पर्यटक उद्धारमा ठगीः छानबिन समितिले काट्यो १४ ट्राभललाई पत्र

‘हामीले सूक्ष्म रुपमा छानबिन गरिरहेका छौं, त्यसैले अझै केही समय लाग्छ,’ उपाध्यायले भने, ‘हामीले हेलिकप्टर कम्पनीसँग सम्पूर्ण विवरण मागिसकेका छौं, अब ट्राभल र अस्पतालको विवरण आएपछि एक चरणको प्रक्रिया पूरा हुनेछ ।’

विदेशी पर्यटकलाई नक्कली उद्धार गरी ठगी गरिरहेको विषयमा छानबिन गर्न बनेको छानबिन समितिले अनुसन्धान पूरा नभएको भन्दै सरकारलाई प्रतिवेदन बुझाउन थप समय माग गरेको छ ।

नेपाल आउने विदेशी पर्यटकलाई पदयात्राका क्रममा बिरामीको अवस्थामा उद्धार गरेर उपचार गर्ने नाममा ठगिररहेको भन्ने व्यापक गुनासोपछि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले छानबिन गर्न छानबिन समिति बनाएको थियो । मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेर असार १५ भित्र प्रतिवेदन मन्त्रालयमा बुझाउन निर्देशन दिएपछि छानबिनको दायरा बढ्दै गएकाले समय लाग्ने संयोजक उपाध्यायले बताए ।

‘हामीले सूक्ष्म रुपमा छानबिन गरिरहेका छौं, त्यसैले अझै केही समय लाग्छ,’ उपाध्यायले भने, ‘हामीले हेलिकप्टर कम्पनीसँग सम्पूर्ण विवरण मागिसकेका छौं, अब ट्राभल र अस्पतालको विवरण आएपछि एक चरणको प्रक्रिया पूरा हुनेछ ।’

छानबिन समितिले विदेशी पर्यटकलाई उद्धार गरेको सम्पूर्ण जानकारीसहित विवरण पठाउन चौध ट्राभल एजेन्सीलाई पत्र काटेको छ । समितिले फ्लाइट कनेक्सन प्रालि, कैलाश चार्टर एन्ड रेस्क्यु सर्भिस, सेभेन समिट ट्रेक, हिमालयन चार्टर, इजी हेलि चार्टर, हिमालयन सोसल जर्नी ट्रेकिङ, अल्पाइन रेस्क्यु सर्भिस, माउन्टेन रेस्क्यु सर्भिस, नेपाल भिजन ट्रेक एन्ड एक्पेडिसन, एडभेन्चर एसिया ट्राभल एन्ड एक्पेडिसन, माउन्टेन हेलि चार्टर सर्भिस, इगल हेलि चार्टर सर्भिस, सिम्रिक रियल नेपाल ट्रेक एन्ड एक्सपेडिसन, सन्नी ट्राभल सर्भिसलाई पत्र काटेर ३ दिनभित्र सम्पूर्ण विवरण माग गरेको हो ।

यसैगरी बयोधा अस्पताल, सिवेक क्लिनिक, इरा हेल्थ सेन्टर, मेडिसिटि अस्पताल, ग्राण्डी अस्पताल र स्वाकन अस्पतालसँग पनि रोगको प्रकृति र उपचार पद्धतिको विवरण माग गरिएको छ ।

समितिले असार ११ गते पत्र काटेपनि आइतबारसम्म कुनै पनि ट्राभल एजेन्सीले विवरण उपलब्ध नगराएको समितिले जनाएको छ ।