साताको पहिलो दिन नेप्से स्थिर, कारोबार रकममा सुधार

नेप्सेमा आज सबैभन्दा बढी आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयरमा ९ दशमलव ९० प्रतिशतले वृद्धि भएको छ । यस्तै सबैभन्दा कम कारोबार युनाइटेड मोदी हाइड्रोपावरको सेयरमा ६ दशमलव ७ प्रतिशतले गिरावट आएको छ ।

साताको पहिलो दिन आइतबार सेयर बजार मापक नेपाल स्टक परिसूचक (नेप्से) बढ्ने सङ्केतका साथ सुरु भएको बजार स्थिर अवस्थामा रोकिएको छ । एक हजार दुई सय २४ दशमलव ४२ अङ्कबाट सुरु भएको बजार शून्य दशमलव २७ अङ्कले घट्दै एक हजार २ सय २४ दशमलव ३९ अङ्क कायम भएको छ ।

आइतबार कारोबार सुरु भएदेखि नै बढ्न थालेको नेप्से १६ अङ्क बढेपछि घट्न थाल्यो । तर, तीव्र गतिमा घटबढ भएको दिन आज बजार बढेको अवस्थामा नै कारोबार सुरु भएको बिन्दुमा आएर फेरि १२ अङ्क बढेर घट्न थालेको बजार शून्य दशमलव २७ अङ्क घटेर कारोबार बन्द भएको हो ।
यस दिन नेप्सेमा ६ हजार ५ सय ९५ कारोबारबाट १२ लाख ४१ हजार ६ सय ३१ कित्ता सेयर किनबेच भई ४८ करोड २३ लाख ५२ हजार ४ सय ९ रुपैयाँबराबरको कारोबार भएको छ । जुन गत साताको बिहीबारको तुलनामा ३ करोड रुपैयाँ बढी हो ।

नेप्सेमा बिहीबार ६ हजार ६ सय २४ कारोबारबाट १२ लाख १ हजार ४ सय ३३ कित्ता सेयर किनबेच भई ४६ करोड १८ हजार ६ सय ३० रुपैयाँबराबरको कारोबार भई ३६ दशमलव १ अङ्कको सुधार भएको थियो ।

नेप्सेमा वर्गीकृत सबै १० समूहको कारोबार भएको दिन आज ४ समूहबाहेक सबै समूहमा गिरावट आएको छ । नेप्सेमा सामान्य गिरावट आए पनि होटल समूहमा ४१ दशमलव ९९, उत्पादनमूलकमा ३० दशमलव ९५, बैङ्किङमा २ दशमलव ३३ र अन्यमा १ दशमलव ३५ अङ्कले बढेको छ ।
यस्तै, सबैभन्दा बढी बीमामा २३ दशमलव ८९, लघुवित्तमा १९ दशमलव ५२ र जलविद्युत्मा १७ दशमलव ७४ अङ्कले गिरावट आएको छ भने फाइनान्समा ४ दशमलव ४२, व्यापारमा २ दशमलव ७९ र विकास बैङ्कमा २ दशमलव २८ अङ्कले गिरावट आएको छ ।

नेप्सेमा आज सबैभन्दा बढी आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयरमा ९ दशमलव ९० प्रतिशतले वृद्धि भएको छ । यस्तै सबैभन्दा कम कारोबार युनाइटेड मोदी हाइड्रोपावरको सेयरमा ६ दशमलव ७ प्रतिशतले गिरावट आएको छ ।