मर्चेन्ट बैङ्कले नाफा मात्रै हेर्नुहुँदैन : बोर्ड अध्यक्ष कार्की

तत्कालीन एनआईडीसी क्यापिटल मार्केट सनराइज बैङ्कमा गाभिएपछि एनआईडीसीको सहायक कम्पनी एनसीएम मर्चेन्ट पनि सनराइज क्यापिटलमा रूपान्तरित भएको छ । २५ वर्षे अवधिमा सनराइज क्यापिटलले ८२ ओटा कम्पनीको प्राथमिक सेयर र ७७ कम्पनीको हकप्रद सेयर बिक्री गराएको छ । त्यसैगरी ३५ कम्पनीका सार्वजनिक निष्कासनमा प्रत्याभूतिकर्ताको भूमिका खेलेको सनराइजले हाल १२ कम्पनीको सेयर रजिस्ट्रारको काम गरिरहेको छ ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले मर्चेन्ट बैङ्कहरुले केवल नाफा कमाउन मात्रै काम गर्न नहुने बताएका छन् । सनराइज क्यापिटलको रजत जयन्तीका अवसरमा अध्यक्ष कार्कीले सीमित समयको नाफा मात्रै हेर्नुभन्दा पनि आफ्नो उद्देश्यअनुरुप काम गर्न निर्देशन दिएका छन् । पछिल्लो समयमा सामूहिक लगानी कोष सञ्चालन गरिरहेका मर्चेन्ट बैङ्कहरुले सेयरमा लगानी नगरी बैङ्कमा मुद्दती निक्षेप राखेर बढी फाइदा लिइरहेको आरोप लागिरहेको छ ।

कार्यक्रममा प्राथमिक र दोस्रो बजार मर्चेन्ट बैङ्कले सुधार्नुपर्ने पनि उनले बताए । ‘प्राथमिक बजार सुधारका साथै दोस्रो बजारलाई टेवा दिने किसिमका काम गर्न मर्चेन्ट बैङ्कले गर्नुपर्छ,’ उनले भने, ‘मर्चेन्ट बैङ्कहरुले मार्केट मेकरको भूमिका पनि निर्वाह गर्नुपर्छ ।’ तर उनले मर्चेन्ट बैङ्कहरुले के गरेर प्राथमिक तथा दोस्रो बजार सुधार हुन्छ भन्नेबारे केही बोलेनन् ।

मूल कम्पनी एकआपसमा मर्ज हुँदा भगिनी संस्थाका रुपमा कार्य गर्ने मर्चेन्ट बैङ्क पनि मर्जमा जानैपर्ने अध्यक्ष कार्कीले बताए । त्यसका लागि कार्यविधि बनाउने काम भइरहेको र यसअघि पनि यस्तो अभ्यास सुरु भइसकेको उनले दाबी गरे । उक्त अवसरमा उनले ‘क्लोज इन्डेड’ फन्डसँगै चाँडै नै ‘ओपन इन्डेड’ सामूहिक लगानी कोष अनुमति दिने तयारी भएको बताए । सेयर बजारलाई देशव्यापी बनाउन बोर्डले अझै प्रयास जारी राखेको भन्दै उनले जुम्ला जस्तो ठाउँमा पनि ४ सयभन्दा बढी डिम्याट खाता खुलेका सेयर बजारको विस्तार गाउँगाउँसम्म भएको दाबी गरे ।

तत्कालीन एनआईडीसी क्यापिटल मार्केट सनराइज बैङ्कमा गाभिएपछि एनआईडीसीको सहायक कम्पनी एनसीएम मर्चेन्ट पनि सनराइज क्यापिटलमा रूपान्तरित भएको छ । २५ वर्षे अवधिमा सनराइज क्यापिटलले ८२ ओटा कम्पनीको प्राथमिक सेयर र ७७ कम्पनीको हकप्रद सेयर बिक्री गराएको छ । त्यसैगरी ३५ कम्पनीका सार्वजनिक निष्कासनमा प्रत्याभूतिकर्ताको भूमिका खेलेको सनराइजले हाल १२ कम्पनीको सेयर रजिस्ट्रारको काम गरिरहेको छ । धितोपत्र बोर्डबाट सनराइज म्युचुअल फन्ड स्वीकृति आएसँगै सार्वजनिक निष्कासनमा ल्याइने क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले जानकारी दिए ।