कारोबार सुरु हुँदा बढ्ने सङ्केतसहित उकालो लागेको बजार अन्तिम समयमा भने घटेर कारोबार भएको छ । यसअघि सोमबार र मङ्गलबार गरी दुई दिनमा नेप्से २५ अङ्कभन्दा बढीले घटेको थियो ।
बुधबार अन्तिम समयमा ४.६२ अङ्कले बढेको सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) साताको अन्तिम दिन भने ०.८८ अङ्कले घटेर ११९८.५४ अङ्कमा रोकिएको छ । कारोबार सुरु हुँदा बढ्ने सङ्केतसहित उकालो लागेको बजार अन्तिम समयमा भने घटेर कारोबार भएको छ । यसअघि सोमबार र मङ्गलबार गरी दुई दिनमा नेप्से २५ अङ्कभन्दा बढीले घटेको थियो ।
बिहीबार नेप्सेमा वर्गीकृत १० समूह सूचकमध्ये ६ सूचक घटेपछि त्यसको छायाँ समग्र सूचकमा परेको हो । यसदिन होटल ७.४८, विकास बैङ्क ३.४३, बिमा १५.६७, उत्पादनमूलक तथा प्रशोधन १६.१२, अन्य २.८६ र लघुवित्त ०.४९ अङ्कले घटेको छ । व्यापार समूहको कारोबार भएपनि सूचकमा कुनै परिवर्तन आएन भने बैङ्किङ ०.७१, जलविद्युत् १.६५, वित्त ३.३३ अङ्कले बढेको छ ।
बिहीबार नेप्से सूचक घटेपनि कारोबार रकम बुधबारको तुलनामा करिब ७ करोड रुपैयाँले बढेको छ । यसदिन ३ हजार ३ सय ६२ कारोबारबाट ११ लाख ४८ हजार ३ सय ६९ कित्ता सेयर खरिद बिक्री भई २४ करोड २९ लाख ८६ हजार रुपैयाँबराबरको कारोबार भएको छ । बुधबार २ हजार ८ सय ४३ कारोबारबाट ५ लाख ८३ हजार ७ सय ३२ कित्ता सेयर खरिद बिक्री भई १७ करोड ३० लाख ७७ हजार रुपैयाँबराबरको कारोबार भएको थियो ।
बिहीबार सोल्टी होटलको २ करोड ३५ लाख ९५ हजार रुपैयाँबराबरको सेयर खरिद बिक्री भएको छ । सोल्टीसहित ३ कम्पनीको कारोबार एक करोड नाघेपछि कारोबार रकममा वृद्धि भएको हो । बुधबार कुनै पनि कम्पनीको सेयर कारोबार १ करोड रुपैयाँ पुगेको थिएन ।