सरकार बन्ने किचलो र भ्याटको त्रास सेयर बजारमा

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्ष र समानुपातिकतर्फ सबै परिणाम आइसके पनि सरकार निर्माणका सम्बन्धमा प्रमुख दलहरुको मत बाझिँदाको असर नेप्सेमा परेको छ ।

आइतबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ११.०१ अङ्कले घटेर १५०९.१४ बिन्दुमा बन्द भएको छ । गत बुधबार नेप्से १५२०.७४ अङ्कमा थियो । बजारमा कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से अन्तिमसम्मै निरन्तर ओराले लागेको छ । गत मङ्सिर १० र २१ गते निर्वाचनको परिणाममा वामपन्थी गठबन्धनले अग्रता लिइरहँदा पनि खासै दबाब महसुस नगरेको नेप्से आइतबार भने दोहोरो अङ्कमा घटेको छ । वाम गठबन्धनका दुई नेता केपी शर्मा ओली र पुष्पकमल दाहालले पत्रकार सम्मेलनमार्फत आफ्ना धारणा सार्वजनिक गर्ने जानकारी बाहिर आएसँगै बजारमा सुधारको सङ्केत देखिए पनि त्यसले थेग्न भने सकेन ।

खासगरी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्ष र समानुपातिकतर्फ सबै परिणाम आइसके पनि सरकार निर्माणका सम्बन्धमा प्रमुख दलहरुको मत बाझिँदाको असर नेप्सेमा परेको छ । सरकारले राष्ट्रियसभा गठन नभई आफू नबाहिरिने बताएको छ भने प्रमुख विपक्षी पार्टीले राष्ट्रियसभा गठन हुनु र नहुनुले सरकार निर्माणमा कुनै अर्थ नराख्ने बताउँदै आएको छ । यसले सरकार नबनी राजनीतिक सङ्क्रमण लम्बिने त होइन भन्ने आशङ्का लगानीकर्ताहरुमा रहेको देखिन्छ ।

त्यस्तै, केही दिनयता सेयर दलालले प्राप्त गर्ने कमिसनमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णयको विरोधमा दलाल र लगानीकर्ता देखिएपछि त्यसको चाप पनि सेयर बजारमा परेको छ । गत साता सेयर दलाल र विभिन्न लगानीकर्ता सङ्घहरुले संयुक्त रूपमा सेयर बजारलाई भ्याटमुक्त गर्न माग गर्दै सरकारलाई आफ्नो निर्णयबाट पछि हट्न ‘अल्टिमेटम’ नै दिएका थिए ।

आइतबार कारोबार भएका होटल, उत्पादनमूलक र अन्य समूहको परिसूचक सामान्य बढे पनि बैङ्किङ, व्यापार, विकास बैङ्क, जलविद्युत्, वित्त, बिमा र लघुवित्त परिसूचक भने घटेको छ । यस दिन ५ हजार २ सय ७ कारोबारबाट ११ लाख ६ हजार ३९ कित्ता सेयर किनबेच भई ५१ करोड १२ लाख १२ हजार १ सय ९२ रुपैयाँको कारोबार भएको छ । आइतबार नेपाल ग्रामीण विकास बैङ्कको सबैभन्दा बढी ६ करोड ५४ लाख ५ हजार ६ सय ४६ रुपैयाँको सेयर किनबेच भएको छ ।

यसैबीच गत आर्थिक वर्षको नाफाबाट कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैङ्कले २१.२१२१ प्रतिशत बोनस सेयर घोषणा गरेको छ । हाल कालिकाको ८ करोड २५ लाख रुपैयाँ चुक्ता पुँजी छ । त्यस्तै पुस २३ मा बोलाएको साधारणसभा प्रयोजनका लागि सूर्योदय लघुवित्त वित्तीय संस्थाले पुस ८ देखि २२ सम्म बुक क्लोजको मिति सार्वजनिक गरेको छ । यसैगरी नेरुडे लघुवित्त विकास बैङ्कले पनि साधारणसभा प्रयोजनका लागि पुस ९ देखि २९ सम्म बुक क्लोज गर्ने जनाएको छ । त्यसैगरी डिप्रोक्स लघुवित्त लघुवित्त विकास बैङ्कले घोषणा गरेको १६ प्रतिशत बोनस सेयर र १५ प्रतिशत लाभांश वितरण गर्न नेपाल राष्ट्र बैङ्कले स्वीकृति दिएको छ ।