लागू होला अध्यक्ष र सीईओ एकै व्यक्ति नहुने व्यवस्था ?

बैङ्क तथा वित्तीय संस्था र बिमा कम्पनीका हकमा नेपाल राष्ट्र बैङ्क र बिमा समितिजस्ता नियामक निकायले यसअघि नै यस्तो व्यवस्था कार्यान्वयन गरेकाले लागू हुन सक्ने देखिएपनि जलविद्युत्, होटल र अन्य उत्पादनममूलक कम्पनीहरुमा भने यस्तो कार्यान्वयन हुन कठीन हुने मानिएको छ ।

अबदेखि सूचीकृत कम्पनीमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीईओ) एउटै व्यक्ति हुन पाउने छैनन् । नेपाल धितो पत्र बोर्डले साउन १ गतेदेखि लागू गरेको ‘सूचीकृत सङ्गठित संस्थाहरुको संस्थागत सुशासनसम्बन्धी –पहिलो संशोधन) निर्देशिका, २०७५’ मा संस्थाको दुई प्रमुख पदमा एकै व्यक्ति बस्न नपाउने व्यवस्था लागू गरेको हो ।

बैङ्क तथा वित्तीय संस्था र बिमा कम्पनीका हकमा नेपाल राष्ट्र बैङ्क र बिमा समितिजस्ता नियामक निकायले यसअघि नै यस्तो व्यवस्था कार्यान्वयन गरेकाले लागू हुन सक्ने देखिएपनि जलविद्युत्, होटल र अन्य उत्पादनममूलक कम्पनीहरुमा भने यस्तो कार्यान्वयन हुन कठीन हुने मानिएको छ ।

बोर्डले आर्थिक वर्षको सुरुदेखि नै सूचीकृत संस्थागतहरुले गर्न नहुने कार्यसहित संस्था सञ्चालनसम्बन्धी व्यवस्थाहरु समावेश गरी निर्देशिका लागु गरेको हो । बोर्डले एकै प्रकृतिका कम्पनीमा बाहेक अन्य कम्पनीमा सञ्चालकका रुपमा आबद्ध हुन पाउने व्यवस्था गरेको छ । कार्यान्वयन हुनुअघिको निर्देशिकामा एउटै व्यक्ति एकभन्दा बढी कम्पनीमा आबद्ध हुन नपाउने व्यवस्था गरेको थियो ।

बोर्डका प्रवक्ता तथा कार्यकारी निर्देशक निरज गिरिले पहिलेको निर्देशिका संशोधनमार्फत समयसापेक्ष बनाइएको बताए । ‘निर्देशिकामा भएका व्यवस्थाहरु कार्यान्वयन हुन्छन्’ उनले भने, ‘लगानीकर्तालाई सुरक्षित राख्न विभिन्न प्रावधानहरु राखेर पारदर्शिता अपनाउन खोजिएकाले निर्देशिकामा भएका व्यवस्था कार्यान्वयन नहुनुपर्ने कुनै कारण छैन ।’ निर्देशिकाअनुरुप कार्यान्वयन नभए र संस्थागत सुशासनविरुद्ध जाने कम्पनीलाई कारवाही गरिने उनले बताए । निर्देशिका कार्यान्वयन नभएको पाइएमा सचेत गराउनेदेखि नगद जरिवाना र कारोबार रोक्का गर्नेसम्मको कारवाही हुने बोर्डले जनाएको छ ।

बोर्डले यसअघि आफ्ना कर्मचारी र सञ्चालक समितिका लागि सुशासनसम्बन्धी व्यवस्था कार्यान्वयन गरिसकेकाले सूचीकृत कम्पनीले पनि सुशासनसम्बन्धी व्यवस्था कार्यान्वयन हुने विश्वास लिएको छ । निर्देशिकामा लगानीकर्तालाई समयमै सूचना तथा जानकारी दिनुपर्ने, संस्थाको हितविपरीत कार्य गर्न नहुने तथा पदको दुरुपयोग गर्न नहुनेजस्ता विषयलाई जोड दिएको छ । त्यस्तै निर्देशिकामा सङ्गठन संरचना र कर्मचारी व्यवस्था, संस्थाको लेखा तथा लेखा परीक्षण लगायतका व्यवस्था पनि समेटेको छ । मर्चेन्ट बैङ्क तथा ब्रोकर व्यवसायसँग आबद्ध पदाधिकारी तथा कर्मचारीहरुबाट छापा, अनलाइन एवम् अन्य सञ्चार माध्यमबाट सेयर मूल्य घटबढका बारेमा कुनै पनि प्रकारका अभिव्यक्ति तथा अन्तर्वार्ता दिन नपाइने व्यवस्था पनि गरेको छ ।

निर्देशिकाले एउटै व्यक्ति दुई ओटा सूचीकृत कम्पनीमा काम गर्न नपाउने व्यवस्था पनि कार्यान्वयमा ल्याएको छ । एउटा सूचीकृत कम्पनीबाट पारिश्रमिक र अन्य सुविधा प्राप्त हुनेगरी पदमा बहाल रहेको व्यक्ति अर्को सूचीकृत कम्पनीबाट पारिश्रमिक तथा अन्य सुविधा प्राप्त गर्नेगरी काम गर्न नपाउने व्यवस्था बोर्डले गरेको हो ।

सूचीकृत कम्पनीमा रहेका परिपालन अधिकृतले ऐन, नियमावली तथा नियमनकारी निकायबाट समयसमयमा जारी भएको निर्देशन तथा निर्देशिका बमोजिम पालना गर्नुपने विषय पालना भए÷नभएको प्रतिवेदन गयार गरी सञ्चालक समितिबाट स्वीकृत गराई त्यस्तो प्रतिवेदनलाई लेखापरीक्षकबाट प्रमाणित गराएको प्रतिवेदन मात्रै वार्षिक प्रतिवेदनमा समावेश गर्नुपर्ने व्यवस्था गरेको छ ।