नेपालबाट कामदार आउन बन्द भएको विषयमा मलेसियाको चासो

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मलेसिया जाने कामदारलाई बायोमेट्रिक, भीएलएन, माइग्राम्स, जीएसजीलगायतका संस्थाले ठगी गरेको भन्दै ती संस्थालाई खारेज गर्दै कारवाहीको घोषणा गरेका थिए ।

नेपाली कामदारको समस्या समधानको लागि मलेसियन सरकारले चासो व्यक्त गरेको छ । मलेसियाका मानव संसाधन मन्त्री एम कुलासेगरनले बिहिबार मलेसियास्थित नेपाली दुतावासमा कार्यवाहक राजदुत कुमार खरेलसँग अनौपचारिक भेट गरि नेपाली कामदारको विषयमा जानकारी लिएका हुन् ।

मलेसियाका व्यवसायी दातो प्रदीपकुमार कुकरेजाको घरमा नेपाली दुतावास भाडामा बस्दै आएको छ । हिमालय एयरलाइन्स, एयर इण्डियाको मलेसियाको जिएसए कुकरेजाले लिएका छन् । बिहिबार मन्त्री कुलासेगरन कुकरेजालाई भेट्न गएको बेला दातो प्रदीपले नै दुतावासमा कार्यवाहक राजदुतलाई अनौपचारिक भेट गराइदिएका थिए ।

अनौपचारिक भेटमा नेपालबाट मलेसिया कामदार आउन समस्या भएका विषयमा छलफल भएको र त्यसको विषयमा औपचारिक रुपमा नै साउन ८ गते पुत्राजयामा वार्ता हुने दुतावासले जनाएको छ ।

कार्यवाहक राजदुत खरेलले मलेसियाका मानव संसाधन मन्त्री एम कुलासेगरनले नेपाली दूतावासको अनौपचारिक भ्रमण पछि वार्ताको मिति तय भएको जानकारी दिए । भेटका अवसरमा मन्त्री कुलासेगरनले नेपालले मलेसियामा कामदार पठाउने सवालमा लिएको पछिल्लो निर्णय बारे चासो राखेको उनले बताए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मलेसिया जाने कामदारलाई बायोमेट्रिक, भीएलएन, माइग्राम्स, जीएसजीलगायतका संस्थाले ठगी गरेको भन्दै ती संस्थालाई खारेज गर्दै कारवाहीको घोषणा गरेका थिए । कारवाहीपश्चात नयाँ व्यवस्था नहुँदा कामदार मलेसिया जाने प्रक्रिया बन्द भएको छ ।