कुनै कम्पनीको करोड पुगेन कारोबार, नेप्सेमा दोहोरो अङ्कको झट्का

सोमबार बजार खुलेदेखि घट्न थालेको नेप्सेमा दिनभर घटेरै कारोबार भइरह्यो र अन्तिम समयमा ९.७२ अङ्कले घट्दै १२१०.०९ अङ्कमा सीमित भयो ।

पुँजी बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) करिब दोहोरो अङ्कले घट्दै कारोबार रकम पनि न्यून भएको छ । आइतबार १.३५ अङ्कको वृद्धि कायम राखेर १२१९.८१ अङ्कमा रोकिएको सूचक सोमबार भने करिब दोहोरो अङ्कले झरेको हो । सोमबार बजार खुलेदेखि घट्न थालेको नेप्सेमा दिनभर घटेरै कारोबार भइरह्यो र अन्तिम समयमा ९.७२ अङ्कले घट्दै १२१०.०९ अङ्कमा सीमित भयो । होटल र उत्पादनमूलक तथा प्रशोधन उपसमूह सूचकमा सुधार देखिएपनि नेप्से घट्न नदिने अस्त्र बन्न सकेनन् ।

यो नेप्से परिसूचक २०७४ चैत २० पछिकै न्यून बिन्दु हो । चैत २० मा नेप्से ११९९ अङ्कमा सीमित थियो । तर, करिब २० दिनको अन्तरालमा २ सय ३८ अङ्कले बढेर नेप्से गत वैशाख १० गते १४३८.४९ अङ्कमा चढेको थियो । तर, त्यसपछिको २ महिना थोरै बढ्ने र धेरै घट्ने हुँदै ८० दिन यताकै न्यूनतम बिन्दुमा झरेको हो ।

सोमबार कुनै पनि कम्पनीको कारोबार रकम एक करोड पुगेन । यस दिन सबैभन्दा बढी कारोबार भएको समता माइक्रोफाइनान्सको ८८ लाख ९६ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ । सोमबार ३ हजार २ सय १९ कारोबारबाट ५ लाख ७४ हजार ७ सय ८१ कित्ता सेयर किनबेच भई १८ करोड ५१ लाख ७० हजार रुपैयाँबराबरको कारोबार भएको छ । यो कारोबार रकम आइतबारको भन्दा कम हो । आइतबार २० करोड ९३ लाख ८५ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

यसबीचमा सङ्घीय, प्रदेश र स्थानीय गरी ७ सय ६१ ओटै सरकारका नीति तथा कार्यक्रम र बजेट सार्वजनिक भएपनि बजार टसको मस भएन र निरन्तर गिरावट आइरह्यो । खासगरी सङ्घीय बजेटले ५० प्रतिशत पुँजीगत लाभकर बढाएर ७.५ प्रतिशत पु¥याएको र बजेटपछि हकप्रद तथा बोनस सेयरमा अङ्कित मूल्यमा पुँजीगत लाभकर लगाउने विषयले लगानीकर्ता चिढिएका छन् । १५ दिनको समय दिएर यस सम्बन्धमा अध्ययन गर्न बनेको समितिको निर्णय ३ साता नाघिसक्दा पनि नआएपछि लगानीकर्ता झनै तनावमा छन् । अर्कोतिर बैङ्क तथा वित्तीय संस्थाहरुको ब्याजदरमा देखिएको तीव्र प्रतिस्पर्धा पनि सेयर बजारमा परेको छ । आर्थिक वर्षको अन्त्य भएकाले मार्जिन ऋण तिर्ने समय नजिकिएको र बजार निरन्तर घट्दा त्यसले ऋणीलाई झनै दबाबमा राखेको छ । जसको असर लगानीकर्ता न्यून बिन्दुमै पनि सेयर बेच्नुपर्ने अवस्थामा पुगेका छन् ।

राष्ट्र बैङ्कले मौद्रिक नीति सार्वजनिक गर्ने दिन नजिकिँदै जाँदा ब्याजदरसम्बन्धी नीति कुरेर लगानीकर्ता बसिरहेका छन् । वित्त नीतिले सम्बोधन नभएको विषयमा लगानीकर्ता मौद्रिक नीतिबाट सम्बोधन हुने आशमा छन् । जुन प्रायः सम्भव छैन । त्यस्तै लगानीकर्ताले मार्जिन लेन्डिङको सीमा बढाउने माग गर्दै आएका छन् । त्यसैगरी अनलाइन कारोबार प्रणालीको सहजीकरणमा पनि राष्ट्र बैङ्कको भूमिका लगानीकर्ताले खोजिरहेका छन् ।

नेप्से सूचकसँगै निरन्तर कारोबार रकममा गिरावट देखिएकाले बजारमा अझै सुधार हुने आधार पैदा गरेको छैन । त्यसो त राजनीति तथा आर्थिक रुपले बजार प्रभावित हुने गरी कुनै परिवर्तन भएको छैन, तैपनि निरन्तर कारोबार रकम खस्किनुले बजार अझ घट्ने दिशामा केन्द्रित भएको देखाउँछ ।