डिसेम्बरभित्र हिमालका प्रोफाइल तयार हुने

‘त्यो प्रोफाइल हेरेपछि नेपालका सबै हिमालको सम्पूर्ण जानकारी पाइन्छ,’ अध्यक्ष लामाले भने, यसले नेपालमा थप पर्यटक भित्र्याउन सहयोग गर्छ ।’ प्रोफाइलबाटै हिमालसम्म कसरी जाने, कहाँबाट जाने, कति दिनमा पुगिने र सुरक्षा अवस्थादेखि कसरी सुरक्षित रुपमा आरोहण गर्ने भन्ने विषयसमेत थाहा हुने अध्यक्ष लामाको भनाइ छ ।

नेपालमा रहेका सम्पूर्ण हिमालहरुको प्रोफाइल तयार भइरहेको छ । नेपालमै पहिलो पटक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा नेपाल पर्वतारोहण सङ्घले तयार पारिरहेको छ ।

२०७० सालबाटै प्रोफाइल बनाउन थालेपनि हालसम्म सकिएको थिएन । पर्वतारोहण सङ्घको नयाँ नेतृत्व आएपछि पुनःकाम सुरु गरिएको सङ्घका अध्यक्ष सन्तवीर लामाले जानकारी दिए । उनले सरकारले आउँदो डिसेम्बरभित्र काम सम्पन गर्ने समयसीमा दिएको बताउँदै आफूहरुले त्यहीअनुसार काम अघि बढाइरहेको बताए ।

‘त्यो प्रोफाइल हेरेपछि नेपालका सबै हिमालको सम्पूर्ण जानकारी पाइन्छ,’ अध्यक्ष लामाले भने, यसले नेपालमा थप पर्यटक भित्र्याउन सहयोग गर्छ ।’ प्रोफाइलबाटै हिमालसम्म कसरी जाने, कहाँबाट जाने, कति दिनमा पुगिने र सुरक्षा अवस्थादेखि कसरी सुरक्षित रुपमा आरोहण गर्ने भन्ने विषयसमेत थाहा हुने अध्यक्ष लामाको भनाइ छ ।

नेपालमा धेरै हिमाल आरोहणका लागि योग्य हुँदाहुँदै पनि प्रचारप्रसार नभएकै कारण ओझेलमा परेकाले यो प्रोफाइल तयार भएपछि सहयोग मिल्ने पर्यटन व्यवसायी निमा नुरु शेर्पाको विश्वास छ । नेपालको पर्यटन क्षेत्रको ठूलो हिस्सा हिमाल आरोहीले ओगटेको बताउँदै सबै हिमालहरु आरोहणका लागि खुल्ला गर्नुपर्ने शेर्पाको भनाइ छ ।

प्रोफाइलमा आरोहणका लागि खुला गरिएका ३२६ र आरोहणको लागि खुला गर्न सम्भव भनी पहिचान भएका १६५ सहित ४९१ ओटा हिमालको जानकारी समेटिने छ । पर्वतारोहण सङ्घलाई संयोजक बनाएर प्रोफाइल तयार पार्न सरकारले छुट्टै समिति समेत बनाएको छ ।

समितिको संयोजकमा सन्तवीर लामा छन् । सदस्यहरुमा सीमाविद बुद्धिनारायण श्रेष्ठ, पर्यटन व्यवसायी निमा नुरु शेर्पा, पूर्व पर्यटन सचिव सुरेशमान श्रेष्ठ, नेपाल पर्वतारोहण सङ्घका महासचिव कुलबहादुर गुरुङ, सचिव टीकाराम गुरुङ, कोषाध्यक्ष सुदर्शन न्यौपाने, केन्द्रीय सदस्य डा हरिप्रसाद श्रेष्ठ, दिपेन्द्र पाण्डे र सञ्जीव पाण्डे, ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपालका अध्यक्ष नवराज दाहाल, नेसनल माउन्टेन गाइड अफ नेपालका अध्यक्ष आङ नोर्बु शेर्पा, सगरमाथा आरोही सङ्घका केन्द्रीय सदस्य शिवबहादुर सापकोटा, सङ्खुवासभा सगरमाथा आरोही सङ्घका महासचिव पासाङ भोटे, नक्सा विज्ञ दीपक शर्मा दाहाल, वातावरण विज्ञ सुस्मिता ढकाल, फोटोग्राफर सुदर्शन कार्की, पर्यटन व्यवसायी सरोज न्यौपाने तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रकाश शर्मा ढकाल छन् ।