सेयर बजार घट्दो ट्रेन्डमा, १५ अङ्कको गिरावट

मङ्गलबार नेप्से १५.२९ अङ्कले झर्दै ११९४.२९ अङ्कमा पुगेको छ । यो झन्डै ३ महिना अघिको बिन्दु हो । यसअघि २०७३ साउन १२ मा नेप्से १८८१.४५ को उच्च अङ्क हासिल गरेपछि बजार घट्दै गएर २०७४ चैत १२ गते ११६८.५५ अङ्कसम्म झरेको थियो । त्यसपछि भने बजार एकाएक उकालो लागेको थियो ।

अन्ततः पुँजी बजार मापक नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) फेरि पुरानो लयमा फर्किएको छ । बजार केही बढ्ने र केही घट्ने गर्दै न्यून बिन्दुतिर सरिक हुँदै गएको छ ।

मङ्गलबार नेप्से १५.२९ अङ्कले झर्दै ११९४.२९ अङ्कमा पुगेको छ । यो झन्डै ३ महिना अघिको बिन्दु हो । यसअघि २०७३ साउन १२ मा नेप्से १८८१.४५ को उच्च अङ्क हासिल गरेपछि बजार घट्दै गएर २०७४ चैत १२ गते ११६८.५५ अङ्कसम्म झरेको थियो । त्यसपछि भने बजार एकाएक उकालो लागेको थियो ।

मङ्गलबारको नेप्से परिसूचक २०७४ चैत २० भन्दा तल झरेर १९ गतेको बिन्दुलाई पछ्याएको छ । भलै त्यसबीचमा ठूलो अन्तर छैन । चैत १९ गते ११९२.९६ अङ्कमा थियो । त्यसयता करिब २० दिनको अन्तरालमा २ सय ३८ अङ्कभन्दा बढीले चढेको नप्से गत बैशाख १० गते १४३८.४९ अङ्कमा पुगेको थियो । तर, त्यसपछिको २ महिना थोरै बढ्ने र धेरै घट्ने हुँदै ११९४.८० बिन्दुमा रोकिएको छ । सेयर बजारका विश्लेषकहरुले बजार केही बढ्ने र केही घट्ने प्रक्रियामा सामेल हुँदै केही समयपछि १ हजार बिन्दुभन्दा तल झर्ने यसअघि नै बताउँदै आएका छन् ।

नेप्सेमा वर्गीकृत १० मध्ये ९ ओटै समूहसूचक ओरालो लागेपछि नेप्सेको घट्ने अन्तर बढेको हो । गत साताका कारोबारमा सामान्य अङ्कले बढ्ने र त्यही अनुपात घट्ने भएपनि सोमबार र मङ्गलबार नेप्से झर्ने क्रम अलि तीव्र देखियो । यसले आगामी दिनमा बजार अझ ओर्लिन सक्ने देखाउँछ । यसअघिको न्यून बिन्दु ११६८ लाई समायो भने बजार निकै तल झर्ने अवस्था आउँछ ।

मङ्गलबार नबिल बैङ्कको संस्थापक सेयर र नेपाल इन्भेस्टमेनट बैङ्कको सेयर कारोबार रकम एक करोडभन्दा बढीदेखिएसँगै कारोबार रकममा सोमबारको तुलनामा बढेको छ । मङ्गलबार ३ हजार ६ सय २३ कारोबारबाट ६ लाख २१ हजार ७ सय ९६ कित्ता सेयर खरिद बिक्री भई २३ करोड १० लाख ३ हजार रुपैयाँबराबरको कारोबार भएको छ । सोमबार कुनै पनि कम्पनीको कारोबार रकम एक करोड पुगेको थिएन भने कारोबार रकम १८ करोड ५१ लाख ७० हजार रुपैयाँमा सीमित भएको थियो ।

खासगरी सङ्घीय बजेटले ५० प्रतिशत पुँजीगत लाभकर बढाएर ७.५ प्रतिशत पु¥याएको र बजेटपछि हकप्रद तथा बोनस सेयरको अङकित मूल्यमा पुँजीगत लाभकर लगाउने विषयले लगानीकर्ता चिढिएका छन् । १५ दिनको समय दिएर यससम्बन्धमा अध्ययन गर्न बनेको समितिको निर्णय ३ साता नाघिसक्दा पनि नआएपछि लगानीकर्ताको मनोबल खस्किएको छ । अर्कोतिर बैङ्क तथा वित्तीय संस्थाहरुको ब्याजदरमा देखिएको तीव्र प्रतिस्पर्धा पनि सेयर बजारमा देखिएको छ । आर्थिक वर्षको अन्त्य र सेयर मूल्य पनि निरन्तर झर्दा बैङकबाट ‘मार्जिन कल’ आउँदा सस्तोमै भएपनि सेयर बेच्नुपर्ने दबाबमा लगानीकर्ता छ ।

सङ्घीय बजेटले लगानीकर्ताको माग सम्बोधन नभएपछि मौद्रिक नीति कुरेर बसेका लगानीकर्ता मौद्रिक नीति सार्वजनिक हुन ढिला भएसँगै अलमलमा छन् । मौद्रिक नीतिसँगै बजार कता जाने भन्ने आकलन गर्न सकिने छ । यद्यपि तत्काल बजार प्रभावित हुने गरी आर्थिक तथा राजनीतिक परिवर्तन आउने कुनै गुञ्जायस नरहेकाले केही समय बजार सुस्त नै रहनेछ । खासगरी निजी क्षेत्रमैत्री गभर्नर भनेर चिनिएका डा चिरञ्जीवी नेपालले सेयर बजार विस्तार हुनुपर्ने आवाज सार्वजनिक फोरमहरुमा राख्ने गरेकाले मौद्रिक नीतिमा आफ्ना कुनै माग सम्बोधन हुन्छ कि भन्ने आशामा लगानीकर्ता छन् । लगानीकर्ताले सेयर धितोको सीमा बढाउन माग गर्दै आएका छन् ।