सूचीकृत कम्पनीभन्दा म्युचुअल फन्डका लगानीकर्तालाई बढी घाटा

म्युचुअल फन्डको प्रतिएकाइ मूल्य १० रुपैयाँ हो । नेप्से परिसूचक जति नै ओरालो लागे पनि सामान्यतया सूचीकृत कम्पनीहरुको मूल्य अपवादबाहेक अङ्कित मूल्यभन्दा तल झरेको छैन ।

निरन्तर घटिरहेको सेयर बजारमा सबैभन्दा बढी घाटा सामूहिक लगानी कोष (म्युचुअल फन्ड)का लगानीकर्तालाई भएको छ । एकातिर बजारमा अङ्कित मूल्यभन्दा तल कारोबार भइरहेको छ भने अर्कोतिर म्युचुअल फन्डको आम्दानी घट्दा लगानीकर्ताले लाभांश पनि नपाउने स्थिति देखिएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधवारसम्म नौ ओटा म्युचुअल फन्डको बजार मूल्य प्रति एकाइ १० रुपैयाँभन्दा कम छ । म्युचुअल फन्डको प्रति एकाइ मूल्य १० रुपैयाँ हो । नेप्से परिसूचक जति नै ओरालो लागे पनि सामान्यतया सूचीकृत कम्पनीहरुको मूल्य अपवादबाहेक अङ्कित मूल्यभन्दा तल झरेको छैन । जसबाट म्युचुअल फन्डका लगानीकर्तालाई ठूलै घाटा लागेको प्रस्ट हुन्छ ।

सूचीकृत कम्पनीमध्ये नेसनल हाइड्रोपावर कम्पनीको मात्र बजार मूल्य अङ्कित मूल्यभन्दा तल झरेको छ । हाल कम्पनीको बजार मूल्य ८१ रुपैयाँ छ । जेबिल्स फाइनान्सको बजार मूल्य हाल १ सय ६ रुपैयाँ छ । जुन कम्पनीको बजार मूल्य अङ्कित मूल्यको नजिक भएपनि तल घटेको छैन । सूचीकृत कम्पनीहरुको अङ्कित मूल्य सय रुपैयाँ हो ।

२०७३ भदौमा १८८१.७५ अङ्कमा पुगेर ओरालो लागेको बजार यो वा त्यो बहानामा निरन्तर झरिरहेको छ र त्यसको असर सामान्य वर्गमा पर्न थालेको छ । खासगरी सेयर बजारमा लगानी गर्न नसक्ने र जोखिम कम लिन चाहने लगानीकर्ताका लागि उपयुक्त भनिएको म्युचुअल फन्ड झनै बढी प्रत्युत्पादक बन्ने सम्भावना बढेको छ ।

हाल नेप्सेमा सूचीकृत १३ म्युचुअल फन्डमध्ये ७५ करोड रुपैयाँको एक मात्र एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्डको मूल्य ११ रुपैयाँभन्दा माथि छ । एनएमबी सुलभको बजार मूल्य हाल प्रति एकाइ ११ रुपैयाँ १० पैसा छ । यस्तै, ५० करोड रुपैयाँको लक्ष्मी भ्यालु फन्डको प्रति एकाइ मूल्य १० रुपैयाँ ४५ पैसा, ७५ करोडको एनआईबीएल समृद्धि फन्डको प्रति एकाइ मूल्य १० रुपैयाँ २० पैसा र १ अर्ब रुपैयाँको सिद्धार्थ इक्विटी ओरिएन्टेड स्किमको प्रति एकाइ मूल्य १० रुपैयाँ ९० पैसा छ ।

सबैभन्दा बढी घाटा खाने म्युचुअल फन्डका लगानीकर्ता ७५ करोड रुपैयाँको एनआईबीएल प्रगति फन्डका छन् । एनआईबीएल प्रगतिको प्रति एकाइ अङ्कित मूल्यमा २० प्रतिशतभन्दा बढीले गिरावट आएको छ । बजारमा यसको मूल्य प्रति एकाइ ७ रुपैयाँ ९५ पैसा छ ।

त्यसैगरी ५० करोड रुपैयाँको लक्ष्मी इक्विटी फन्डको बजार मूल्य प्रति एकाइ ८ रुपैयाँ १४ पैसा छ । यस्तै, १ अर्ब रुपैयाँको ग्लोबल आइएमई सम्मुन्नति स्किमको बजार मूल्य प्रति एकाइ ८ रुपैयाँ २९ पैसा, १० अर्ब रुपैयाँको एनएमबी हाईब्रिड फन्डको मूल्य ८ रुपैयाँ ८५ पैसा प्रति एकाइ छ । त्यसैगरी २५ करोड रुपैयाँको नबिल इक्विटी फन्डको मूल्य ८ रुपैयाँ ८७ पैसा, ८२ करोड रुपैयाँको सिटिजन म्युचुअल फन्डको मूल्य ९ रुपैयाँ ७ पैसा, १ अर्ब ३० करोड रुपैयाँको सानिमा इक्विटी फन्डको मूल्य ९ रुपैयाँ १० पैसा र १ अर्ब रुपैयाँको सिद्धार्थ इक्विटी फन्डको मूल्य ९ रुपैयाँ १० पैसा कायम छ ।

कर्जामा बैङ्कको ब्याजदर वृद्धि, केन्द्रीय बैङ्कले मार्जिन कर्जामा गरेको कडाइ, सरकारका विभिन्न निकायबाट आएका विवादास्पद अभिव्यक्ति तथा नीति, आर्थिक वर्षको समाप्ति, पुँजी वृद्धिपछि सूचीकृत कम्पनीहरुको सेयर आपूर्तिमा भएको वृद्धि, जलविद्युत् क्षेत्रबाट प्राथमिक सेयर निष्कासनमा चाप, बजार घट्दै जाँदा लगानीकर्तालाई ऋण तिर्न बैङ्कहरुको ताकेताजस्ता कारणले सेयर बजार दिनप्रतिदिन झरिरहेको छ । यसको प्रत्यक्ष असर म्युचुअल फन्डका लगानीकर्तामा परेको छ ।