्टिच्युड एयरका हेलिकप्टर छन् ।