मलाई बिहान शान्त रहन मनपर्छ । मेरा हरेक गतिविधि यसैमा केन्द्रित हुन्छन्, चाहे मलाई मनपर्ने हर्स राइडिङ होस् वा हलुका व्यायाम ।
साताभरि नै करण चौधरीका दिन प्रायः उसै गरी बित्छन् । सधैंझैं । तर, उनले भोग्ने परिस्थितिचाहिँ केही बेग्लै हुन्छन् । ‘बिहान छिट्टै उठ्छु । यसले मलाई दिनभरिको चाँजोपाँजो मिलाउन सजिलो हुन्छ’, उनी भन्छन्, ‘मलाई बिहान शान्त रहन मनपर्छ । मेरा हरेक गतिविधि यसैमा केन्द्रित हुन्छन्, चाहे मलाई मनपर्ने हर्स राइडिङ होस् वा हलुका व्यायाम ।’
उनी सामान्यतया साढे नौ बजे अफिस पुग्छन् । र बेलुकी आठ बजेसम्म अफिसबाट निस्किसक्छन् । ‘त्यसपछि मैले खासै केही गर्दिनँ । किनकि दिनभरको व्यस्तताले थाकिसकेको हुन्छु,’ उनले भने ।
उनको सबैभन्दा महङ्खवपूर्ण सोख हो— घोडचढी । उनलाई अर्काे पनि लत छ । त्यो हो— आफ्नो काम ।
करण जुन कुरामा लाग्छन्, त्यसमै प्रतिबद्ध हुन्छन् । ‘मलाई दुइटा कुराको लत लागेको छ । एउटा, मेरो काम । र अर्को हर्स राइडिङ ।” यसको पनि कारण छ, उनका बाबु अरुण चौधरी पनि हर्स राइडिङका सौखिन थिए । बाबुकै कारण उनमा पनि घोडचढीको सोख पलाएर आएको हो । त्यतिबेला, जहिले उनी भर्खरका अल्लारे ठिटो थिए, जहिले उनका बाबु घोडचढीमा जान्थे । र, उनलाई पनि सिकाउँथे । ‘त्यसैले मैले आफ्नो क्षमता देखाउन कहिलेकाहीँ घोडादौड प्रतियोगितामा भाग लिन्छु,” उनले भने । उनी कारका पनि सौखिन हुन् । ड्राइभिङ भनेपछि हुरुक्कै हुन्छन् उनी । त्यसैले पनि सुजुकी कारको व्यवसायलाई उचाइमा पु¥याउन सजिलो भएको उनको भनाइ छ ।
करणलाई कैहिलेकाहीँ पार्टी अथवा क्लबमा ह्याङ–आउट हुन मन लाग्छ । र हुन्छन् पनि । ‘यो आवश्यक पनि छ, किनकि केही राम्रा सङ्गीत तथा खानपानका अतिरिक्त यसले आत्मालाई पुनर्जीवन दिन्छ,’ उनले भने, ‘तर यस्ता क्रियाकलाप केवल विकेन्डमा मात्र गर्छु ।’
व्यावसायिक घरानियाँ चौधरी परिवारमा जन्मे–हुर्किए उनी । आफ्ना अग्रजहरुले दिएको अमूल्य अनुभवले उनलाई आफू को हुँ भन्ने जानकारी लिन सिकायो । त्यति मात्र होइन, आफ्नो कर्तव्यबारे पनि उनले अग्रजबाटै सिके । त्यसैले त उनी छिट्टै व्यवसायमा हामफाले । सोह्र वर्षको हुँदा मोटर पार्ट्सको व्यवसाय सुरु गरे । उनको कार्यालय सुजुकी सर्भिस सेन्टरमा थियो । ‘त्यहाँ मैले आफ्ना निकै परिश्रमी कर्मचारी साथीसँग मिलेर काम गर्न थालें,’ उनले भने, ‘मैले पहिलो महिनामै आठ लाख रुपैयाँ नाफा गरें, जुन मेरो जीवनकै सबैभन्दा सुखद क्षणमध्ये एक थियो ।’
यसैले त उनलाई अझै बढी कमाउनुपर्छ भन्ने प्रेरणा मिल्यो । ‘त्यसपछि मैले कहिल्यै पछि फर्केर हेरेको छैन,’ उनले भने ।