घट्दो बजारको असर, साताभरिमै मुस्किलले अर्बको कारोबार

बजार बढेका बेला दैनिक एक अर्बभन्दा बढी र दुई अर्ब रुपैयाँको हाराहारी सेयर कारोबार हुने गरेकोमा बजार ओरालो लाग्न थालेसँगै सातामा एक अर्ब रुपैयाँबराबरको कारोबार पुग्न पनि हम्मे हम्मे पर्न थालेको छ ।

सेयर बजार निरन्तर घट्न थालेपछि कारोबार रकममा पनि भारी गिरावट देखिन थालेको छ । बजार बढेका बेला दैनिक एक अर्बभन्दा बढी र दुई अर्ब रुपैयाँको हाराहारी सेयर कारोबार हुने गरेकोमा बजार ओरालो लाग्न थालेसँगै सातामा एक अर्ब रुपैयाँबराबरको कारोबार पुग्न पनि हम्मे हम्मे पर्न थालेको छ ।

सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से)का अनुसार यो साताभर जम्मा १ अर्ब ४ करोड १६ लाख २३ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ । सातामा पाँचै दिन कारोबार भएपनि कारोबार रकम घटेर अर्ब नजिक आइपुगेको हो । यो कारोबार रकम गत साताको १ अर्ब १२ करोड ३१ लाख १ हजारको तुलनामा ७.२५ प्रतिशत कम हो ।

यस साता नेप्सेमा १ सय ८६ कम्पनीका १५ हजार ८ सय ४८ कारोबारबाट ३६ लाख ७९ हजार ६ सय कित्ता सेयर खरिद बिक्री भएका छन् । गत साता १ सय ९० कम्पनीका १७ हजार २ सय २८ कारोबारबाट ४९ लाख ६१ हजार १ सय १० कित्ता सेयर किनबेच भएको थियो ।

गत साता बिहीबार १२१८.४६ अङ्कमा रोकिएको नेप्से सातामा २ दिन बढ्ने र ३ दिन घट्ने हुँदै साताभर १९.९२ अङ्कले झरेर ११९८.५४ बिन्दुमा रोकिएको छ । पछिल्ला दिनहरुमा नेप्से ओरालो लाग्ने क्रम तिव्र र उकालो लाग्दा सामान्य अङ्कको हेरफेर हुने गरेको छ । जसले गर्दा नेप्से सूचक झन् झन् तल झर्दै गएको छ । यसअवधिमा सबै समूह सूचकहरु घटेका कारण नेप्से प्रभावित भएको हो ।

नेप्सेका अनुसार यस साता मेगा बैङ्क कारोबार र सेयर सङ्ख्या तथा रकम तीनै आधारमा अग्रस्थानमा देखिएको छ । मेगाको साताभर ९ सय ९६ कारोबारबाट २ लाख ३६ हजार कित्ता सेयर किनबेच भई ४ करोड १५ लाख ४० हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । त्यसपछि बढी रकम कारोबार गर्नेमा नेपाल इन्भेस्टमेन्ट बैङ्कको ३ करोड १ लाख, स्ट्यान्डर्ड चार्टर्ड बैङ्कको २ करोड ८१ लाख, नबिल बैङ्कको संस्थापक सेयर २ करोड ७० लाख रुपैयाँबराबरको कारोबार भएको छ । साताभर नेपाल ल्युब आयलको ६५ हजार ५ सय ३ कित्ता बोनस सेयर र निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको ४० लाख १ हजार ६ सय ५० कित्ता हकप्रद सेयर सूचीकृत भएका छन् ।