ओलीको बोलीमा टिकेन बजार

सोमबार एनआईसी एसिया बैङ्कको १ करोड ३३ लाख ८५ हजार १ सय ९५ कित्ता बोनस सेयर, प्रभु इन्स्योरेन्स कम्पनीको ११ लाख ८ हजार ८ सय ४५ कित्ता बोनस सेयर र नागरिक लगानी कोषको १३ लाख २७ हजार ८ सय ४८ कित्ता बोनस सेयर नेप्सेमा सूचीकरण भएको छ ।

नेप्स स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार सामान्य अङ्कले घटेको छ । कारोबारको सुरुवाती समयमा उक्लिँदै गएको बजार मध्यान्तरपछि पुनः खस्किएको हो । दिउँसो १ः४५ मा नेप्से १५१६.८५ अङ्कसम्म पुगे पनि कारोबार बन्द हुँदा आइतबारको भन्दा ०.८९ अङ्कले घटेर १५०८.२५ बिन्दुमा रोकिएको छ । वाम गठबन्धनले स्पष्ट बहुमत ल्याएपछि बजार शिथिल देखिँदै आएको छ । आइतबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्र र सेयर बजारविरुद्ध भ्रम फैलाइएको भन्दै हल्लाको पछि नलाग्न आग्रह गरेको र सेयर दलाल तथा अर्थ मन्त्रालयबीच मूल्य अभिवृद्धि करका विषयमा एक प्रकारको सहमति भएकाले सोमबार बजार बढ्ने धेरैको अनुमान थियो । त्यसैअनुरुप सुरुवाती कारोबार सकारात्मक देखिएको पनि थियो ।
‘वेटिङ प्राइमिनिस्टर’का रूपमा चित्रित ओली र वाम गठबन्धनका अर्का हस्ती एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आइतबार संयुक्त रुपमा आयोजना गरिएको पत्रकार सम्मेलने ओलीले भ्रमपूर्ण प्रचारबाजीलाई देशविरुद्धकै अपराध भनेर टिप्पणी गरेका थिए । मङ्सिर १० र २१ मा भएको प्रतिनिधिसभा र प्रदेशसभाको मतगणनाको प्रारम्भिक रुझानमा पनि वाम गठबन्धनले अग्रता लिएपछि सेयर बजार ओरालो लागेपछि ओलीले पुँजीबजारमा नआत्तिई कारोबार गर्न र भ्रमका पछि नलाग्न आग्रह गरेका थिए । त्यतिबेला पनि ओलीको बोलीपछि बजार उकालो लागेको थियो । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आइतबारको कारोबार सकिएसँगै भएको पत्रकार सम्मेलनमा ओलीले उद्योग स्थापना र पुँजी परिचालन नचाहने समूहले फैलाएको दुस्मनीपूर्ण प्रचारका पछि नलाग्न सचेत गराएका थिए । तर सोमबार ओलीको बोलीले काम गरेको देखिएन ।

सेयर परिसूचकमा झिनो कमी आए पनि कारोबार रकम भने विगत केही दिनको तुलनामा बढेको छ । आज ५ हजार २ सय १९ कारोबारबाट १२ लाख २५ हजार ५४ कित्ता सेयर किनबेच हुँदा ५६ करोड ८३ लाख २१ हजार ७ सय ७९ रुपैयाँबराबरको कारोबार भएको छ । आइतबार ५१ करोड १२ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको थियो । आज बैङ्किङ, विकास बैङ्क, लघुवित्त र बिमा समूहको सेयर परिसूचक झरेको छ भने व्यापार, होटल, जलविद्युत, वित्त, उत्पादनमूलक र अन्य परिसूचकमा भने झिनो वृद्धि देखिएको छ । सोमबार सबैभन्दा बढी स्ट्यान्डर्ड चार्टर्ड बैङ्कको सबैभन्दा बढी ३ करोड २० लाख ८ हजार ७ सय ४७ रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ ।

यसैबीच सोमबार एनआईसी एसिया बैङ्कको १ करोड ३३ लाख ८५ हजार १ सय ९५ कित्ता बोनस सेयर, प्रभु इन्स्योरेन्स कम्पनीको ११ लाख ८ हजार ८ सय ४५ कित्ता बोनस सेयर र नागरिक लगानी कोषको १३ लाख २७ हजार ८ सय ४८ कित्ता बोनस सेयर नेप्सेमा सूचीकरण भएको छ । त्यसैगरी अरुण फाइनान्सको १५ लाख कित्ता र सप्तकोषी डेभलपमेन्ट बैङ्कको २७ लाख ४३ हजार कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ ।
नयाँ नेपाल लघुवित्त विकास बैङ्कले पुस २७ मा हुने वार्षिक साधारणसभा प्रयोजनका लागि पुस ९ देखि २७ गतेसम्म, सगरमाथा इन्स्योरेन्स कम्पनीको पुस २१ मा हुने वार्षिक साधारणसभाका लागि पुस ९ देखि २१ गतेसम्म बुक क्लोज गरेको छ ।