दैनिक ६ हजार टन सिमेन्ट उत्पादन थाल्ने उद्देश्यसहित स्थापना भएको होङ्सी शिवम् सिमेन्टले उत्पादन थाल्ने अन्तिम तयारी गरेको छ । उद्योगको सबै संरचना तयार भइसकेकाले आउँदो ३ महिनाभित्र आफ्नो उत्पादन बजारमा पठाउने कम्पनीले जानकारी दिएको छ । चीनको होङसी होल्डिङ ग्रुप र नेपालको शिवम् होल्डिङको संयुक्त लगानीमा स्थापना भएको उद्योगले २०१८ को मार्च अन्तिम सातादेखि नै आफ्नो उत्पादन...
दैनिक ६ हजार टन सिमेन्ट उत्पादन थाल्ने उद्देश्यसहित स्थापना भएको होङ्सी शिवम् सिमेन्टले उत्पादन थाल्ने अन्तिम तयारी गरेको छ । उद्योगको सबै संरचना तयार भइसकेकाले आउँदो ३ महिनाभित्र आफ्नो उत्पादन बजारमा पठाउने कम्पनीले जानकारी दिएको छ ।
चीनको होङसी होल्डिङ ग्रुप र नेपालको शिवम् होल्डिङको संयुक्त लगानीमा स्थापना भएको उद्योगले २०१८ को मार्च अन्तिम सातादेखि नै आफ्नो उत्पादन बजारमा पठाउने तयारी गरेको हो । होङ्सीले लाओस, म्यानमार, इन्डोनेशिया लगायतका देशमा सिमेन्ट उत्पादन सुरु गर्दै आइरहेको छ ।
शिवम् होल्डिङका शिवरतन शारडाले निर्माणको सबै काम सकिएर अहिले उत्पादनको तयारी गरिरहेको बताए । ‘हामीले स्थापना गर्दा उत्पादनको जुन लक्ष्य लिएका थियौं त्यहि लक्ष्यअनुसार नै उत्पादन हुन लागेको छ,’ उनले भने । एक महिनाभित्र परीक्षण उत्पादन हुने र तीन महिनाभित्र व्यावसायिक उत्पादन हुने उनले बताए ।
नेपालको सबैभन्दा बढी उत्पादन क्षमता भएको यस सिमेन्ट उद्योगमा चिनियाँ मोडल अनुसार काम गरेकाले नै समयसीमाभित्र उत्पादन गर्न सकिएको हो । नवलपरासीको सर्दीमा स्थापना भएको उद्योगका लागि ६ सय ५० भन्दा बढी कामदारले दिन र रात सिफ्टअनुसार काम गरिरहेका छन् । ३ सय ५० चिनियाँ र ३ सय जना नेपाली कामदारले संयुक्त रुपमा चौबिसै घण्टा काम गरिरहेका छन् । २०७३ बैशाखदेखि निर्माण सुरु भएको उद्योगले १८ महिनामा संरचना तयार गरेर उत्पादनको लागि तयारी थालेको हो ।
पहिलो चरणका लागि ३६ अर्ब रुपैयाँमा स्थापना भएको उद्योगमा ७० प्रतिशत चिनियाँ र ३० प्रतिशत नेपालीको लगानी छ । २ सय बिघामा स्थापना भएको उद्योगले दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्नेछ । उत्पादन सुरु भएको ४ वर्षपछि यसको उत्पादन क्षमता दैनिक १२ हजार टन पुर्याउने लक्ष्य छ । उत्पादन क्षमता बढाउँदा करिब ५२ अर्ब लगानी हुने कम्पनीले जनाएको छ । यही कम्पनीले बजारको ३५ प्रतिशत माग पूरा गर्ने क्षमता राखेको शारडाले जानकारी दिए ।
१८ महिनामा नै उत्पादन थाल्नेगरी मुलुककै सबैभन्दा ठूलो सिमेन्ट उद्योगले आप्mनै सूत्र बनाएर काम गरेको शारडाको भनाइ छ । ‘कतिपय अवस्थामा सरकारी काम अघि नबढ्दा पनि साइटमा निर्माणको काम भैरहेको थियो,’ उनले भने । लगानी बोर्डले पनि समयमै काम गरिदिएकाले छिटो सम्भव भएको उनले बताए । चिनियाँ कामदारसँग हाम्रा कामदारले संयुक्त रुपमा काम गर्दा पनि छिटो बन्यो, उनीहरु टार्गेट राखेर काम गर्ने र त्यहि योजनामा हिँड्ने भएकाले छोटो समयमा ठूलो उद्योगको काम सकिएको हो, उनले भने ।
उद्योगमा ओपीसी र पीपीसी सिमेन्टका साथै क्लिंकर उत्पादन हुनेछ । सिमेन्ट उत्पादनका लागि उद्योगले सर्दीबाट २८ किलोमिटर उत्तर पाल्पामा रहेको चुनढुंगा प्रयोग गर्नेछ । उद्योगमा प्रत्यक्ष दुई हजार व्यक्तिले रोजगारी पाउने कम्पनीले जनाएको छ । उद्योगका लागि नवलपरासीको दुम्कीवासदेखि छत्रेडाँडासम्म १४ किलोमिटर बाटो निर्माण भैसकेको छ । उद्योगमा थर्मल प्लान्टमार्फत १२ मेगावाट बिजुली उत्पादनसमेत हुने कम्पनीले जनाएको छ ।
गत भदौमा लगानी बोर्ड र होङ्सी शिवम् सिमेन्टबीच परियोजना लगानी सम्झौता (पीआईए) भएको थियो ।