‘अबको समय प्रतिस्पर्धाको हो, जहाज छैन भनेर चुप लागेर बस्न मिल्दैन,’ मन्त्री अधिकारीले भने, ‘निगमलाई जहाजको कमी हुन दिँदैनौं ।’ उनले निगमलाई अघि बढाउने र पछाडि धकेल्ने जिम्मा कर्मचारीहरुकै हातमा रहेको बताए ।
नेपाल वायुसेवा निगम ६० औं वर्षमा प्रवेश गरेको छ । यस हीरक जयन्तीको अवसरमा निगमले आयोजना गरेको कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले नयाँ जहाज किन्न सरकार जमानी बस्न तयार रहेको बताएका छन् ।
‘अबको समय प्रतिस्पर्धाको हो, जहाज छैन भनेर चुप लागेर बस्न मिल्दैन,’ मन्त्री अधिकारीले भने, ‘निगमलाई जहाजको कमी हुन दिँदैनौं ।’ उनले निगमलाई अघि बढाउने र पछाडि धकेल्ने जिम्मा कर्मचारीहरुकै हातमा रहेको बताए । निगम बलियो नभएसम्म नेपालको पर्यटन क्षेत्रको विकास सम्भव नभएको भन्दै उनले त्यसतर्फ सरकार गम्भीर रहेको बताए ।
निगमले गर्नुपर्ने कार्यहरु तथा निर्वाह गर्नुपर्ने भूमिकामा धेरै सुधारको खाँचो रहेको मन्त्री अधिकारीको भनाइ छ । ‘विमान कम्पनीहरुका लागि महत्त्वपूर्ण पक्ष भनेको यात्रुहरुको विश्वास हो,’ मन्त्री अधिकारीले भने, ‘नेपाल वायुसेवा निगमले जसरी सुरक्षालाई प्राथमिकता दिएको छ, त्यसैगरी नियमित र ठीक समयको उडानमा विश्वास आर्जन गर्न सक्नुपर्छ ।’
संस्कृति, पर्यटन नथा नागरिक उड्डयन मन्त्रालयका निमित्त सचिव सुरेश आचार्यले निगमले जहाज खरिदेसँगै ससाना व्यवस्थापनमा पनि ध्यान दिन आवश्यक रहेको बताए । उनले चिनियाँ जहाज लामो समयदेखि त्यत्तिकै थन्किएको बताउँदै त्यसलाई व्यवस्थापनका लागि ध्यान दिन अनुरोध गरेका छन् ।
राज्यमन्त्री धनबहादुर बुढाले भविष्यमा विमान थप गर्दै गन्तव्य विस्तार गरी निगमलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धात्मक रुपमा सञ्चालन गर्न आग्रह गरेका छन् । उनले समयसापेक्ष निगमको गति केही सुस्ताएको देखिए पनि सम्बन्धित सबै क्षेत्रको सहयोगमा पुनः नयाँ गति पैदा गर्ने विश्वास लिएको बताए । हाल भएका विमानस्थलहरुबाट चुस्त, भरपर्दो र नियमित सेवा दिँदै यात्रुहरुको मत जित्ने कुरालाई प्राथमिकता दिन निर्देशन दिएका छन् ।
महाप्रबन्धक सुगतरन्त कंसाकारले निगमको सुधारको लागि सरकारको हस्तक्षेप आवश्यक रहेको बताएका छन् । ’निगमको व्यापार एभियसनको हो, धान चामलको हाइन,’ महाप्रबन्धक कंसाकारले भने, ‘अब सरकारले सडक डिभिजनलाई जसरी लगानी गर्नु प¥यो ।’ उनले यात्रुको सुरक्षाको लागि आफूहरु जस्तोसुकै सम्झौता गर्न तयार रहेको बताउँदै निगममा दक्षकर्मचारीको अभाव रहेको बताए । दुई ओटा नयाँ वाइडबडी जहाज थपिएसँगै निगमको ऋणभार बढेर ३६ अर्ब रुपैयाँ पुगेको छ ।
निगमको आधिकारिक ट्रेड युनियनका अध्यक्ष सुवास डाँगीले वार्षिक उत्सवको अवसरमा दिने गरेको १५ दिनको थप तलब कटौती भएको प्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले निगम नाफामा भएपनि सञ्चित घाटा धेरै रहेको बताए । दु्ई अर्ब घाटा नेपाल सरकारको नीतिगत त्रुटिले भएको बताउँदै सो ऋण सरकारले नै मिलाउनु पर्ने अध्यक्ष डाँगीको तर्क छ ।
कार्यक्रममा निगममा बीस वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई स्वर्णपदक र इन्टर एयरलाइन्स ब्याडमिन्टन प्रतियोगिताका विजयीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।