पर्यटकबाट लिने भनिएको भ्याट अब नलिइने

नेपाल आउने पर्यटकको सङ्ख्या विस्तारै बढिरहेका बेला सरकारले भ्याट लिने निर्णय गर्दा असर पुग्ने भन्दै पर्यटन व्यवसायीले विरोध गर्दै आएका थिए । यसैबीच पर्यटन विभागका महानिर्देशक डन्डुराज घिमिरेले भ्याट बापतको शुल्क नलिने बताए ।

अर्थ मन्त्रालयले नेपाल आउने पर्यटकहरुबाट भ्याट लिने भनिए पनि चौतर्फी विरोधपछि नलिने भएको छ । मन्त्रालयले पर्यटन विभागलाई ट्याक्ससँगै भ्याट लिन भनेको थियो ।

नेपाल आउने पर्यटकको सङ्ख्या विस्तारै बढिरहेका बेला सरकारले भ्याट लिने निर्णय गर्दा असर पुग्ने भन्दै पर्यटन व्यवसायीले विरोध गर्दै आएका थिए । यसैबीच पर्यटन विभागका महानिर्देशक डन्डुराज घिमिरेले भ्याट बापतको शुल्क नलिने बताए । ‘भ्याटको विषयमा कुरा उठेको हो’, महानिर्देशक घिमिरेले भने, ‘पर्यटन व्यवसायीसँग छलफल गर्दा तत्कालै लिन हुन्न भन्ने सुझाव आएकाले तत्काल कार्यन्वयन हुँदैन ।’ अर्थमन्त्रालयले नयाँ आर्थिक वर्षबाट भ्याट लिने जनाएको थियो ।

भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको घोषणासँगै उत्साहित बनेका पर्यटन व्यवसायीहरु नेपाल आउने पर्यटकलाई थप भ्याट लिने बताएपछि केही निराश भएका थिए । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का महासचिव आङपेम्बा शेर्पाले नेपाल आउने पर्यटकबाट भ्याट लिने बेला नआएको बताए । ‘नेपाल आउने पर्यटकको सङ्ख्या यसै कमी छ, त्यहीमाथि १३ प्रतिशत भ्याट लगाउने हो भने किन आउँछन् नेपाल ?’ महासचिव शेर्पाले भने, ‘अरु नै देश गइहाल्छन् नि ।’ पर्यटकबाट भ्याट लिनेभन्दा आवश्यक पूर्वधार निर्माणमा सरकारको ध्यान जानुपर्ने शेर्पाको भनाइ छ ।

नेपालभन्दा राम्रा देश थाइल्यान्ड, श्रीलङ्का, सिङ्गापुर लगायतका देशमा पर्यटकबाट भ्याट लिइँदैन । नेपाल आउने अधिकांश पर्यटक हिमाल हेर्नकै लागि आउने गरेको महासचिव शेर्पाको भनाइ छ ।