पर्यटकीय क्षेत्रमा सौर्यबत्ती जडान

वडा कार्यालयको एक लाख रूपैयाँभन्दा बढीको सहयोगमा सौर्यबत्ती जडान गरिएको हो । सौर्यबत्ती जडानका लागि पोल गाड्ने, सौर्य प्यानल जडान र बत्ति राख्ने कार्य पूरा गरिएको वडाध्यक्ष रमेशबहादुर ऐरले बताए ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ९ स्थित धार्मिक पर्यटकीय क्षेत्र मुड्कामा सौर्यबत्ती जडान गरिएको छ ।

वडा कार्यालयको एक लाख रूपैयाँभन्दा बढीको सहयोगमा सौर्यबत्ती जडान गरिएको हो । सौर्यबत्ती जडानका लागि पोल गाड्ने, सौर्य प्यानल जडान र बत्ति राख्ने कार्य पूरा गरिएको वडाध्यक्ष रमेशबहादुर ऐरले बताए ।

‘बत्तीको व्यवस्था नहुँदा यहाँ घुम्न पुग्ने पर्यटकले सास्ती खेप्नुपरेकाले बत्तिको अभाव पूर्ति गर्न वडा कार्यालयकै रकम खर्चेर बत्ती जडान गरेका छौँ,’ अध्यक्ष ऐरले भने, ‘पौराणिककालदेखि धार्मिक क्षेत्रका रुपमा पहिचान कायम राखेको यस क्षेत्रसम्म पुग्नका लागि सडक, यातायात, विद्युत् र पर्यटकलाई बस्नका लागि सुविधायुक्त होटल र धर्मशाला नहुँदा पर्यटकले सास्ती खेप्दै आएका छन् ।’ चारैतिर हरियो सालको वनले घेरिएको मुड्कामा टिनको छाना भएको सामान्य धर्मशाला, नेपाल पर्यटन बोर्ड र स्थानीय सामुदायिक वनको आठ लाख रूपैयाँको लगानीमा मन्दिरबाहेकका अन्य भौतिक पूर्वाधार यस क्षेत्रमा छैन ।

प्राचीनकालमा पहाडबाट झर्ने व्यक्तिले ताल भएको क्षेत्र नजिकैको थुम्कोमा मन्दिर स्थापना गरी पूजा गर्दै आएपछि यो क्षेत्र अन्य समुदायका व्यक्तिका लागि पनि धार्मिक धरोहरका रुपमा विकसित हुँदै गएको हो ।

यसैगरी वडाका दश स्थानमा समेत सौर्यबत्ती जडानको कार्य भइरहेको छ । सार्वजनिक स्थान, सडक चौराह र विद्यालय नजिकका स्थानमा सौर्यबत्ती जडानको कार्य भइरहेको अध्यक्ष ऐरको भनाइ छ । सौर्यबत्ती जडानका लागि वडाको पाँच लाख र पाँच लाख अनुदान गरी १० लाख रूपैयाँको बजेट परिचालन गरिएको छ । रासस