प्रत्येक श्रमिकले आफ्नो स्थानीय एजेन्टलाई २० हजार रिङ्गिट तिरेको, कामदारलाई वर्क परमिट र हवाई टिकटका लागि सोमध्ये आधा रकम उक्त एजेन्टले सिन्टिकेटवालालाई बुझाएको एउटा अध्ययनमा फेला परेको छ ।
गृह मन्त्रालयसँग कथित राजनीतिक सम्बन्ध हुँदा एक जना बङ्गलादेशी व्यवसायीले दुई वर्षमा दुई अर्ब रिङ्गिट (मलेसियन मुद्रा) कमाएका छन् । उनले उक्त रकम बङ्गलादेशी कृषि कामदारलाई सिन्डिकेटद्वारा मलेसिया पठाएर आर्जन गरेका हुन् ।
प्रत्येक श्रमिकले आफ्नो स्थानीय एजेन्टलाई २० हजार रिङ्गिट तिरेको, कामदारलाई वर्क परमिट र हवाई टिकटका लागि सोमध्ये आधा रकम उक्त एजेन्टले सिन्टिकेटवालालाई बुझाएको एउटा अध्ययनमा फेला परेको छ ।
सन् २०१६ को अन्त्यदेखि एक लाखभन्दा बढी बङ्गलादेशी श्रमिकलाई यसरी नै मलेसिया पुर्याइएको र अझै एक लाखभन्दा बढी व्यक्ति आफ्नो पालो कुरिरहेको जानकारीमा आएको छ ।
उक्त व्यवसायी जसलाई ‘दातुक सेरी’ पनि भनिन्छ, यो सङ्गठित र ‘वैध’ अर्बौं रिङ्गिट बराबरको मानव तस्करी घोटालाको मास्टरमाइन्ड भएको हाम्रो अध्ययनले देखाएको छ ।
मलेसिया तथा बङ्गलादेश दुवैमा बलियो राजनीतिक प्रभावले बङ्गलादेशबाट केवल १० कम्पनीले मात्र मलेसियाका लागि श्रमिक पठाउन पाउने अधिकारसम्बन्धी २०१६ मा दुवै देशका सरकारबीच भएको एउटा सम्झौतामा हस्ताक्षर गर्न पनि ती व्यवसायीले महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
आखिरमा यो सम्झौताले बङ्ग्लादेशका १ हजार ५ सय भर्ती एजेन्ट बन्द भए । एक स्रोतका अनुसार यसका अतिरिक्त १० ओटा आधिकारिक एजेन्टमध्ये पनि केही त केवल मलेसियामा श्रमिक र उनका सम्बन्धित कम्पनीबीच मध्यस्थता गरेर पैसा कमाउन मात्र रातारात खोलिएका थिए ।
२० हजार रिङ्गिटको महँगो शुल्कका बाबजुद डकुमेन्ट्स बनाउनेदेखि यी कामदारलाई मलेसिया पुर्याउन गरिने पूरा प्रक्रियाका लागि ती एजेन्टलाई प्रतिव्यक्ति दुई हजार रिङ्गिट खर्च हुन्थ्यो ।
सूत्रले भन्यो, ‘दातुक सेरी’ निकै धनी बन्दै गएका छन् । र, उनका निकटका व्यापारिक सहयोगीहरु विलासी जीवन बिताइरहेका छन् । ‘दातुक सेरी’ले यो व्यवसायबाट कमाएको नाफा दुवै देशका राजनीतिज्ञ र सरकारी कर्मचारीहरुलाई पनि बाँड्ने गर्छन् । ४० को उत्तराद्र्धमा लागेका उनले १५ वर्षअघि मलेसियन युवतीसँग विवाह गरेका थिए ।
आफ्नो व्यावसायिक सुरक्षा र ती १० ओटा कम्पनीको हितका लागि उनले एउटा अनलाइन रजिस्ट्रेसन सिस्टम पनि सञ्चालनमा ल्याएका छन् । एसपीपीए नामक उक्त अनलाइन सेवाद्वारा मात्र बङ्गलादेशी कामदारको रजिस्ट्रेसन गर्न मिल्छ ।
एसपीपीए सुरू हुनुभन्दा अघि मलेसियामा आप्रवासी श्रमिक आपूर्ति गर्ने इन्डोनेसिया, भारत, नेपाल, पाकिस्तान तथा म्यानमारसमेत कैयौं स्रोत देशमध्ये बङ्गलादेश मुस्किलले एउटा थियो ।
बेस्टिनेट एसडीएन बीएचडी नामक एक निजी कम्पनीद्वारा सञ्चालित एसपीपीएलाई काम दिने कम्पनीले बङ्गलादेशबाट लिने प्रतिकामदारबापत ३ सय ५ रिङ्गिट तिर्नुपर्छ ।
सूत्रले भन्यो, ‘एसपीपीएअन्तर्गत एकत्रित रकम ती १० ओटा कम्पनीले पठाएका कामदारलाई मलेसियाका सम्बन्धित कम्पनीमा पुर्याएबापत बेस्टिनेटलाई दिइन्छ ।’ अन्य देशबाट कामका लागि मलेसिया जाने कामदारले शुल्कबापत २ हजार ५ सय रिङ्गिट तिर्नुपर्छ ।
क्लाङ उपत्यकामा कैयौं कम्पनीलाई कामदार दिने कन्सल्टेन्सी खोलेर बसेका चिरारा कन्नानले भने, ‘एसपीपीए सुरू हुनुभन्दा अघि बङ्गलादेशी श्रमिक भर्ती गर्न निकै थोरै पैसा लाग्थ्यो ।’
पहिला एक जना कामदारले सातदेखि आठ हजार रिङ्गिट तिरे पुग्ने चिराराले बताए । अहिले भने बङ्गलादेशी श्रमिकले धेरै बिचौलियाको जालोबाट केही राहत पाएको उनको भनाइ छ ।
चिराराले भने, ‘श्रमिकले आफ्ना गाउँका सब एजेन्टलाई २० हजार रिङ्गिट तिर्छन्, त्यसपछि पनि सरकारले तोकेको स्थानीय दलाललाई भेट्नुपूर्व अझै दुई ओटा दलालसँग सामना गर्नुपर्छ ।’ पहिलेका लाइसेन्सधारीहरु अहिलेका दसओटा एजेन्टका सहएजेन्ट बनेको उनले बताए ।
अहिले स्थिति झन्झन् बिग्रँदै छ । किनकि मलेसियामा काम पाउन कामदारले चर्को मूल्य तिरेको थाहा पाएर काम दिने केही कम्पनीहरुले ती एजेन्टसँग कमिसन माग्न थालेका छन् ।
‘काम दिने कुनै कुनै कम्पनीले त प्रत्येक बङग्लादेशी कामदारबापत १ हजार ५ सय रिङ्गिट कमिसन माग्न थालेका छन्,’ चिराराले भने, ‘विदेशी कामदार पठाउने एजेन्सीको प्रतिष्ठा ‘अति कलङ्कित’ बनेको छ ।’
द स्टार अनलाइनमा एलन पेरुमलको लेखको अनौपचारिक अनुवाद ।