तामाकोसीको सेयर भर्ने मिति सर्दै

‘स्थानीयहरुको मागप्रति हामी गम्भीर छौं,’ प्रवक्ता न्यौपानेले भने, ‘सेयर भर्ने मिति सर्न सक्छ ।’ धितोपत्र बोर्डले स्वीकृति दिएको ३ महिनाभित्र सेयर जारी गर्नुपर्ने भएकाले सम्भवतः साउनसम्मका लागि स्थगित हुनेमा आफूहरु विश्वस्त रहेको न्यौपानेले बताए ।

चौतर्फी विरोधपछि माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सेयर भर्ने मिति सर्ने भएको छ । अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडले स्थानीयबासीका लागि असार २४ गतेदेखि सेयर बिक्री खुला गरेको थियो । ४ सय ५६ मेगावाटको तामाकोसी आयोजनाले स्थानीयबासीका लागि १ करोड ५ लाख ९० हजार कित्ता सेयर निष्कासन गरेको हो ।

तामाकोसी आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले आज धितोपत्र बोर्ड र इस्यु म्यानेजरसँग भेट गरी समय सार्न छलफल गर्ने बताए । ‘स्थानीयहरुको मागप्रति हामी गम्भीर छौं,’ प्रवक्ता न्यौपानेले भने, ‘सेयर भर्ने मिति सर्न सक्छ ।’ धितोपत्र बोर्डले स्वीकृति दिएको ३ महिनाभित्र सेयर जारी गर्नुपर्ने भएकाले सम्भवतः साउनसम्मका लागि स्थगित हुनेमा आफूहरु विश्वस्त रहेको न्यौपानेले बताए ।

वर्षातको समयमा सेयर भर्न स्थानीयहरु बैङ्कसम्म पुग्न नस्कने भन्दै दोलखाका सांसद शान्ति पाख्रिनले संसदको ध्यानाकर्षण गराएकी थिइन् । उनले खेतिपाती गर्ने समयमा सेयर भर्न जान निकै समस्या हुने र बाढी पहिरोको त्रासले घरबाट निस्कनै समस्या हुने भएकाले तत्कालका लागि मिति सार्न अनुरोध गरेकी थिइन् ।

यस्तै दोलखाका सात ओटै गाउँपालिकाका प्रमुखहरुले वर्षातको समयमा सेयर हाल्न जान स्थानीहरुलाई कठिन हुने बताउँदै तत्काल मिति सार्न अनुरोध गरेका थिए । सयुक्त रुपमा विज्ञप्ति जारी गर्दै, सेयर खुल्नु दोलखालीका लागि खुसीको खबर हो, तर वर्षातको समय भएकाले उपयुक्त समय नभएको विज्ञप्तिमा भनिएको छ ।