आजदेखि अनलाइन कारोबार परीक्षण सुरु, लगानीकर्ता उत्साहित

नेप्सेका प्रवक्ता मुराहरि पराजुललीले आजदेखि आंशिकरुपमा मात्र अनलाइन कारोबार प्रणाली सञ्चालनमा आएको बताए । उनले परीक्षण सफल भएपछि मात्र पूर्णरुपमा सञ्चालन हुने बताए ।

नेपाली सेयर बजारमा बहुप्रतीक्षित प्रविधि ‘अनलाइन ट्रेडिङ सिस्टम’ सञ्चालनमा आएपछि सेयर लगानीकर्ता उत्साहित भएका छन् । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले मङ्गलबारदेखि अनलाइन ट्रेडिङ प्रणाली सञ्चालनमा ल्याएपछि लगानीकर्ताले नेपालको सेयर बजारमा कोसेढुङ्गा साबित हुने बताएका हुन् ।

नेप्सेका प्रवक्ता मुराहरि पराजुललीले आजदेखि आंशिकरुपमा मात्र अनलाइन कारोबार प्रणाली सञ्चालनमा आएको बताए । उनले परीक्षण सफल भएपछि मात्र पूर्णरुपमा सञ्चालन हुने बताए ।

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले अनलाइन ट्रे्डिङ प्रणालीलाई लिएर आफू उत्साहित रहेको बताए । ‘नेपालको सेयर बजारले प्रविधिमा एक उत्कृष्ट फड्को मार्न लागेको छ,’ पौडेलले भने, ‘यो सिस्टम नेपाली सेयर बजारका लागि कोसेढुङ्गा हुन्छ ।’ पौडेलले नयाँ प्रविधिका कारण आगामी दिनमा सेयर बजारमा सकारात्मक प्रभाव पर्ने बताए । ‘यो प्रविधि नेपालको सेयर बजार विकास र विस्तारका लागि महत्त्वपूर्ण कदम हो, उनले भने, ‘आंशिकरुपमा सञ्चालनमा आएको अनलाइन कारोबारले बजारलाई धेरै हदसम्म सुधारको गतिमा लाने छ ।’

सेयर लगानी कर्ता सङ्घका उपाध्यक्ष ताराप्रसाद फुयाँलले अनलाइन कारोबार प्रणाली पूर्णरुपमा सञ्चालनमा आएको १ वर्षभित्र नेपाली सेयर बजार कायापलट हुने बताए । ‘आंशिकरुपमा सञ्चालनमा आएकाले तत्काललाई केही असर नगरेपनि सञ्चालनमा आएको केही महिनाभित्र बजार दोब्बरले वृद्धि हुने प्रायः निश्चित छ,’ फुयाँलले भने, ‘अनलाइन प्रणाली बजारका लागि कोसेढुङ्गा साबित हुनेछ भने ब्याजदरमा आएको गिरावटले पनि बजार बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने छ ।’ गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)लाई नेपालको बजारमा भित्र्याउन सके बजार धेरै हदसम्म माथि जाने फुयाँलको विश्वास छ ।

अनलाइन कारोबार सञ्चालनमा आएपछि मुलुकभरि तथा विदेशबाट पनि सेयरमा लगानी गर्न मिल्ने भएकाले लगानीकर्ता उत्साहित छन् । यसले बजारको सूचक उकालो लाग्न महत्त्वपूर्ण भूमिका खेल्ने छ । नेपालको सेयर बजारमा बहुप्रतीक्षित सिस्टम अनलाइन कारोबार भित्रिएकाले बजार स्वाभाविकरुपले माथि जाने फुयाँलले बताए ।

यस्तै, लगानीकर्ता दीपेन्द्र अग्रवालले अनलाइन कारोबार सञ्चालनमा आएपछि बजारले सकारात्मक सुधारको बाटो लिने बताए । ‘यो साताका दुई दिन नाटकीय ढङ्गले नेप्सेमा सुधार हुनुमा पनि आजदेखि लागू हुने अनलाइन प्रणालीको ठूलो भूमिका छ,’ अग्रवालले भने, बजार बढ्नु अनलाइन प्रणालीको प्रभाव मात्रै नभई मौद्रिक नीतिको सकारात्मक प्रभाव पनि हो ।’ उनले ब्याजदर नियन्त्रण, मार्जिन ल्यान्डिङमा आएको सुधारजस्ता कार्यले सेयर लगानीकर्तालाई उत्साहित बनाएको बताए । अग्रवालका अनुसार लगानीकर्ताले अनलाइनको माध्यमबाट सेयरमा लगानी गर्न पाउने दिन अब धेरै टाढा नरहेको बताए ।

नेप्सेका अनुसार आजदेखि सञ्चालनमा आएपनि लगानीकर्ताले आफै सेयर अर्डर गर्न र खरिद गर्न पाउने छैनन् । यसका लागि केही समय लाग्ने छ । आंशिकरुपमा आजैदेखि सञ्चालनमा आएपनि औपचारिक सञ्चालन हुन अझै केही प्रक्रिया पूरा गर्न बाँकी छ, जुन विभिवत तरिकाले पूरा हुनेछ ।

हाल ५० ओटा ब्रोकर कम्पनी छन् र सबैले आवश्यक पूर्वाधार तयार गरेको बताइएको छ । नेप्सेले अनलाइन प्रणालीलाई सञ्चालनमा ल्याउने मिति पटक पटक सार्दै साउन १ गतेदेखि आंशिक रुपमा सञ्चालनमा ल्याएको हो ।