साताको अन्तिम दिन नेप्से ५ अङ्कले घट्यो, कारोबार रकम ५६ करोड

बजार घटेको दिन आज एनआईसी एसिया ग्रोथ फन्डको सेयर मूल्य ४ दशमलव ३ प्रतिशतले बढेको छ भने नेपाल इन्स्योरेन्सको सेयर मूल्य ५ दशमलव ७ प्रतिशतले घटेको छ ।

साताको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) ५ दशमलव ३८ अङ्कले घटेको छ । १ हजार  १  सय ९८ दशमलव ७७ अङ्कबाट सुरु भएको नेप्से ५ दशमलव ३८ अङ्क ओरालो लाग्दै १ हजार १ सय ९३ दशमलव ३९ अङ्क कायम भएको छ । नेप्से घटे पनि कारोबार रकम भने सुधार भएको छ ।

बढ्ने सङ्केतका साथ सुरु भएको नेप्से १ अङ्कको सामान्य वृद्धि भएपछि ओरालो बाटोमा लाग्यो । निरन्तर घट्दै ५ अङ्कको गिरावट आएपछि केही सुधार भएर ४ अङ्कको गिरावट कायम भयो । फेरि ओरालो लगोको नेप्से ५ अङ्कले ओरालो लागेर बिहीबारको कारोबार बन्द भयो ।

साताको दुई दिन कारोबारको अन्तिम समयमा वृद्धि हुने नेप्से आंशिक रुपमा अनलाइन कारोबार सञ्चालन भएयता निरन्तर गिरावट आइरहेको छ भने कारोबार रकम आजभने उल्लेख्य वृद्धि भएको छ ।

बिहीबार नेप्सेमा १ सय ६२ कम्पनीका ३ हजार ७ सय ७२ कारोबारबाट १९ लाख १८ हजार ६ सय ४८ कित्ता सेयर खरिदबिक्री भई ५६ करोड १२ लाख ८१ हजार ८ सय ४१ रुपैयाँबराबरको कारोबार भएको छ, जुन बुधबारको कारोबार रकमभन्दा ३९ करोड रुपैयाँले बढी हो ।

बुधबार नेप्सेमा १ सय ३९ कम्पनीका २ हजार ३ सय कारोबारबाट ४ लाख ७७ हजार ६ सय ८७ कित्ता सेयर खरिदबिक्री भई १७ करोड ५३ लाख ७७ हजार ६ सय ८७ रुपैयाँबराबरको कारोबार भएको थियो । बुधबार नेप्सेमा ५ दशमलव ५४ अङ्कको गिरावट आएको थियो ।

आज नेप्सेमा वर्गीकृत १० समूहमध्य ९ समूहको कारोबार भई अधिकांश ७ समूहमा गिरावट आउँदा त्यसको प्रत्यक्ष प्रभाव नेप्से परिसूचकमा परेको हो । बिहीबार नेप्सेमा व्यापार समूहको कारोबार भएन् ।

आज नेप्से ओरालो लागे पनि होटलमा र उत्पादनमूलकमा सुधार आएको छ । होटलमा १४ दशमलव ६१ र उत्पादनमूलकमा शून्य दशमलव ४६ अङ्कले वृद्धि भएको छ । यस्तै, आज सबैभन्दा बढी निर्जीवन बिमामा ८० दशमलव ८२, जीवन बिमामा ४३ दशमलव ५५ र माइक्रोफाइनान्समा १६ दशमलव २३ अङ्कले गिरावट आएको छ । अरुमा भने एकल अङ्कको सामान्य गिरावट आएको छ ।

बजार घटेको दिन आज एनआईसी एसिया ग्रोथ फन्डको सेयर मूल्य ४ दशमलव ३ प्रतिशतले बढेको छ भने नेपाल इन्स्योरेन्सको सेयर मूल्य ५ दशमलव ७ प्रतिशतले घटेको छ ।