होटलमा नयाँ मापदण्ड : मोफसलमा ८० कोठाको होटल पनि पाँचतारे

व्यवसायीले काठमाडौं उपत्यका बाहेकका जिल्लामा होटल बनाउँदा रुम सङ्ख्या र आवश्यकताअनुसार मात्रै स्वीमिङ पुल निर्माण गर्नुपर्ने व्यवस्था राख्न माग गरेको थिए । सोही अनुसार सरकारले स्विमिङ पुलको बाध्यकारी व्यवस्थालाई समेत हटाएको छ ।

राजधानी बाहिर ८० रुमका होटल निर्माण गरे सरकारले पाँचतारेको मान्यता दिने भएको छ । सरकारले बनाउँदै गरेको होटलको नयाँ मापदण्डमा एक सय रुमको व्यवस्थालाई हटाएर ८० रुममा ल्याउन लागेसँगै मोफसलका होटललाई फाइदा भएको हो ।

व्यवसायीले काठमाडौं उपत्यका बाहेकका जिल्लामा होटल बनाउँदा रुम सङ्ख्या र आवश्यकताअनुसार मात्रै स्वीमिङ पुल निर्माण गर्नुपर्ने व्यवस्था राख्न माग गरेको थिए । सोही अनुसार सरकारले स्विमिङ पुलको बाध्यकारी व्यवस्थालाई समेत हटाएको छ ।

‘जुन ठाउँमा स्विमिङ पुल आवश्यकता पर्छ, त्यस ठाउँमा मात्रै निर्माण गरे पुग्छ,’ सस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘अब पाँचतारेको मान्यता पाउन सबै ठाउँमा स्विमिङ पुल आवश्यक पर्दैन ।’

मन्त्रालयका अनुसार उच्च हिमाली भेगमा स्विमिङ पुल आवश्यक नहुने बताएको छ । अहिलेको मापदण्ड अव्यावहारिक भएकाले पनि नयाँ मापदण्डमा यी विषयलाई समयानुकूल बनाइएको मन्त्रालयले जनाएको छ ।

मौसमले स्विमिङ पुलको आवश्यकता निर्धारण गर्ने मन्त्रालयको भनाइ छ । ‘कुनै ठाउँमा स्विमिङ पुल आवश्यक पर्छ, कुनै ठाउँ पर्दैन,’ मापदण्ड संशोधनमा रहेका सदस्य प्रवीण पाण्डेले भने, ‘होटल निर्माताले नै आवश्यकता हेरेर बनाउँछन् ।’

यस अघिको मापदण्डमा पाँचतारेको मान्यता पाउन अनिर्वाय रुपमा एक सय रुम र स्विमिङ पुल आवश्यकता थियो । तर, अहिले दुवै व्यवस्थालाई बाध्यकारी बनाइएको छैन । तर, पाँचतारेको मान्यता पाउन ८० रुमको व्यवस्था अनिवार्य गरिएको छ । त्यो व्यवस्था मोफसलका लागि हो ।

काठमाडौंमा पाँचतारे होटल निर्माण गर्नुपरे एक सय रुम र स्विमिङ पुल आवश्यक पर्ने पर्यटन विभागले जनाएको छ । नयाँ व्यवस्था मोफसलमा होटल निर्माण गर्नेका लागि मात्रै हो ।

पर्यटन विभागले होटलका लागि नयाँ मापदण्ड बनाउनका लागि ड्राफ्ट तयार गरिसकेको छ । पुरानो मापदण्ड वैज्ञानिक नभएको गुनासोपछि विभागले मापदण्ड संशोधन गर्न लागेको हो ।

पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले नयाँ मापदण्डका लागि ड्राफ्ट तयार भैसकेको बताए । ‘केहि कुरा संशोधन भैरहेको छ, अब अन्तिम रुप दिन बाँकी छ,’ उनले भने ।