पटना– पोखरा सीधा हवाई यात्रा सञ्चालन गर्न सुझाव

पश्चिमाञ्चल होटेल सङ्घको आयोजना एवं नेपाल पर्यटन बोर्ड पोखराको प्रवर्द्धनमा बुधबारदेखि सुरु ‘चलिए पोखरा’ अभियानसहित बिहीबार पटना पुगेको टोलीले पत्रकार भेटघाटमा गर्मी छल्न भारतीयको उपयुक्त गन्तव्य पोखरा हुने बताउँदै भारु तीन हजारदेखि १३ हजारसम्मको विवरण सार्वजनिक गर्यो ।

पोखरेली पर्यटन व्यवसायीले विहार तथा आसपासका पर्यटकलाई गर्मी छल्न पोखरा आउन निम्तो दिएका छन् ।

पश्चिमाञ्चल होटेल सङ्घको आयोजना एवं नेपाल पर्यटन बोर्ड पोखराको प्रवर्द्धनमा बुधबारदेखि सुरु ‘चलिए पोखरा’ अभियानसहित बिहीबार पटना पुगेको टोलीले पत्रकार भेटघाटमा गर्मी छल्न भारतीयको उपयुक्त गन्तव्य पोखरा हुने बताउँदै भारु तीन हजारदेखि १३ हजारसम्मको विवरण सार्वजनिक गर्यो ।

नेपाल पर्यटन बोर्ड प्रदेश कार्यालय पोखराका प्रमुख सूर्य थपलियाले पोखरा सेप्टेम्बरदेखि फेब्रुअरीसम्म उपयुक्त समय भए पनि भारतीय पर्यटकका लागि वर्षात् पनि उपयुक्त हने धारणा राखे ।

पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष विकल तुलाचनले विहारी धर्मसंस्कृति नेपालसँग मिल्दोजुल्दो भएको बताए । टुरिज्म एसाेसिएसन विहारका अध्यक्ष सञ्जय शर्माले भारतीय पर्यटकलाई सीमा नाकामा धेरै नै दुःख दिने, अपमान गर्ने तथा झञ्झट लगाउने गुनासो गर्दै बसमा गएका भारतीय पर्यटकलाई जुनसुकै सहरमा निर्धक्क जाने र एक पटक कर तिरेपछि अन्य ठाउँमा कर नलाग्ने गरेमा नेपाल आकर्षक हुने सुझाव दिए । पटनादेखि पोखरा सीधा हवाई यात्रा सञ्चालन गर्न सके पर्यटको वृद्धि हुने उनको विश्वास छ । उनले पोखराका होटलको सेवा शुल्क बढी भएको औँल्याउँदै उक्त शुल्क कायम रहे भारतीयहरु नेपालको सट्टा थाइल्यान्ड जान सक्ने भएकाले केही रकम घटाउन व्यवसायीलाई सुझाव दिए ।

पटनाका पर्यटन व्यवसायी गौरव कुमारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ गएपछि विहारीको चासो बढेको र जाने चाहना व्यक्त गर्ने गरेको बताए । उनले पटना–पोखरा हवाई यात्रा सुरु भएमा १० देखि १५ प्रतिशत पर्यटक वृद्धि हुने विश्वास व्यक्त गरे । रासस