सातामा ५ दिन नै कारोबार भएको नेप्सेमा ५ कम्पनीको ६२ करोड ४९ लाख ५१ हजार रुपैयाँबराबरको ६२ लाख ४९ हजार ५ सय १३ कित्ता सेयर सूचीकृत भएको छ, जसमा दुई कम्पनीको हकप्रद सेयर छ भने तीन कम्पनीको बोनस सेयर छ ।
बजेटबाट तर्सिएका लगानीकर्ता मौद्रिक नीति र अनलाइन कारोबारबाट पनि तर्सिएका छन् । मौद्रिक नीतिको व्यवस्था र अनलाइन कारोबारलाई लगानीकर्ताले विश्वास नगरेपछि साताभर कारोबार रकम र बजार मापक नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) दुवै घटेका छन् ।
मौद्रिक नीतिमा केन्द्रीय बैङ्कले सेयर लगानीकर्ताको समस्या सम्बोधन गर्ने बताएको भनेर सार्वजनिक हुनुअघि सञ्चारमाध्यमहरुले निकै चलखेल गरेका थिए । तर, मौद्रिक नीतिले सञ्चारमाध्यमले भनेजस्तो कुनै पनि व्यवस्था नआएपछि लगानीकर्ता निराश देखिएका हुन् । त्यसैगरी अनलाइन कारोबारपछि सेयर लगानीकर्तामा आत्मविश्वास जागृत हुने बताइएको थियो । त्यसले पनि बजारमा कुनै सङ्केत देखिएन । उल्टो अनलाइन कारोबार भएका पछिल्ला तीन दिन नै नेप्से सूचक ओरालो लाग्यो । अनलाइन कारोबार सञ्चालनमा आएदेखि निरन्तर नेप्से ओरालो लागि रहेको छ ।
नेप्सेका अनुसार सातामा एक अर्ब ४५ करोड ५१ लख ५७ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । यो कारोबार रकम गत साताको दुई अर्ब ११ करोड ८८ लाख ८ हजार रुपैयाँको तुलनामा ३१ दशमलव ३१ प्रतिशतले कम हो । त्यसैगरी नेप्से परिसूचक पनि गत बिहीबार १ हजार १ सय ९१ दशमलव ९८ अङ्क रहेकोमा साताभर घटबढ भई यो साताको अन्तिम दिन बिहीबार १ हजार १ सय ९३ दशमलव ३९ अङ्कमा कारोबार रोकिएको छ । सरसर्ती हेर्दा साताभार नेप्से परिसूचक एक दशमलव ४१ अङ्कले बढेको देखिए पनि आइतबारको तुलनामा भने ६ दशमलव ७ अङ्कले घटेको छ । आइतबार र सोमबार तीव्र उतारचढावबीच अन्तिम समयमा बजार बढेको भए पनि पछिल्ला ३ दिन निरन्तर बजार ओरालो लागेको छ ।
यो साता १ सय ८६ कम्पनीको १५ हजार १ सय २८ कारोबारबाट ४७ लाख ५४ हजार पाँच सय २० कित्ता सेयर खरिदबिक्री भएको छ । यो सबैभन्दा बढी प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको ३५ करोड ८० लाख १० हजार र दोस्रोमा रहेको नबिल बैङ्कको १३ करोड १८ लाख ३ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।
सातामा ५ दिन नै कारोबार भएको नेप्सेमा ५ कम्पनीको ६२ करोड ४९ लाख ५१ हजार रुपैयाँबराबरको ६२ लाख ४९ हजार ५ सय १३ कित्ता सेयर सूचीकृत भएको छ । जसमा दुई कम्पनीको हकप्रद सेयर छ भने तीन कम्पनीको बोनस सेयर छ ।
नेप्सेमा रिलायन्स फाइनान्सको २० लाख ५ हजार २ सय ९८ कित्ता र नेपाल इन्स्योरेन्सको ३० लाख १९ हजार ८ सय ८६ कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । त्यसैगरी मिथिला लघुवित्त वित्तीय संस्थाको ८६ हजार ५८ दशमलव कित्ता, नेपाल इन्स्योरेन्सको १ लाख ३६ हजार ६ सय १४ कित्ता र फरर्वाड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको १० लाख १ हजार ६ सय ५७ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।