आज नेप्सेमा वर्गीकृत सबै १० समूहको कारोबार भई अघिकांश समूहमा गिरावट आए पनि उत्पादनमूलक समूहमा भने सुधार भएको छ । अन्य ९ समूहमा बिहीबार गिरावट कायम भयो । उत्पादमूलकमा २ दशमलव ८ अङ्कले वृद्धि भएको छ ।
बढ्ने सङ्केतका साथ सुरु भएको साताको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से)मा दोहोरो अङ्कको गिरावट आएको छ । १ हजार २ सय ५ दशमलव ६७ अङ्कबाट सुरु भएको बजार ५ अङ्क बढेपछि घटेर १ हजार १ सय ९१ दशमलव ९८ अङ्क कायम भएको छ ।
नेपाल राष्ट्र बैङ्कले बुधबार ल्याएको मौद्रिक नीतिलाई लगानीकर्ताले विश्वास नगर्दा बजार घट्न पुगेको हो । नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिमा ब्याजदर घटाउने घोषणा गरे पनि मार्जिन ल्यान्डिङलाई घटाएपछि बजार नकारात्मक पाटोमा जाने लगानीकर्ताले बताएका थिए ।
कारोबार सुरु हुँदा सुधारको सङ्केत देखिएको बजार १३ दशमलव ६६ अङ्कले गिरावट आउँदै पुनः १ हजार २ सय अङ्कभन्दा तल कायम भएको हो । आज नेप्सेमा १ सय ६३ कम्पनीको ४ हजार ९ सय ४१ कारोबारबाट १६ लाख २० हजार ८ सय ८० कित्ता सेयर किनबेच भई ४५ करोड ४४ लाख ६ हजार २ सय ५६ रुपैयाँबराबरको कारोबार भयो, जुन बुधबारको कारोबार रकमभन्दा २ करोड रुपैयाँले कम हो ।
बुधबार नेप्सेमा १ सय ७१ कम्पनीका ४ हजार ७ सय ८३ कारोबारबाट १० लाख ६२ २ सय ३४ कित्ता सेयर खरिदबिक्री भई ४७ करोड ९५ लाख १४ हजार २ सय ४८ रुपैयाँबराबरको कारोबार भएको थियो ।
आज नेप्सेमा वर्गीकृत सबै १० समूहको कारोबार भई अघिकांश समूहमा गिरावट आए पनि उत्पादनमूलक समूहमा भने सुधार भएको छ । अन्य ९ समूहमा बिहीबार गिरावट कायम भयो । उत्पादमूलकमा २ दशमलव ८ अङ्कले वृद्धि भएको छ ।
सबैभन्दा बढी बिमामा १ सय ७ दशमलव ५८, होटलमा ३७ दशमलव ६५, लघुवित्तमा ३६ दशमलव ६, जलविद्युत्मा २१ दशमलव ७, विकास बैङ्कमा १८ दशमलव ८३, बैङ्किङमा १० दशमलव ३१, फाइनान्समा ३ दशमलव ८७, व्यापारमा शून्य दशमलव ८४ र अन्यमा शून्य दशमलव ५१ अङ्कको गिरावट आएको छ ।
आज दोहोरो अङ्कले बजार घटेको दिन नेप्सेमा कञ्चन डेभलपमेन्ट बैङ्कको सेयर ८ दशमलव ५१ प्रतिशतले बढेको छ भने नागबेली वित्तीय विकास बैङ्कको सेयर ६ दशमलव ७ प्रतिशतले घटेको छ ।